एउटै सेगमेन्टमा प्रतिस्पर्धा गर्दै चौधरी दाजुभाई

  २०७९ असार ६ गते १०:२२     विकासन्युज

काठमाडौं । लुनकरण दास चौधरीका छोरा र नातीहरुबीच व्यवसायिक प्रतिस्पर्धा शुरु भएको छ । चौधरीका तीन छोराहरु विनोद, बसन्त र अरुणले छुट्टाछुट्टै व्यवसाय गर्दै आएका छन् ।

अलग अलग आ–आफ्नो व्यवसाय गर्दै आएका चौधरी दाजुभाई पहिला फरक प्रकृतिका व्यवसायमा संलग्न थिए । तर लुनकरण दासको निधनपछि छोरा र नातीहरु समान प्रकृतिको व्यवसायमा प्रतिस्पर्धा गर्न थालेका छन् ।

गत साता मात्र विनोद चौधरीका छोरा निर्माण चौधरीले निटा ब्राण्डको गाडी व्यापार शुरु गरे । उनले यसलाई शुरुवात मात्र भने र आगामी दिनमा अटोमोवाइल क्षेत्रमा नयाँ नयाँ गाडी ल्याउने र ठूलो लगानी गर्ने बताए ।

निर्माणको उक्त घोषणाभएको दुई साता पनि नवित्दै अरुण चौधरीका छोरा करण चौधरीले ‘काठमाडौं’ ब्राण्डको वियर बजारमा ल्याउने घोषणा गरे । उनले ३३० मिलिलिटर बोटलमा उच्च गुणस्तरयुक्त वियर बजारमा ल्याउन पाउँदा खुशी लागेको बताएका छन् ।

मदिरा व्यापारमा चौधरीका तीनै भाई प्रतिस्पर्धामा होमिएका छन् । विनोद चौधरीको गुप अफ कम्पनी अन्तरगतको ‘सीजी चौधरी ग्रुप’ले नेपाल आइस ब्राण्डको वियर उत्पादन गर्दै आएको थियो । अरुण चौधरीको ग्रुप अफ कम्पनी ‘सीजी होल्डिङ’ले काठमाडौं वियर वाहेक भोड्का, जीन, भर्जिन जस्ता मदिराको उत्पादन थालेको छ ।

विनोदका अर्काभाई बसन्त चौधरीले पनि दुई वर्षअघि खुकुरी रममा लगानी गरेका छन् । उनले लगानी गरेपछि यो कम्पनीले आक्रामक रुपमा बजार विस्तार गरिरहेको छ ।

यसअघि तीन भाइका तीन परिवारले फरक फरक विधामा व्यवसाय गर्दै आएका थिए । चौधरी ग्रुपको नाममा विनोद चौधरीको परिवारले यसअघि नुडल्स, वियर, सिमेन्ट लगायत उद्योग चलाउदै आएको थियो भने व्यापारमा एलजी, टीसीएल, गोदरेज ब्राण्डका विद्युतीय उपकरणको व्यापार गर्दै आएको थियो । सेवा क्षेत्रमा बैकिङ र बीमा व्यवसाय गर्दै आएका थिए । चौधरी ग्रुपले घरजग्गा, जलविद्युत क्षेत्रमा पनि लगानी गरेको छ ।

विनोदका माइलाे भाई बसन्त चाैधरीले विएलसी हाेल्डिङ कम्पनीकाे नाममा विजनेश गर्दै  आएका छन् । नर्भिक इन्टरनेशनल हस्पिटललाई मुख्य विजनेश बनाउदै आएका बसन्त चौधरी विस्कुट, मैदा लगायत खाद्यन्य व्यापारमा सक्रिय छन् । उनले नेतृत्व गरेको यूनाइटेड फाइनान्स गत वर्ष मात्र नबिल बैंकमा मर्ज भएको थियो ।

विनोदका कान्छाे भाई अरुण चौधरीले सिजी होल्डिङ्स अन्तरगत विभिन्न कम्पनी चलाएका छन् । उनको सबैभन्दा ठूलो व्यवसाय गाडी व्यापारा हो । विगत तीन दशकदेखि अरुणले मारुती सुजुकी ब्राण्डका कार, भ्याज,जीप आयात तथा बिक्री वितरण गर्दै गर्दै आएका छन् ।यस ग्रुपले लुब्रिकेन्ट, खाने तेल उत्पादन गर्दै आएको थियो । यस ग्रुपले स्कूल तथा कलेज,, होटल तथा रिसोर्ट लगायत सेवा क्षेत्रमा लगानी विस्तार गरेको छ ।

लुनकरण दासका छाेरा पुस्ताबीच फरक व्यवसायमा जुन हार्दिकता थियाे, नाति पुस्तामा त्याे खस्किएकाे र उनीहरूबीच समान विजनेशनमा प्रतिस्पर्धा शुरू भएकाे जानकारहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.