रुद्राक्षको बजार खोज्न व्यवसायीलाई प्रदेश १ को एक करोड अनुदान

  २०७९ असार ९ गते १४:४७     विकासन्युज

काठमाडौं । प्रदेश १ ले रुद्राक्षको बजारिकरण गर्न व्यवसायीलाई एक करोड दिने भएको छ । प्रदेश १ ले रुद्राक्षको बजारिकरण र प्रवद्धन गर्न छुट्याएको एक करोड रुपैयाँ रुद्राक्ष व्यवसायी संघलाई दिने निर्णय गरेको संघका उपाध्यक्ष अगम सिंह राईले बताए ।

प्रदेश १ ले २०७९/८० को बजेटमा प्रदेशमा उत्पादन हुने अदुवा, अलैंची, चिया, सुपारी रुद्राक्षको मुल्य अभिवृद्धि र बजारिकरण प्रवद्धन गर्न ५ करोड रुपैयाँ विनियोजन गरेको थियो ।सो रकम मध्ये एक करोड रुपैयाँ रुद्राक्ष व्यवसायी संघले पाउने भएकाे हाे ।

संघले उक्त रकम पाउने भएपछि हस्तकलाका सामानहरु बनाउने तालिम दिने छलफल गरेको छ । संघले भदौको पहिलो हप्ताबाट हस्तकलाका सामानहरु बनाउने तालिम दिने तयारी गरेको उपाध्यक्ष राईले बताए । उनको अनुसार उक्त तालिममा माला, मुक्ति, झोला लगायत रुद्राक्षबाट बन्नेसामानहरुको तालिम दिइने छ ।

‘मुख्यमन्त्रीसँगको भेटमा हामीलाई सो बजेट उपलब्ध गराउँछौं भन्नु भएको छ, संघले पनि भदौको पहिलो हप्ताबाट नै एक महिने तालिम दिने नि भनेर योजना बनाएको छ, यस तालिम लिनको लागि जस्ले पनि आवदेन दिन सक्छ,’ उनले भने ।

दानाको लाखौं रुपैयाँ पर्ने रुद्राक्षको व्यापारमा अहिले मन्दी आएको छ । विगतका वर्षहरुमा वर्षेनी २ अर्ब रुपैयाँसम्म कारोबार हुने रुद्राक्षको व्यापारमा यो वर्ष भने ४० करोडको मात्र भएको छ । विगतको वर्षहरुको तुलनामा गत वर्ष र यो वर्ष पनि रुद्राक्ष व्यापार सुस्ताएको राईले बताए ।

‘अहिले रुद्राक्ष उच्च गुणस्तरको मात्र निर्यात हुन्छ, बाँकी सामान गाउँ घरमा नै कुहिएर गइरहेको छ,’ उनले भने । पहिलो चरणमा डेढ सय जनालाई तालिम दिने संघको लक्ष्य लिएको उनले बताए ।

साे तालिम दिङ्ला लगायत अन्य स्थानमा सञ्चाल गर्ने योजना रहेको संघका अध्यक्ष मनोज कुमार चापागाईँले जानकारी दिए ।

हाल देशका ४५ वटा जिल्लामा रुद्राक्षको व्यवसायिक खेति भइरहेको छ । रुद्राक्ष उत्पादनको मुख्य क्षेत्र भने पूर्वी नेपालको भोजपुर र संखुवासभालाई लिइन्छ ।

‘यहाँ उत्पादन भएको रुद्राक्ष बढी जसो चीन र भारतमा निर्यात हुन्छ, कोरोनाको कारण निर्यात पनि रोकियो, व्यापारी नआउँदा व्यापार धेरै खुम्चियो, यो वर्ष पनि आएका छैनन्, विदेशी व्यापारी नआउँदा सम्पूर्ण व्यवसायीलाई चिन्ता लागेको छ, यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारले समन्वय गरी अब निर्यात गर्न लाग्ने नै छौं ,’ उनले विकासन्युजसँग भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.