कफी निर्यातमा नयाँ आयाम, मार्केट एक्सेस म्याप पोर्टलको शुरुवात

  २०७९ असार ९ गते ९:३०     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले इयु र इन्टरनेशनल ट्रेड सेन्टरको सहयोगमा कफी गाइड प्रकाशन गरेको छ । मन्त्रालयले इयु र इन्टरनेशनल ट्रेड सेन्टरको सहयोगमा क्वालीटी फर ट्रेड प्लेटफर्म र मार्केट एक्सेस म्याप पोर्टलको शुरुवात गरेको हाे । मन्त्रालयले ल्याएका यी विषयहरुले कफीका निर्यातकर्तालाई आधुनिक ढंगले सहजीकरण गर्न सक्छ । बुधबार एक लन्चिङ कार्यक्रमको आयोजना गरी कफी गाइड पुस्तकको बिमोचन र दुई वेब पोर्टलहरुको उद्घाटन गरिएको थियो ।

कफी गाइड पुस्तकले नेपालका कफी निर्यातकर्ताहरुलाई कफी निर्यातको विषयमा चरणवद्ध प्रकृयाको मार्गनिर्देशन गर्दछ । खासगरी पुस्तकले साना तथा मझौला निर्यातकर्तालाई सघाउने उद्देश्य राखेको देखिन्छ । खासगरी कफीलाई अमेरिका र विश्व बजारमा कसरी निर्यात गर्ने भन्ने विषयमा प्रशासनिक प्रकृयाहरुलाई उक्त गाइडले आवश्यक सहजीकरण गर्ने जनाइएको छ ।

नेपालका लागि इयु राजदुत एच.इ. नोना डेप्रेजले सो कार्यक्रमले नेपालका साना तथा मझौला निर्यातकर्ताहरुको पारदर्शी निर्यात क्षमतामा अभिवृद्धि गर्ने, क्रस बोर्डर निर्यात प्रकृयामार्फत ठुलो व्यवसायिक समुदायमा सहभागी गराउने उद्देश्य रहेको बताइन् । त्यस्तै मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेले नेपालको कफी विश्वमा नै उत्कृष्ट रहेको र यसको बजारिकणको लागि विशेष सहजिकरणको आवश्यकता भएको बताएका थिए । पाण्डेका अनुसार नेपालको कफीको माग विश्वबजारमा असाध्यै ठुलो भएको तर सो अनुसारको निर्यात हुन सकिरहेको छैन् ।

इन्टरनेशनल ट्रेड सेन्टरको रिपोर्टको अनुसार नेपालले सन् २०२० मा ६ सय ५१ हजार डलर बराबर मुल्यको ५३ टन कफी विश्वबजारमा निर्यात गरेको थियो । नेपालले सन् २०१६ मा आफ्नो व्यापार रणनीतिमा नेपालको आर्थिक विकासको लागि कफीलाई प्राथमिकतामा राखेको थियो ।

कफी गाइड
कफी गाइड पुस्तकले नेपालबाट कफी निर्यातको चरणबद्ध प्रकृयालाई निर्यातकर्ताहरुलाई स्पष्ट जानकारी दिने उद्देश्यले सामाग्री निर्मायण गरेको छ । नेपालीहरुले ११ चरणको प्रकृया पार गरेर अमेरिकामा कफी निर्यात गर्न सकिने आवश्यक व्यवहारिक मार्गदर्शन पुस्तकमा उल्लेख गरिएको छ ।

निर्यातकर्ताले कुनै एक कम्पनी दर्ता गर्नुपर्ने, सो कम्पनीलाई वाणिज्य विभाग, प्यान/भ्याटमा दर्ता गर्नुपर्ने र एक्जिम कोड लिनुपर्ने हुन्छ । यसरी एउटा व्यवसायको स्थापना गरेर आयातकर्तासँग सम्बन्ध कायम गरेर निर्यातको लागि आवश्यक कागजातको व्यवस्था गर्नुपर्ने हुन्छ । भन्सार र ट्रान्सपोर्टेसन प्रकृया पूरा गरिसकेपछि बैंकमार्फत भुक्तानी प्रकृया मिलाएर विश्वबजारमा कफी निर्यात गर्न सकिने आवश्यक व्यवहारिक गाइड पुस्तकले गरेको छ । पुस्तकमा आवश्यक कागजातहरुको नक्कल समेत प्रस्तुत गरिएको छ ।

क्वालिटी ट्रेड प्लेटफर्म
कफीका साना तथा मझौला निर्यातकर्तालाई लक्षित गरेर खोलिएको वेब पोर्टले कफीको निर्यातमा सहजिकरणको भूमिका प्रदान गर्दछ । सो वेब पोर्टल इयु र अन्तर्राष्ट्रिय व्यापार केन्द्रको सहयोगमा तयार पारिएको हो । यो वेब पोर्टलको लिंक नेपाल ट्रेड इन्फर्मेसन पोर्टलमा जोडेर राखिएको छ । सो पोर्टलबाट नेपालका साना तथा मझौला निर्यातकर्ताहरुले वस्तुको निर्यात गर्दा सम्बन्धित देशमा तोकिएको गुणस्तर मापदण्ड कसरी थाहा पाउने, कसरी पुरा गर्ने र गुणस्तर सर्टिफिकेट कसरी प्राप्त गर्ने भन्ने विषयमा सहयोग पुर्याउँदछ । यसले दिगो निर्यातलाई सहयोग पुर्याउँदछ ।

मार्केट एक्सेस म्याप
यो वेब पोर्टल नेपाल ट्रेड इन्फर्मेसन वेब पोर्टलमा लिंक गरिएको छ । यो वेब पोर्टल पनि इयु र अन्तर्राष्ट्रिय व्यापार केन्द्रको सहयोगमा तयार पारिएको हो । कफीका निर्यातकर्ताहरुले यो वेब पोर्टलमार्फत विश्वका २ सय भन्दा धेरै बजारका परिवर्तशिल आवश्यकताको तथ्यांक प्राप्त गर्न सक्दछन् । यसले निर्यातकर्ताहरुलाई आयात तथा निर्यातका भन्सार दर, भन्सार कोटा, व्यापार नीति लगायतको सूचना प्रदान गर्दछ । यो वेब पोर्टलको माध्यमबाट निर्यातकर्ताहरुले आवश्यकतालाई पहिचान गरेर सजिलोसँग बजार प्राप्त गरि निर्यात गर्न सक्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.