काठमाडौंका करदातालाई स्वास्थ्य बीमामा ५० प्रतिशतसम्म अनुदान

  २०७९ असार ५ गते १८:१८     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरले करदातालाई स्वास्थ बीमामा ५० प्रतिशतसम्म अनुदान दिने भएको छ । महानगरको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र (बालेन) शाहले सो व्यवस्था मिलाउने बताएका हुन् ।

‘महानगरपालिकामा कर तिरेका करदाताहरुको स्वास्थ्य बीमा गर्न आवश्यक प्रबन्ध मिलाई बीमाशुल्कको बढीमा ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ,’ उनले भने ।

स्वास्थ्य सेवाको गुणस्तर र पहुँच अभिवृद्धि गर्न महानगर जनस्वास्थ्य ऐन जारी गरिनेछ । महानगरबासीहरुको स्वास्थ्य सेवा प्रवर्धन गर्न सहरी स्वास्थ्य क्लिनिकहरुलाई स्तरोन्नती गरी सहरी स्वास्थ्य केन्द्रमा रुपान्तरण गरिनेछ । शहरी स्वास्थ्य केन्द्र मार्फत महानगरबासीको नियमित स्वास्थ्य जाँचको ब्यबस्था मिलाइने उनले बताए ।

नागरिक आरोग्यता प्रबर्धन गर्न उपयुक्त आहार, बिहार, ध्यान, योग, प्राणायाम आदिवारे सचेतना कार्यक्रमहरु मार्फत महानगरबासीलाई निरोगी बन्न प्रोत्साहित गरिनेछ । क्यालोरीमा आधारित उपभोग प्रणाली लागू गर्न अग्रणी सेवा प्रदायक संस्थाहरु होटल, रेस्टुरेन्ट, भोजनालय र चमेनागृहलाई त्यस्तो कार्यमा प्राविधिक सहयोग उपलब्ध गराइने महानगरको नीति छ ।

काठमाडौं उपत्यका भित्र रहेका सरकारी तथा निजी अस्पतालहरुसंग समन्वय तथा सहकार्य गरी विशेषज्ञ चिकित्सक सेवामा सर्वसाधारण नागरिकको पहुँच वृद्धि गर्न आवश्यक व्यवस्था मिलाइनेछ । महानगरपालिका क्षेत्रभित्र स्थयी बसोबास गर्ने विपन्न नागरिकहरुको लागि अस्पतालमा निःशुल्क बेडको प्रबन्ध मिलाइनेछ ।

काठमाडौं महानगरपालिका भित्र एकीकृत एम्बुलेन्स सेवा संचालनको व्यवस्था मिलाइनेछ र महानगर क्षेत्रभित्र रहेका सबै प्रकारका स्वास्थ्य संस्थाहरुको अभिलेख व्यवस्थित गरिने  महानगरको नीति छ ।

एक विद्यालय एक नर्स र स्कुल सोसियल वर्कर कार्यक्रमलाई आवश्यकता अनुसार विस्तार गर्दै लगिनेछ र आयुर्वेद उपचार पद्धतिलाई प्रवर्धन गरी जनस्वास्थ्य सेवा अभिवृद्धि गरिने मेयर शाहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.