खोटेहाङद्वारा ५५ करोड ४३ लाख बजेट प्रस्तुत

  २०७९ असार ९ गते ११:५७     विकासन्युज

खोटाङ । खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ५५ करोड ४३ लाख ९३ हजार १२० बजेट प्रस्तुत गरेको छ । नौ वडा रहेको उक्त गाउँपालिकाले बुधबार चालुतर्फ १० करोड छ लाख ५५ हजार ५६०, पूँजीगततर्फ ११ करोड ४६ लाख ३२ हजार ५६० बजेट प्रस्तुत गरेको हो ।

सशर्त अनुदानमा २८ करोड १००, विशेष अनुदानमा दुई करोड ५० लाख, समपूरक अनुदानमा एक करोड ७० लाख बजेट प्रस्तुत गरिएको छ । गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएपछि उपप्रमुख रुपेश राईले बजेट प्रस्तुत गरेका हुन् ।

यस्तै हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आज नगर–गाउँसभा गर्ने जनाएको छ । केपिलासगढी गाउँपालिकाले शनिबार गाउँसभा गर्ने गाउँपालिका प्रमुख समिर राईले बताए ।

जिल्लाका अन्य सात स्थानीय तहले शुक्रबार एकैदिन गाउँ तथा नगरसभा गर्ने तयारी छ । पूर्वी पहाडी जिल्ला खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका छ ।

अर्थ मन्त्रालयबाट आव २०७९/८० का लागि जिल्लाका १० स्थानीय तहलाई साढे तीन अर्बभन्दा बढी बजेट प्राप्त भएको छ । मन्त्रालयले दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका लागि समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान गरी तीन अर्ब ६२ करोड एक लाख बजेट उपलब्ध गराएको हो ।

जिल्लाको सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ६५ करोड १५ लाख र सबैभन्दा कम बराहपोखरी गाउँपालिकाले २४ करोड २४ लाख बजेट प्राप्त गरेको छ । हलेसी तुवाचुङ नगरपालिकाले ४९ करोड छ लाख, ऐसेलुखर्क गाउँपालिकाले ३२ करोड ४९ लाख, केपिलासगढी गाउँपालिकाले २५ करोड ८६ लाख, खोटेहाङ गाउँपालिकाले ४३ करोड एक लाख बजेट पाएका छन् ।

यस्तै जन्तेढुङ्गा गाउँपालिकाले २९ करोड ९५ लाख, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ३७ करोड ९२ लाख, साकेला गाउँपालिकाले २५ करोड ६० लाख र रावाबँेसी गाउँपालिकाले २८ करोड ७३ लाख बजेट प्राप्त गरेको अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेकाे बजेट वक्तव्यमा उल्लेख छ । अर्थ मन्त्रालयले गत वर्ष १० स्थानीय तहका लागि तीन अर्ब ५७ करोड ६४ लाख बजेट उपलब्ध गराएको थियो ।

गत वर्षको तुलनामा यस वर्ष खोटाङका १० स्थानीय तहका लागि छ लाखमात्र बजेट बढेर आएको पाइएको छ । स्थानीय तहमा आएको बजेट वृद्धि नहुनुमा जिल्लाबाट निर्वाचित सङ्घीय सांसदको कमजोरी रहेको जिल्लावासीको आरोप छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.