परिसंघले भन्यो : आइटी पार्क निजी क्षेत्रलाई बनाउन दिऔं

  २०७९ असार ६ गते १८:५८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले आइटी पार्क निजी क्षेत्रलाई बनाउन दिन आग्रह गरेको छ । परिसंघले सूचना तथा संचार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेटी भारत, फिलिपिन्स लगायतका मुलुकले दिए जस्तो सुविधा दिएर आइटी पार्क निजी क्षेत्रलाई बनाउन दिन आग्रह गरेको हो ।

सूचना प्रविधि निर्यातमा सतप्रतिशत मूल्य अभिवृद्धि (भ्यालु एडिसन) हुने भएकाले यस क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने परिसंघकाे भनाइ छ । परिसंघले सरकारले सूचना प्रविधिमा आधारित सेवा प्रवाह गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई आयमा एक प्रतिशत मात्र कर लाग्ने व्यवस्था मिलाउने गरेको घोषणा दीर्घकालसम्म हुनुपर्ने बताएको छ ।

उक्त भेटमा सूचना तथा संचार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधि क्षेत्रलाई राज्यले उच्च प्राथमिकतामा राख्दै आएको बताए । उनले सूचना प्रविधि क्षेत्रमा लगानी आकर्षित गर्न, रोजगारी अभिवृद्धि गर्न एवंम लगानीकर्तालाई सहज वातावरण बनाउन मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए ।

यस्तै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको सूचना प्रविधि क्षेत्रमा रहेको दक्ष जनशक्ति, विद्युत, मौसमलगायतका दृष्टिकोणले सूचना प्रविधिको विकासका लागि नेपाल उपयुक्त ठाउँ रहेको बताएका छन् । हाल नेपालमा भएको विदेशी मुद्रा संचिती समस्या पनि यस क्षेत्रमार्फत समाधानमा मद्दत मिल्ने उनको भनाइ छ ।

नेपालले तीन अर्ब ३० करोड अमेरिकी डलर बराबर सूचना प्रविधि निर्यात गर्न सक्ने सम्भावना आंकलन गरिएको छ । नेपालमा हरेक वर्ष ७ हजार ५ सय विद्यार्थी आइटी क्षेत्रमा उत्पादन भईरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.