श्रीलंकाको अर्थतन्त्र ‘कोल्याप्स’, देश टाँट पल्टेको घोषणा

  २०७९ असार ८ गते २२:३७     विकासन्युज

काठमाडौं । श्रीलंकाले टाँट पल्टेको घोषणा गरेको छ । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रेमासिंघेले श्रीलंकाकाे अर्थतन्त्र अब टाँट पल्टिएको घोषणा गरेका हुन् । प्रधानमन्त्री विक्रेमासिंघेले बुधबार संसदलाई सम्बोधन गर्दै श्रीलंका आर्थिक रुपमा टाँट पल्टेर अर्थतन्त्र नै कोल्याप्स भएको बताएका हुन् ।

लामाे समयदेखि खाद्यान्न, इन्धन, विद्युत, औषधि  संकटबाट गुज्रिरहेको  श्रीलंका अब तेल पनि किन्न नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ ।

‘अहिले हाम्रो अर्थतन्त्र गभ्भीर छ, हामी ठूलो चुनौति सामाना गरिरहेका छौं, अब हामीलाई विदेशबाट वस्तु आयात गर्नको लागि विदेशी मुद्राको सञ्चिति पनि छैन, हाम्रो अर्थतन्त्र टाँट पल्टिएको छ,’ उनले संसदमा भनेका छन् ।

उनले श्रीलंकामाथि रहेको ऋणको भारी सबैभन्दा ठूलो बोझ भएको बताएका छन् भने पर्यटनबाट हुने आम्दानी पनि शुन्यमा झरेको धारणाका छन् ।

यस्तै, उनले श्रीलङ्काले जुलाईको अन्त्यसम्ममा आईएमएफ कर्जा प्याकेजलाई अन्तिम रूप दिने बताएका छन् । उनका अनुसार आईएमएफसँग पहिलो पटक प्रत्यक्ष सम्बाद सोमबारबाट सुरु भएको र अब १० दिनसम्म चल्ने बताएका छन् ।

‘श्रीलङ्काका लागि एक मात्र सुरक्षित विकल्प भनेको अन्तर्राष्ट्रिय मुद्रा कोषसँग छलफल गर्नु हो,  साँच्चै भन्ने हो भने यो हाम्रो एक मात्र विकल्प हो, हामीले यो बाटो अपनाउनु पर्छ,’ उनले भने ।

उनले सार्वजनिक वित्त, अर्थतन्त्र, कर्जा व्यवस्थापन, बैंकिङ क्षेत्रको स्थायित्व र सामाजिक सुरक्षाको जालोबारे आईएमएफसँग प्रारम्भिक छलफल सम्पन्न भएको बताएका छन् । वित्तीय तथा कानुनी सल्लाहकार फर्महरूसँग छलफलपछि जुलाईको अन्तसम्ममा श्रीलङ्काको कर्जा पुनःसंरचनाका लागि आधार तय गरिने उनकाे भनाइ छ ।

हाल श्रीलंका खतरनाक आर्थिक संकटसँग जुधिरहेको छ । अहिले आर्थिक संकटका कारण श्रीलंकामा महँगीले आकाश छोएको छ । श्रीलंकाको यो अवस्था हुनुको पछाडिको प्रमुख कारण भनेको विदेशी मुद्रा सञ्चिती हो । श्रीलंकासँग अहिले अत्यन्तै आवश्यक पर्ने सामानहरु आयात गर्नको लागि पनि विदेशी मुद्रा सञ्चित छैन ।

गत वर्ष मार्चमा श्रीलंकाले विदेशी मुद्रा भण्डार बढाउनको लागि आयातमा प्रतिबन्ध लगाएको थियो । यसबाट देशमा चिनी र इन्धन जस्ता अत्यावश्यक सामानको कमी आएको थियो ।

श्रीलंकाले आफ्नो विदेशी मुद्रा सञ्चिति बढाउनका लागि बाहिरी सहयोग मागिरहेको छ । श्रीलंकाले चीनसँग सहयोग मागेको थियो । तर, अहिलेसम्म चीनको तर्फबाट उसले सहयोग पाइसकेको छैन । श्रीलंकाले भारतसँग पनि सहयोग मागेको थियो । भारतले पनि श्रीलंकालाई खासै सहयोग गरेको छैन ।

अन्तर्राष्ट्रिय व्यापारका लागि विदेशी मुद्रा आवश्यक हुन्छ । विश्वभरी अमेरिकी डलर चल्छ । त्यसैले विदेशी मुद्रा सञ्चितीमा अमेरिकी डलर सबैभन्दा धेरै हुन्छ । विश्वको ८५ प्रतिशत व्यापार अमेरिकी डलरमा हुन्छ । ऋण पनि डलरमै दिइन्छ । यदि विदेशी मुद्रा सञ्चिती भएन भने व्यापार गर्न कठिनाइ हुन्छ । अन्य देशबाट सामान किन्न समस्या हुन्छ । कुनै पनि देशले लामो समयसम्म डलर बिना अन्य मुद्रामा सामान दिन सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.