अर्थमन्त्रीले महँगा विद्युतीय गाडीमा कर बढाएपछि एमजीको व्यापार चौपट, आयात गर्नै छाड्याे

  २०७९ असार ९ गते ११:५८     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत् १०० किलोवाट क्षमताका विद्युतीय गाडीमा कर बढाएपछि केही निश्चित कम्पनीहरू समस्यामा परेका छन् । यसअघि बजेटमार्फत् छुट दिए पनि आगामी आवको बजेटमार्फत् विद्युतीय गाडीमा कर बढाएपछि केही कम्पनीहरुको व्यापार नै चौपट भएको हो ।

अहिले सबैभन्दा ठूलो नोक्सान एमजी ब्राण्डका गाडीहरुमा परेको छ । नेपालमा विद्युतीय गाडीको बिक्री गर्दै आएको पारामाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्याल सरकारले १०० किलोवाट क्षमताभन्दा बढीका गाडीहरुमा भन्सार शुल्क र अन्तःशुल्क बढाएपछि आफुहरुलाई धेरै समस्या भएको बताउँछन् । उनका अनुसार १०० किलोवाट क्षमताभन्दा माथि रहेको एमजी ब्राण्डका गाडीको मूल्य बजेटपछि ३० लाख रुपैयाँसम्म बढेको छ ।

‘हामीसँग अहिले कुनै पनि मोडलका गाडीको स्टक छैन, पछिल्लो समय विद्युतीय गाडीको माग अत्याधिक हुँदा हामीसँग गाडीको मौज्दात नै हुँदैन थियाे, आयात गर्दै बिक्री गर्नुपर्ने अवस्था थियो’, उनले भने, ‘बजेटपछि हामीसँग गाडी नै छैनन्, बजेटकै कारण एमजी ब्राण्डका गाडीहरु बिक्री गर्न सक्ने अवस्था छैन ।’

उनले बजेटकै कारण नयाँ गाडीहरु ल्याएर बिक्री गर्ने वा यतिकै बस्ने भन्ने विषयमा छलफल भैरहेको पनि बताए । ‘एउटै गाडीको मूल्य २० देखि ३० लाख रुपैयाँले बढेको छ, हामीले गाडी ल्याउँछौँ तर, उपभोक्ताले खरिद गर्न नसक्ने भएपछि सजाएर मात्रै राख्ने कुरा भएन, त्यसैले बजेटपछि गाडी नै आयात गरेका छैनौं,’ उनले विकासन्युजसँग भने ।

उनले अर्थमन्त्री जनार्दन शर्माले विद्युतीय गाडीमा बढाएको भन्सार र अन्तःशुल्क महशुलको प्रत्यक्ष असर एमजी ब्राण्डका गाडीलाई परेको बताए । सरकारले विदुतीय गाडीलाई प्रोत्साहन गर्ने नीति लिए पनि कर बढाउनुले नीति र व्यवहारमा फरक परेको धारणा राखे ।

‘सरकारले नै विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नुपर्छ भन्दै आएको छ, फेरी तिनै विद्युतीय सवारीको भन्सार र अन्तःशुल्क बढाएको छ, सरकारको भनाइ र गराईको तालमेल नमिल्दा समस्या देखियो’, उनले भने, ‘युवराज खतिवडाले बढाएको कर घटाएर उनैले वाहीवाही पाए, अहिले पुनः कर बढाएर युवराज खतिवडाकै पदचाप पछ्याउन थाले’, उनले भने ।

सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने कुरा गर्दा विद्युतीय सवारीमै अन्तशुल्क बढाएको भन्दै व्यवसायी असन्तुष्ट बनेका छन् । ९ महिना अगाडि प्रतिस्थापन विधेयकमार्फत् बजेट ल्याउँदा अन्तःशुल्क र भन्सार कर घटाएका अर्थमन्त्री शर्माले पुनः बजेटमार्फत् कर बढाएको भन्दै उनीहरु असन्तुष्ट बनेका हुन् ।

अर्थमन्त्री शर्माले १०० किलोवाटदेखि २०० किलोवाटसम्मका विद्युतीय कार, जीप र भ्यानमा ३० प्रतिशत अन्तशुल्क बढाएका थिए । २०० देखी ३०० किलोवाटभन्दा बढीकोमा ४५ प्रतिशत रहेको छ । मोटरको पिकपावर ३०० किलोवाटभन्दा बढीको कार, जीप र भ्यानमा ६० प्रतिशत अन्तःशुल्क रहेको छ । यसअघि उनले अन्तःशुल्कमा पूर्ण छुट दिएका थिए ।

यस्तै, अर्थमन्त्री शर्माले भन्सार महशुलमा पनि भारी वृद्धि गरेका छन् । उनले १०० किलोवाट देखी २०० किलोवाटसम्मका ३० प्रतिशत, २०० देखी ३०० किलोवाटसम्मकामा ३० प्रतिशत र ३०० किलोवाट बढीकोमा ६० प्रतिशतले कर वृद्धि गरेका छन् ।

हाल विद्युतीय सवारी साधनमा भने १०० किलोवाटसम्मका १० प्रतिशत, २०० किलोवाटसम्मका १५ प्रतिशत, ३०० किलोवाटसम्मका ३० प्रतिशत र ३०० किलोवाट माथिका गाडीमा ४० प्रतिशत भन्सार लगाउँदै आएको थियो ।

११ महिनामा भित्रिए १७ सय गाडी

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विभिन्न देशबाट १७ सय ४ वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठसम्म सो संख्यामा विद्युतीय गाडी भित्रिएका हुन् ।

विभागको तथ्यांक अनुसार चीबाट १ सय किलोवाटका १५४ र १५० देखि २०० सम्म किलोवाट क्षमताका ६५६ गरी ८१० वटा गाडी नेपाल भित्रिएका हुन् । चीनपछि भारतबाट धेरै विद्युतीय गाडीहरु नेपाल भित्रिएका छन् । भारतबाट १०० किलोवाट क्षमताका ६०८, दक्षिण कोरियाबाट १०० किलोवाट क्षमताको १३२, र फ्रान्सबाट १ वटा गाडी नेपाल भित्रिएका छन् ।

बेलायतबाट १०० दखि १५० किलोवाट क्षमताका १३, चीनबाट १५०देखि २०० किलोबाट क्षमताको ६५६, दक्षिण कोरियाबाट १०० देखि २०० किलोवाट क्षमताका ५२ वटा, जापानबाट ७८, युकेबाट ४ वटागाडीहरु नेपाल आएका छन् । यस्तै, युकेबाट २००देखि ३०० किलोवाट क्षमताका ४ र युकेबाटै ३०० क्षमताभन्दा माथिका २ वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।

गत बैशाख महिनामा न्यून मात्रामा विद्युतीय गाडी भित्रएकोमा जेठ महिनामा बृद्धि भएको छ । गत बैशाखको तुलनामा जेठ महिनामा मात्रै १५३ वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन । वैशाखमा ७८ वटा मात्रै विद्युतीय गाडी नेपाल भित्रिएको थियो ।

2 comments on "अर्थमन्त्रीले महँगा विद्युतीय गाडीमा कर बढाएपछि एमजीको व्यापार चौपट, आयात गर्नै छाड्याे"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.