‘बीबीआईएन सन्धिका कारण इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजीमा राख्नुपर्यो’

  २०७९ असार ८ गते १८:१५     विकासन्युज

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले दक्षिण एशियाका चार देशबीच भएको बीबीआईएन सन्धिका कारण इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग गर्नुपरेको बताएका छन् ।

संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बुधवारको बैठकमा बोल्दै सचिव सिग्देलले भुटान, बंगलादेश, भारत र नेपालका बीचमा भएको बीबीआईएन सन्धिका कारण इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग गर्नुपरेको बताएका हुन ।

उनले दक्षिण एशियामा ‘सिमलेस ट्रान्सपोर्ट’ गर्ने सम्झौता भएको र त्यसो गर्दा अंग्रेजी भाषाका अंकहरु सबै देशका संयन्त्रहरुले पढ्नसक्ने हुनाले अंग्रेजी भाषा राखिएको बताए । सचिव सिग्देलले नेपाली भाषा पढ्ने सफ्टवेयरहरु उपलब्ध नहुने भएकाले पनि त्यसो गरिएको स्पष्ट पारे ।

उनले इम्बोस्ड नम्बर प्लेट बनाउन २०७३ सालमा सम्झौता गरिएको र सम्झौता गर्दा सम्बन्धित कम्पनी कालोसूचीमा नपरेको बताए । सम्झौतापश्चात् कालोसूचीमै परेपनि तत्काल ठेक्का सम्झौता रद्द नहुने कानूनी व्यवस्था रहेको उनले उल्लेख गरे ।

यस्तै यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले इम्बोस्ड नम्बर प्लेट बनाउनका लागि सरकारको पैसा खर्च नहुने बताए । उनकाे अनुसार सम्झौता अनुरुप २५ लाख सवारीसाधनमा प्रतिसाधन २ हजार पाँच सय रुपैयाँदेखि ३ हजार छ सय रुपैयाँसम्ममा इम्बोस्ड नम्बर प्लेट बनाइनेछ । र  सो वापत करिब ७ अर्ब ३९ करोड रुपैयाँ पैसा उठेपनि कम्पनीले करिब ४ अर्ब ६८ करोड रुपैयाँ लिने र करिव २ अर्ब ४० करोड रुपैयाँ सरकारको राजश्व उठ्नेछ ।

महानिर्देशक घिमिरेले विश्वकाे ९५ प्रतिशत मुलुकमा इम्बोस्ड नम्बरप्लेट जडान भइसकेकोमा  दक्षिण एशियामा नेपालमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.