दोहोरो अंकले बढ्यो सेयर बजार, तीन शीर्षकमा अपर तामाकोशीको अग्रता

  २०७९ जेठ ११ गते १५:३६     विकासन्युज

काठमाडौं । बुधबारको सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार पनि दोहोरो अंकले बढेको नेप्से परिसूचक बुधबार १४.३७ अंकले बढेर २२३१.५७ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६५ प्रतिशतले बढी हो ।

परिसूचक बढेको बजारमा कारोबार रकम भने घटेको छ । मंगलबार १ अर्ब ८ करोडको सेयर कारोबार भएको बजारमा बुधबार १ अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार २२६ कम्पनीको २६ लाख ९४ हजार ४२९ कित्ता सेयर खरिदबिक्री भएको छ ।

बुधबारको बजारमा अपर तामाकोशी हाइड्रोपावर विभिन्न ३ शीर्षकमा अग्रस्थानमा रहेको छ । कम्पनी कारोबार रकम, कारोबार कित्ता र कारोबार संख्याको आधारमा अग्रस्थानमा रहेको छ ।

बजारमा अपरको ८ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । संस्थाको १ हजार २२५ पटकको कारोबारमा १ लाख ५७ हजार १६७ कित्ता सेयर किनबेच भएको हो ।

बुधबार कम्पनीको अन्तिम कारोबार भने प्रतिकित्ता ५२९.९० रुपैयाँमा भएको छ । जुन अघिल्लो दिनको तुलनामा २१ रुपैयाँ अर्थात ४.१३ प्रतिशतले बढी हो ।

बजारमा बलेफी हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी प्रतिशतले सेयर मूल्य बढेको छ । पहिलो कारोबारमा कम्पनीको सेयर मूल्य ५.९२ प्रतिशतले बढेर प्रतिकित्ता ११०.९० रुपैयाँ पुगेको छ ।

सबैभन्दा बढी प्रतिशतले सेयर मूल्य घट्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ । बैंकको सेयर मूल्य ७.१३ प्रतिशतले घटेर प्रतिकित्ता ३९२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

बुधबार कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । जसमध्ये सबैभन्दा बढी अंकले बढ्नेमा निर्जीवन बीमा कम्पनी र कम अंकले बढ्नेमा म्यूचुअल फण्ड र होटलस् एण्ड टुरिजम रहेका छन् । निर्जीवन बीमा समूह १३४ अंकले बढेको छ भने म्यूचुअल फण्ड र होटलस् एण्ड टुरिजम दुबै ०.०७ अंकले बढेका छन् ।

सरकारले आगामी आर्थिक वर्षमा पुँजीबजारका नियामकको क्षमता अभिवृद्धि गर्ने, उत्पादनशिल क्षेत्रमा लगानीकर्ताको आकर्षण वृद्धि गर्ने तथा पुँजी बजार र बीमालाई उत्पादनसँग जोड्ने नीति लिएसँगै त्यसको सकारात्मक प्रभाव बजारमा परेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.