नेप्से र आईपीओमा बराबर गिरावट

  २०७९ असार ९ गते १०:०१     विकासन्युज

काठमाडौं । पछिल्लो समय नेपालको सेयर बजार निरन्तर रुपमा घटी रहेको छ । ३१९९ को उच्चतम बिन्दु पार गरेको सेयर मूल्य मापक नेप्से परिसूचक आजका दिनमा १९ सय बिन्दुबाट तल झरिसकेको छ । जुन गिरावट ४०.८३ प्रतिशत बढी हो ।

भदौ महिना पछिको नेप्से परिसूचकको उच्चतम बिन्दु २९४७.४४ छ । जुन गत २०७८ माघ ३ गतेको कारोबारमा कायम भएको थियो । त्यसयताको कारोबारमा भने परिसूचक उक्त उचाईंमा पुग्न सकेको छैन । निरन्तर रुपमा एकसुरले ओरालो लागिरहेको छ । र, २०७९ असार ८ गतेसम्म आईपुग्दा परिसूचक घटेर १८९३.५३ बिन्दुमा झरिसकेको छ । यो अवधिमा मात्रै परिसूचक ३५.७५ प्रतिशतले घटेको छ ।

त्यस्तै, सेयर बजारमा मात्र नभई यता आईपीओको गिरावट पनि उस्तै छ । निष्काशित आईपीओमा लगानी गर्नेको संख्या घट्दो छ । गत माघमा साढे २६ लाख बढीले आईपीओ भरेकोमा अहिले उक्त संख्या घटेर १५ लाखमा झरेको छ । जुन ४१.३५ प्रतिशतले घटी हो ।

पहिला आईपीओ भनेपछि मरिहत्ते गर्नेहरु अहिले सेलाएका छन् । सिडिएस एण्ड क्लियरिङ (सिडिएससी) का अनुसार गत माघमा खुलेको जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा २६ लाख ६७ हजार ७४१ जनाले आवेदन दिएका थिए । जुन आईपीओ इतिहासमै हालसम्मकै उच्च हो । त्यसपछिको तथ्यांक हेर्ने हो भने आवेदकको संख्या निरन्तर रुपमा घटिरहेको छ । माघदेखि असारको पहिलो सातासम्म आईपुग्दा ६ वटा लघुवित्तले आईपीओ जारी गरेका छन् । सिडिएसको तथ्यांक अनुसार ६ महिनाको अवधिमा आईपीओमा लगानी गर्नेको संख्या निरन्तर घटीरहेको छ ।

असारको पहिलो साता मात्रै खुलेको आदर्श लघुवित्त वित्तीय संस्थामा १७ लाख ९६ हजार जनाले मात्रै आवेदन दिए । जुन उच्च आवेदकको तुलनामा करिब पौने ९ लाखले घटी हो ।

पछिल्लो समय सबैभन्दा बढी हाइड्रो समूहका कम्पनीहरुले धमाधम आईपीओ जारी गरिरहेका छन् । हाइड्रो कम्पनीको आईपीओको केशमा पनि आवेदकको संख्या घट्दो छ । नेपाली बजारमा बढीमा पौने २५ लाखले हाइड्रोको आईपीओमा आवेदन दिएको तथ्यांक छ । तर, अहिले सो संख्या घटेर १५ लाख ६४ हजारमा सीमित भएको छ ।

किन घट्यो त आवेदकको संख्या ?

बजारमा आईपीओमा आवेदन दिनेका संख्या घट्नुमा दुई कारण रहेको सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य बताउँछन् । एक, सेयर बजार निरन्तर घट्नुले आईपीओमा आकर्षण नभएको । अर्को, आईपीओ पर्न छोड्नु हो ।

‘दोश्रो बजार निरन्तर घटेसँगै सूचीकृत कम्पनीका सेयर सस्तिँदै गएका छन्, दोश्रो बजारमै राम्रा राम्रा कम्पनीको सेयर सस्तोमा सेयर पाउने भएपछि लगानीकर्ताले प्राथमिक बजारमा त्यति रुची नदेखाएका हुन्,’ सीईओ आचार्यले विकासन्युजसँग भने ।

त्यस्तै, पछिल्लो समय कुनैपनि कम्पनीको आईपीओमा मागभन्दा कयौं गुणा बढी आवेदन पर्ने गरेको छ । मागभन्दा जति बढी आवेदन पर्छ त्यति बढी लगानीकर्ताले सेयर पाउने चान्स कम हुन्छ । जसले गर्दा कयौं पटक आईपीओ भर्दा पनि नपरेपछि आश्वा शुल्कका कारण लागत मात्रै बढी हुने भएकाले लगानीकर्ताले आईपीओ भर्न छोडेका हुन सक्ने आचार्यले बताए ।

साथै, सीईओ आचार्यले पछिल्लो समय मेरो सेयरको सिष्टममा धेरै सुधार गरिएकोले लगानीकर्ताबाट गुनासो आउने क्रम घट्दै गएको बताए ।

‘पहिला पहिला आईपीओ आएपछि निन्द्रा हरण हुन्थ्यो, भोलि कहाँ कसले के भन्दिन्छ भन्ने डरले राती १२ बजे पनि उठेर सिस्टम चलेको छ छैन हेरिन्थ्यो, एक मिनेट मात्रै समस्या आउँदा पनि धेरै गुनासा आउँथे, अहिले त्यस्तो कुनै समस्या छैन, कुनै गुनासा आएका छैनन्,’ विगत सम्झँदै उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.