पेट्रोलको मूल्यवृद्धिसँगै साइकल किन्ने बढे, स्टक सकिँदा बढ्यो मूल्य

  २०७९ असार ८ गते १६:३०     राजिव न्यौपाने

काठमाडौं । साइकल चलाउनु कतिपयको बाध्यता हुन्छ भने कयौंको ‘प्यासन’ हुन्छ । धेरैको रोजिरोटी साइकल चलाएर चल्छ भने अधिकांश मानिस फिटनेसका लागि साइकलको प्रयोग गर्छन् । केही समयअघि राजधानी काठमाडौंमा साइकल चलाएका मानिसहरु कमै देखिन्थे । बिहान बेलुका फिटनेस भन्दै सडक छेउछाउमा देखिने हुनेखाने वर्ग र दिनभर साइकलमै घुमेर साँझको लागि एक छाक टार्ने हुँदाखाने वर्गको लागि साइकल प्रिय छ ।

ती दुई वर्ग बाहेक अन्यले साइकल खासै प्रयोग गर्दैनन् । तर, पछिल्लो केही सातादेखि भने धेरैको रोजाइ साइकल बनेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै अधिकांशले घरमै मोटरसाइकल थन्क्याएर साइकल प्रयोग गर्न थालेको विभिन्न तथ्यांकले देखाउँछ ।

नेपाल आयल निगमले नै बैशाख महिनामै ११ प्रतिशतले पेट्रोलियम पदार्थको प्रयोग घटेको देखाएको छ । सरकारले आइतबार र शनिबार सार्वजनिक विदा दिनु र मोटरसाइकल प्रयोगकर्ताले साइकल प्रयोग गर्नाले पनि पेट्रोलियम पदार्थको प्रयोग घटेको बुझ्न सकिन्छ ।

साइकल व्यापारीहरु पनि आयल निगमले पेट्रोलियम पदार्थको मूल्य उच्च रुपमा बढाएपछि साइकलको माग ह्वात्तै बढेको बताउँछन् । उनीहरुका अनुसार अहिले साइकलको बजारमा माग बढेर आपुर्ति गर्न सकिएको छैन ।

पछिल्लो समय नेपाली बजारमा विभिन्न ब्रान्डका गियर साइकल, साधा देखि विद्युतिय साइकलहरू खरिदबिक्री भइरहेका छन् । बजारमा साइकलको माग बढ्दै गएपछि साइकलको मूल्य पनि बढेको छ । अहिले बजारमा प्रति साइकल २ हजारदेखि ४ हजार रुपैयाँसम्म मूल्यवृद्धि भएको साइकल व्यापारी बताउँछन् ।

३१ वर्षदेखि काठमाडौंको असनमा साइकल बिक्री गर्दै आएका लक्ष्मी साइकल सेन्टरका सञ्चालक उत्तम मानन्धर पेट्रोलियम पदार्थको मूल्यवृद्धि पछि साइकलको माग ह्वात्तै बढेको बताउँछन् । उनले साइकलको माग बढेर अभाव हुँदा मूल्य पनि बढेको बताए ।

मानन्धरका अनुसार २० हजार रुपैयाँदेखि ६ लाख रुपैयाँसम्मका विभिन्न ब्रान्डका साइकल उनको पसलमा पाइन्छन् । साइकलमा विपन्न वर्गदेखि उच्च वर्गका ग्राहकसम्म आकर्षित गर्ने भएको र स्वास्थ्यको लागि पनि साइकल उपयोग हुने उनको भनाइ छ ।

‘राजधानीमा साइकलको व्यापार राम्रो छ, बच्चादेखि वृद्धसम्मले साइकलको आवश्यकतालाई मध्यनजर गरेर प्रयोग गर्छन्, सामानको ढुवानीदेखि आवतजावत पनि प्रयोग गर्न साइकल मिल्छ, त्यसैले साइकलको खपत बढ्दो नै छ,’ उनले भने ।

उनका अनुसार २० देखि २५ हजार रुपैयाँसम्मका साइकल बढी बिक्री हुन्छन् । ‘अहिले ६० प्रतिशतले साइकल स्वास्थ्यको हिसाबले प्रयोग गर्छन् भने बाँकी ४० प्रतिशतले मात्र सवारीको रूपमा प्रयोग गरेको देखिन्छ,’ उनले भने ।

मानन्धरका अनुसार ९० प्रतिशत साइकल चीनबाट र बाँकी १० प्रतिशत मात्र भारतबाट आयात हुन्छ । कोरोना भाइरसको समयदेखि ब्रान्डेड साइकलको अभाव रहेको पनि मानन्धरले बताए । उनले जाइन्ट ब्रान्डका विभिन्न मोडलका साइकलहरूको खरिद बिक्री गर्दै आएका छन् । माग अनुसार साइकल आपुर्ति गर्न नसकेको पनि उनको भनाइ छ । उनले महिनामा औसत ११ लाख रुपैयाँसम्मको कारोबार हुने बताए ।

यस्तै, अर्का साइकल व्यापारी सिसन श्रेष्ठ लकडाउनपछि साइकल व्यापार केही खस्किए पनि अहिले पुनः बढ्न थालेको बताउँछन् । उनले पनि अहिले साइकलको मूल्यवृद्धि भएको बताए ।

‘अहिले एउटै साइकलमा ३/४ हजार रुपैयाँ मूल्य बढेको छ तर, हामीसँग भएको स्टकलाई पहिलाको रेटमा नै दिन्छौं, आयात गर्दा मूल्यवृद्धि भयो भने साइकलको मूल्यवृद्धि गर्नु पर्ने हुन्छ, हामी पुरानै मूल्यमा बिक्री गरिरहेका छौं,’ उनले भने । उनले ज्यालक्स लगायतका ब्रान्डका साइकलहरू बेच्दै आएका छन् ।

यस्तै, कालिमाटीमा साइकलको व्यापार गर्दै आएका अमित कुमार पनि अहिले साइकलको मूल्यवृद्धि भएको बताउँछन् । ५ वर्ष देखि साइकलको व्यापार गर्दै आएका उनी भन्छन्, ‘अहिले हामीसँग पहिला नै स्टक गरेका साइकलहरू पर्याप्त छन्, नयाँ थपेका छैनौं ।’

उनले जिटिए, एभरेष्ट, सन्तोसा, जिटानो, डिस्कोवर, क्लाइबीङ लगायतका ब्रान्डका साइकलहरू बिक्री गर्दै आएकाे बताए ।

पौने ४ लाख साइकल आयात

साइकल व्यापारीहरुका अनुसार नेपालमा अधिकांश साइकल आयात चीनबाट हुन्छ । ९० प्रतिशत साइकल चीनबाट आउँदा १० प्रतिशत साइकल भारतबाट आउँछन् ।

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालमा ३ लाख ८४ हजार ३९३ वटा साइकल नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार जेठसम्म ११ महिनामा कुल एक अर्ब ८९ करोड ८६ लाख ९१ हजार नेपाली रुपैयाँ साइकल खरिद गर्नका लागि बाहिरिएको छ ।

साइकल आयातबाट सरकारले ३४ करोड ९६ लाख ७६ हजार राजश्व संकलन गरेको छ । ११ महिनाको अवधिमा १३७१ विद्युतीय साइकल नेपाल भित्रिएका छन् । विभिन्न देशबाट उक्त साइकल नेपाल ल्याउँदा ६ करोड ४४ लाख नेपाली रुपैयाँ बाहिरिएको छ भने सरकारले एक करोड ५५ लाख ९६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X