प्रतिफलको ग्यारेन्टी गर्दै रिलायन्स लाइफले ल्यायो नयाँ योजना, ९० प्रतिशतसम्म ऋण पाइने

  २०७९ असार ६ गते १६:३१     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ग्यारेन्टेड रिटर्नसहितको बीमालेख योजना सार्वजनिक गरेको छ । इन्स्योरेन्सले सोमबार एक कार्यक्रम आयोजना गर्दै ‘मेरो सुनिश्चित प्रतिफल’ नामक बीमा योजना सार्वजनिक गरेको हो ।

बीमितले आफ्नो आवश्यकता अनुसार बीमाशुल्क भुक्तानी गर्न सक्ने यो योजनामा अढाई गुणासम्म सुनिश्चित प्रतिफल पाइने कम्पनीको दाबी छ । साथै, सीमित समयको लागि बीमाशुल्क भुक्तानी गरि बीमालेख अवधिभर रक्षावरण पाउन सक्नेछन् ।

यो बीमा १६ वर्षदेखि ४४ वर्ष उमेर सम्मको व्यक्तिले गर्न सक्नेछन् । त्यस्तै, बीमा अवधि १६ वर्ष र २० वर्ष रहेको यो बीमाको समाप्ति उमेर ६० वर्ष हुनेछ । जसमध्ये १६ वर्ष बीमा अवधिमा जम्मा ५ वर्षसम्म मात्र बीमाशुल्क तिरे पुग्ने र २० वर्ष अवधिमा जम्मा ७ वर्ष मात्र बीमाशुल्क तिरे पुग्ने छ । यो बीमा योजना अन्तर्गत बीमाशुल्क भुक्तानी वार्षिक हुनेछ ।

न्यूनतम २५ हजार रुपैयाँ बीमाशुल्क तोकिएको यो बीमा योजनाको अधिकतम बीमाशुल्क रकम भने बीमितको भुक्तानी क्षमतामा भर पर्ने छ । न्यूनतम र अधिकतम बीमांक रकम भने बीमाशुल्कको आधारमा थप हुने समेत कम्पनीले बताएको छ ।

जस्तै, यदि २५ वर्षको व्यक्तिले २० वर्षको बीमा अवधि राखि १ लाख रुपैयाँको वार्षिक बीमाशुल्क ७ वर्षसम्म ७ लाख रुपैयाँ तिर्छ भने सो बीमितको १७ लाख ५० हजार रुपैयाँ बराबरको जाखिम बहन हुनेछ । बीमा परिपक्व भएपछि आधारभूत बीमाशुल्कको अढाई गुणा सुनिश्चित प्रतिफल १७ लाख १० हजार रुपैयाँ प्रदान गरिने छ । थप न्युन बीमाशुल्क १४ हजार ८ सय ४० रुपैयाँ तिरेर अतिरिक्त पुरक करार सुविधाहरु दर्घटना मृत्यु, पुर्ण स्थायी अशक्तता, बीमाशुल्क छुट र घातक रोगहरु विरुद्धको रक्षावरण पनि लिन पाउनेछन् ।

२.५ गुणासम्म प्रतिफल

यो बीमा योजनाअन्तर्गत १६ वर्ष अवधिको बीमालेखमा आधारभुत बीमाशुल्कको २ गुणा प्रतिफल पाइन्छ । त्यस्तै, २० वर्षको बीमालेखमा आधारभुत बीमाशुल्कको २.५ गुणा प्रतिफल पाइने कम्पनीले ग्यारेण्टी गरेको छ । साथै, यसमा अतिरिक्त सुविधाहरु लिन चाहने बीमितले अतिरिक्त शुल्क भुक्तानी गरी अतिरिक्त पुरक करार सुविधाहरु समेत लिन सक्ने व्यवस्था रहेको कम्पनीले बताएको छ ।

यो बीमालेख अन्यभन्दा फरक छ । अन्य बीमा गराउँदा बीमा रकम अनुसार बीमाशुल्क तोकिनेछ भने यो बीमा योजनामा बीमितले आफ्नो इच्छाअनुरुप बीमाशुल्क तय गर्न सक्नेछन् र त्यसको आधारमा बीमाङ्क रकम कायम गरिने छ । साथै, यो बीमालेखमा न्युन थप बीमाशुल्क तिरेर अतिरिक्त पुरक करार सुविधाहरमा दुर्घटना मृत्यु, पुर्ण स्थायी अशक्तता, बीमाशुल्क छुट, घातक रोगहरु विरुद्धको रक्षावरण सुविधाहरु पनि लिन पाइनेछ ।

मृत्यु भएमा के हुन्छ ?

यदि बीमा अवधि बाँकी रहँदै बीमितको मृत्यु भएमा बीमितले इच्छाइएको व्यक्तिलाई जम्मा भुक्तानी गरेको आधारभूत बीमाशुल्कको न्युनतम २ गुणादेखि अधिकतम २.५ गुणासम्म रकम भुक्तान गरिने कम्पनीले जानकारी गराएको छ ।

९० प्रतिशतसम्म कर्जा पाइने

यो बीमालेख अन्तर्गत बीमितले कर्जा सुबिधा समेत पाउने छन् । उनीहरुले बीमालेख धितो राखी सर्मपण मूल्यको ९० प्रतिशतसम्म ऋण लिन पनि सक्नेछन् । जसको लागि बीमा योजनामा सहभागी भएको ३ वर्ष अवधि पुरा भई ३ वर्षको बीमाशुल्क तिरी सक्नुपर्ने व्यवस्था छ ।

यस योजनाले बीमितलाई ग्यारेन्टीका साथ उत्कृष्ट रिटर्न दिन्छ । साथै, उच्च रकमको रक्षावरण समेत गर्ने भएकाले ग्राहकको लागि यो योजना अति आकर्षक रहने कम्पनीले विश्वास लिएको छ । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले इन्स्योरेन्सले नेपाली जीवन बीमा बजारमा अहिलेसम्मकै गुणस्तरीय र उत्कृष्ट प्रडक्ट ल्याएको दावी गरेका छन् ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समेत रिलायन्स लाइफको नयाँ योजनाले छुट्टै खालको विशेषता बोकेको बताए ।
‘यसमा निश्चित अवधिमा निश्चित प्रतिफल दिने भनेर ग्यारेन्टी गरिएको छ, त्यसैले यो प्रडक्टले छुट्टै विशेषता बोकेको देखियो,’ कार्यक्रममा बोल्दै सिलवालले भने ।

साथै, उनले बीमाप्रति मान्छेलाई आकर्षित गराउन यस्तै नयाँ नयाँ योजनाहरु ल्याई उक्त योजनाका विशेषताहरुमा बढी जोड दिन कम्पनीहरुलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.