कम क्षमताका ट्रान्सफर्मर राख्दा काभ्रेको खानेपानी समितिलाई सास्ती

  २०७९ असार ७ गते १३:३१     विकासन्युज

‍‍काभ्रेपलाञ्चोक । खानेपानी आयोजनाका लागि बिजुलीद्वारा पानी तान्न राखिएका पाँच ट्रान्सफर्मर कम क्षमताका भएपछि तेमाल बृहत् खानेपानी आयोजना उपभोक्ता समितिले निकै सास्ती खेप्नुपरेको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरद्वारा निर्माण व्यवसायीमार्फत खरिद गरी राखिएका आवश्यकताभन्दा कम क्षमताका ट्रान्सफर्मरले पानी तान्ने मेशिन चल्न नसकेको हो ।

निर्माणाधीन खानेपानी आयोजनामा पानी वितरण गर्न परीक्षण गर्ने क्रममा कम क्षमताका ट्रान्सफर्मर राखिएको थाहा भएको उपभोक्ता समितिले जनाएको छ । समितिका अनुसार चन्द्र एन्ड वसन्त एमएम कन्स्ट्रक्शन जेभी नामक कम्पनीले उक्त आयोजनाको पाँच स्थानमा १५० केभिए क्षमताका ट्रान्सफर्मर राखेका थिए । तर ती ट्रान्सफर्मर खरिद मूल्यबारे जानकारी गराइएको छैन ।

त्यस क्षमताका ट्रान्सफर्मरले लिफ्टिङ खानेपानी आयोजनाका ७५ एचपी को पानी तान्ने मेशिन सञ्चालन नभएपछि उक्त क्षमताका ट्रान्सफर्मर परिवर्तन गर्नुपरेको आयोजना उपभोक्ता समितिका अध्यक्ष सङ्ग्रामसिं लामाले बताए । उनका अनुसार पानी तान्न पाँचवटै २०० केभिए क्षमताका ट्रान्सफर्मर आवश्यक भएकाले यसै साता ल्याइएको छ ।

नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयले गत शुक्रबार अयोजनाका लागि २०० केभिए क्षमताका ट्रान्सफर्मर पठाएको छ । ‘प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनामा कम क्षमताका ट्रान्सफर्मर राखेर समस्या निम्तिएपछि २०० केभिए क्षमताका ट्रान्सफर्मर निःशुल्क रुपमा पठाउनुभएको हो’, लामाले भने । उनले कम क्षमताको ट्रान्सफर्मर राख्नुको कारणबारे जानकारी लिइने बताए ।

आयोजनाको भक्तपुर कार्यालय प्रमुख राजेन्द्र श्रेष्ठले पछिल्लो समय उपभोक्ताको सङ्ख्या बढेपछि पानी तान्ने ठूला मेशिन राखेकाले आयोजनाद्वारा राखिएका ट्रान्सफर्मरले काम नगरेको बताए । उनले भने, ‘ठूला क्षमताका ट्रान्सफर्मर आइसकेका छन्, पहिला राखिएका ट्रान्सफर्मर प्राधिकरणलाई हालको सट्टा दिनेछौँ ।’ उनले कम क्षमताका ट्रान्सफर्मर राख्नुको कारणबारे आफूले पनि छानबिन गर्ने बताए ।

आउँदो मङ्सिर महिनाभित्र काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयवासीलाई स्वच्छ खानेपानी घरघरमा पुर्याइने उद्देश्यले आयोजनाको काम तीव्र गतिमा भइरहेको छ । कोभिड र प्राकृतिक प्रकोपका कारण उपभोक्ताको घरघरमा खानेपानी उपलब्ध गराउन एक वर्ष धकेलिएको उक्त आयोजनाको काम अन्तिम चरणमा पुगेको समितिले जनाएको छ ।

लामाका अनुसार सो आयोजनाले तेमाल क्षेत्रका नौ हजार ३१० परिवारका ५५ हजार स्थानीयवासीलाई खानेपानी उपलब्ध गराउनेछ । २३ ट्याङ्कीमा पानी परीक्षण भइसकेको छ भने मेनलाइन र शाखा लाइनमा पाइप बिछ्याउने तथा घरघरमा धाराका सामग्री वितरण कार्य भइरहेको छ । साथै, प्रशोधन केन्द्रदेखि वितरण ट्याङ्कीसम्मको पाइपमासमेत पानी परीक्षण भइसकेको जनाइएको छ ।

लिफ्टिङ प्रविधिको उक्त खानेपानीको मुहान सुनकोसी नदी किनारमा छ । रोशी गाउँपालिका–७ कटञ्जेस्थित ११० घरपरिवारका लागि एक महिनाभित्रै उक्त आयोजनाको खानेपानी वितरण गरिने तयारी भएको लामाले बताए ।

नेपाल सरकार, खानेपानी विभागमार्फत रु एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा सुनकोसी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना बनिसकेका छन् । सो आयोजना विसं २०७२ असार महिनामा सम्झौता भएको थियो । विसं २०७२ को भूकम्पलगत्तै खानेपानीका मूल सुक्दै गएपछि तेमालका केही बासिन्दा विस्थापित हुने तरखरमा थिए, तर बृहत् खानेपानी आयोजना निर्माण सम्झौताले रोकेको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.