बजेटकाे सिलिङ नाघ्ने, कर्मचारीको तलब र आयकर सीमा बढ्ने, बृद्धभत्ता पाउने उमेर घट्ने

  २०७९ जेठ १५ गते १०:३६     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दैछ । अर्थमन्त्री जनार्दन शर्माले आज संघीय संसदको संयक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेका हुन् ।

नेपालको संविधानमा १५ जेठमा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार सरकारले आज बजेट सार्वजनिक गर्न लागेको हो ।

सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउँदा राष्ट्रिय योजना आयोगले तयार पारेको सीमाभन्दा केही बढीको तयार पारेको स्रोतले जानकारी दिएको छ । आयोगले १७ खर्ब ४६ अर्ब रुपैयाँको सीमा दिएको छ । तर, अर्थमन्त्रालयले करिब १८ खर्ब रुपैयाँ हाराहारीको बजेट तयार पारेको स्रोतले बतायो ।

बजेटमा स्रोतको व्यवस्थापनको लागि राजस्वको सीमा २० प्रतिशतले बढाउन लागिएको छ । सरकारले विगत वर्षहरुमा पनि करिब २० प्रतिशतकै दरले राजस्व बढाउने लक्ष्य राख्दै आएका थिए । यसरी राजस्वको लक्ष्य बढाउँदा राजस्वबाट करिब १३ खर्ब रुपैयाँ उठ्नेछ । बाँकी रकम वैदेशिक अनुदान, वैदेशिक ऋण, आन्तरिक ऋण र चालू आर्थिक वर्षको वचत रकमसमेत गरी सो रकम बराबरको रकमको व्यवस्था गरिनेछ ।

सरकारले चालू आर्थिक वर्षको प्रतिस्थापन बजेट १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको ल्याएको थियो ।

आयकर सीमा बढ्ने

सरकारले आगामी आर्थिक वर्षदेखि व्यक्तिगत आयकर सीमा बढाउने तयारी थालेको छ ।

हाल व्यक्तिगत तर्फ विवाहितका लागि वार्षिक ४ लाख ५० हजार र अविवाहितका लागि ४ लाख रुपैयाँ रहेको सीमा रहेको छ । उक्त सीमामा विवाहितका लागि १ लाख ५० हजार रुपैयाँ थप गर्दै वार्षिक ६ लाख रुपैयाँ र अविवाहितका लागि वार्षिक १ लाख रुपैयाँ थप गरी वार्षिक सीमा ५ लाख रुपैयाँ बनाइन लागिएको स्रोतले जानकारी दिएको छ ।

अब वार्षिक ६ लाख रुपैयाँ आम्दानी हुने विवाहित र वार्षिक ५ लाख रुपैयाँ आम्दानी हुने अविवाहितले आफ्नो वार्षिक आम्दानीमा १ प्रतिशत कर तिर्नुपर्ने हुन्छ । सामाजिक सुरक्षा कोषमा आवद्ध भएका व्यक्तिहरुले भने १ प्रतिशत पनि कर तिर्नु पर्दैन ।

अर्थ मन्त्रालय स्रोतका अनुसार व्यक्तिगत आयकरको सीमा बढेता पनि संस्थागत कर (कर्पोरेट ट्याक्स) र स्रोतमा कर कट्टी (टीडीएस) को दरमा हेरफेर भएको छैन ।

कर्मचारीको तलब बढ्ने

यस्तै, सरकारी कोषबाट तलब भत्ता खाने कर्मचारीको तलब बढ्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत कर्मचारीको तबल २ हजार रुपैयाँले बढाउन लागेको स्रोतले दाबी गरेको छ ।

बृद्धभत्ता पाउने उमेर घट्ने

सरकारले बृद्धभत्ता पाउने उमेर घटाउन लागेको छ । अहिले ७० वर्ष पुगेपछि बृद्धभत्ता पाउने व्यवस्था रहेकोमा यसलाई घटाएर सरकारले ६८ वर्षमा बृद्धभत्ता पाउने व्यवस्था गर्न लागेको छ ।

पूर्वाधारमा जोड

सरकारले बजेट मार्फत केही ठूला पूर्वाधार निर्माण सुरु गर्न लागेको छ । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हिजो संसदमा बोल्दै सरकारले ठूला परियोजना निर्माण थाल्ने जानकारी दिएका थिए । यसरी निर्माण सुरु हुने ठूला परियोजनामा बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना तथा केही सडक पूर्वाधार हुन सक्ने बताइएको छ ।

कृषिमा जोड

आगामी आर्थिक वर्षको बजेटमार्फत कृषिको आधुनिकीकरण, व्यवसायीकरण र उत्पादन बृद्धिमा विशेष जोड दिने कार्यक्रम ल्याउन लागिएको छ । विश्वभर नै खाद्य संकटको चर्चा चलिलरहेको तथा नेपाल विगतदेखि नै कृषिमा आधारित अर्थतन्त्र भएकोले कृषि क्षेत्रलाई विेशष जोड दिन लागिएको हो ।

लोकप्रिय कार्यक्रम धेरै

सरकारले आगामी आर्थिक वर्षमा संघ र प्रदेशको निर्वाचन गर्न लागेको छ । सो निर्वाचनको लागि आवश्यक बजेटको व्यवस्था मिलाएको अर्थमन्त्रालय स्रोतले जानकारी दियो । सरकारले आगामी निर्वाचनलाई ध्यानमा राखेर सकेसम्म सबैलाई खुसी पार्ने गरी लोकप्रिय कार्यक्रम धेरै नै राखेको स्रोतले जानकारी दियो ।

2 comments on "बजेटकाे सिलिङ नाघ्ने, कर्मचारीको तलब र आयकर सीमा बढ्ने, बृद्धभत्ता पाउने उमेर घट्ने"

  • c.k.shahi chandra kumar shahi says:

    GOOD NEWS IN THIS NEWS.

  • Lankaraj Sanjyal says:

    बेरोजगार युवा लाई सम्बाेधन खैत सरकार कर्मचारी काे मात्र तलब बढ्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.