सबैलाई सेयर बजारबारे जानकारी दिन्छु, पालिकालाई नै ब्लूचिप बनाउँछु : अध्यक्ष तिवारी

  २०७९ जेठ ११ गते १३:११     विकासन्युज

काठमाडौं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश तिवारी निर्वाचित भएका छन् । निर्वाचित भएसँगै पालिकाको विकास गर्ने रोडम्यापको तयारमा तिवारी जुटेका छन् ।

तिवारी ५ हजार २३४ मत ल्याई अध्यक्ष पदमा निर्वाचित भए । पुँजी बजार जानकार तथा युवा लगानीकर्ता समेत रहेका तिवारी र्याडिसन होटल र हाथवे फाइनान्सका सञ्चालक हुन् । भ्रष्टाचाररहित प्रशासन तथा गुणस्तरीय विद्यालय शिक्षा र घरदैलोमा स्वास्थ्य सेवा कार्यकालको प्राथमिकता रहेको तिवारी बताउँछन् ।

गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका तिवारीले अगाडि गर्ने काम, योजना, पूर्वाधार विकासमा उनको सोच र पालिकाको विकाससँगसँगै सेयर बजारमा उनको आगामी यात्रा लगायत विषयमा केन्द्रित रहेर विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् :

अर्जुनचौपारी गाउँपालिका अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ, पहिलो काम केबाट सुरु गर्नुहुन्छ ?

अहिले गाउँपालिकाको समग्र विषयमा रहेर अध्ययन गर्दैछु । पालिकाको आवश्यकता तथा स्रोत साधन के हो, दीर्घकालीन महत्वको विषय के छ, कुन क्षेत्रमा कस्तो अवस्था छ भन्ने जस्ता विषयमा जानकारी लिँदैछु । स्थानीय तहले काम गर्न खोज्दै गर्दा अरू कारणले पनि परिणाम नआएको हुन सक्छ । यस्ता विषयको पहिला अध्ययन गरी ३ वटा श्रेणीबाट काम अगाडि बढाउँछु । अति आवश्यक र अल्पकालीन कामहरू तुरुन्तै गर्छु । दीर्घकालीन काममा समय लाग्ने र खर्च बढी लाग्ने गर्छ ।

खर्च गर्नको लागि पालिकाको स्रोत साधन र बजेटको बारेमा थाहा पाउनु जरुरी छ । दीर्घकालिन योजनाहरू अगाडी बढाउनेको लागि खर्चको व्यवस्थापन गर्न प्रदेश र केन्द्र सरकारको सहयोगको पनि आवश्यकता पर्छ । सो योजना पनि कसरी अगाडी बढाउने र अघिल्ला निर्वाचित जनप्रतिनिधिले सुरु गरेका योजनाहरू पनि कतिपय पुरा भएका छैनन् । ती कामको पनि अध्ययन गरी अगाडि बढाउनु पर्ने हुन्छ ।

गाउँपालिका अवश्य ब्लूचिप पालिकाका रूपमा बन्नेछ । नागरिकले सहज रूपमा स्वास्थ्य सेवा, शैक्षिक गुणस्तर, जसको आर्थिक अवस्था कमजोर छ, उसलाई सामाजिक सुरक्षा व्यवस्था गर्न र नागरिकका न्यूनतम आवश्यकता पुरा भएपछि पालिकालाई ब्लूचिपको रूपमा अगाडि बढाउने योजना बनाएको छु ।

देशभरका स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले पहिलो काम भनेर जनताबीच यो काम गर्छु भन्छन् । कतिले पानीको उद्घाटन गरेर पनि सुरु गरेको देखिन्छ । म सम्पूर्ण विषयको अध्ययन गरिसकेर मात्र प्रभावकारीदेखि महत्वकांक्षीसम्मका योजनाहरू अगाडि बढाउने छु ।

अर्जुनचौपारी गाउँपालिका ब्लूचिप पालिका बन्छ कि बन्दैन होला ?

गाउँपालिका अवश्य ब्लूचिप पालिकाका रूपमा बन्नेछ । नागरिकले सहज रूपमा स्वास्थ्य सेवा, शैक्षिक गुणस्तर, जसको आर्थिक अवस्था कमजोर छ, उसलाई सामाजिक सुरक्षा व्यवस्था गर्न र नागरिकका न्यूनतम आवश्यकता पुरा भएपछि पालिकालाई ब्लूचिपको रूपमा अगाडि बढाउने योजना बनाएको छु ।

झन्झट र भ्रष्टाचारमुक्त पालिकाको वडा प्रशासन बनाउने छु । पालिकाले दिने सेवा सुविधा जनतालाई सहज रूपमा प्रदान गर्नेछौं । शैक्षिक गुणस्तरसँगै सिकाइको कुराहरू पनि अगाडि बढाउने छौं । विद्यार्थीहरूलाई वित्तीय साक्षरता र सामान्य सेयर बजारको बारेमा पनि सिकाउछौं । प्राइभेट स्कुलभन्दा सरकारी विद्यालयमा विद्यार्थीको रोजाइको केन्द्र बनाउने सोचमा छु ।

पाँच वर्षभित्रमा गाउँपालिकाका अतिविपन्न परिवारको पनि वार्षिक आय एक लाख रुपैयाँसम्म हुने वातावरणको सिर्जना गर्ने छु । त्यसको लागि गाउँपालिकाले उनीहरूलाई सिप सिकाउने वा रोजगारी दिने जस्ता कुनै पनि तरिका बताएर भए पनि सो ठाउँसम्म पुर्याउछौं ।

तपाईं राम्रो अध्ययन र विश्लेषण क्षमता भएको पुँजी बजारको युवा लगानीकर्ता हो, अहिले राजनीतिमा होमिनु भएको छ, अब लगानीकर्ताको रूपमा पनि रहनु हुन्छ कि एक राजनीतिज्ञको रूपमा अघि बढ्नुहुन्छ ?

म राजनीतिमा लाग्दै गर्दै जब आफ्नो आवश्यकता पूरा गर्न सकिदैन, तब स्रोतको दुरुपयोग गर्नुपर्छ भन्ने बुझाइ थियो । म हिँड्ने, खाने, परिवार पाल्ने, छोराछोरी पढाउने खर्च मेरो स्रोतबाट जुटाउन सकिनँ भने पदको विरुद्ध गर्नु पर्याे । मानिसले सेवा सुविधाको भोग नगरी पनि बस्न सक्दैन ।

मेरा छोराछोरीलाई राम्रो पढाउँ, गाडी चढौं, राम्रो कपडा लगाऊ भन्ने मेरो पनि सोच हुन्छ । यसको लागि म पुरै समय राजनीतिज्ञ बने भने मेरो आम्दानीको स्रोत हुँदैन । सेयर बजारमा मेरो जीविकोपार्जन गर्नको लागि मैले गरेको लगानीबाट आउने अतिरिक्त आम्दानीको स्रोतले मलाई पुग्छ । अब कहिले काही फुर्सदमा गर्ने लगानी र त्यसबाट आउने रिटर्नले मेरो परिवारलाई एउटा स्ट्याण्डर्ड लाइफ जिउन पुग्छ ।

अहिले मैले सार्वजनिक पद धारण गरेको छु । त्यसबाट आर्थिक लाभ लिएर वा अनियमितता गरेर मेरो परिवार चल्नु पर्दैन भन्ने आत्मविश्वासका कारण म राजनीतिमा आएको हुँ । राजनीतिसँगै सेयर बजारको काम अगाडि बढाउने छु ।

मैले सेयर बजारमा दीर्घकालीन लगानी गरेको छु । राजनीति भनेर हिँडे भने मेरो आम्दानीको स्रोत पनि हुँदैन । अहिले म पहिला जस्तो सक्रिय भई लगानी गर्दिन । किनभने मलाई समय पुग्दैन । १० प्रतिशतभन्दा बढी समय सेयर बजारलाई दिन सक्दिन । त्यसकारणले गर्दा पनि मेरो पोर्टफोलियोलाई त्यही अनुसार म्यानेज गरेको छु । मैले लाभांश दिने कम्पनीहरू मात्र राखेको छु । त्यसले दिने र मलाई वार्षिक रूपमा कम्पनीहरुबाट आउने प्रतिफलले नै मलाई पुग्छ । सेयर बजारमा लागेको मान्छे २ मिनेट समय पाउँदा पनि परिसूचक हेर्ने मन लाग्दो रहेछ ।

तपाईं पुँजी बजारको सक्रिय लगानीकर्ता, अब गाउँपालिकाका नागरिकहरूलाई पनि सेयर बजार लगानी सिकाउने योजना बनाउनु भएको छ कि के गर्नुहुन्छ ?

पालिकाका नागरिकहरूलाई पनि सेयर बजारको बारेमा जानकारी दिने वा लगानी गर्न सिकाउने सोच बनाएको छु । यहाँ धेरैलाई सेयर बजारको बारेमा जानकारी छैन । जानकारी भएकाहरूले राम्रोसँग बजारको बारेमा बुझी लगानी गर्दै आएको र राम्रो प्रतिफल पनि प्राप्त गरेको पाइन्छ । पालिकाका बालबच्चालाई एक किसिमको सेवा शिक्षा, यहाँका बौद्धिक वर्गको लागि भिन्न तरिबाट सेयर बजारको बारेमा सिकाउने छु भने शैक्षिक योग्यता कम भएका मानिसहरूको लागि आईपीओको बारेमा सिकाउने योजना बनाएको छु ।

तपाईंलाई पुँजी बजारको अहिलेका अवस्था कस्तो लाग्छ ?

पुँजी बजार हो, घट्ने बढ्ने हुन्छ नै । अहिले बजार घटिरहेको अवस्था छ । नेपालको आर्थिक अवस्था नै संकटग्रस्त अवस्थामा छ भन्ने समाचारहरू सुन्छौं । अर्थतन्त्रको अवस्था सकारात्मक खालको देखिँदैन । त्यसकारणले पनि पुँजी बजारमा समस्या परेको देखिन्छ । देशको अर्थतन्त्र क्रमिक रुपमा सकारात्मक हुँदै गएपछि सेयर बजार पनि बढ्दै जान्छ । अर्थतन्त्रमा सुधार आएपछि मात्र सेयर बजार बढ्न थाल्छ । अर्थतन्त्र अब सुधार आउँदैछ भन्ने माहोलको सिर्जना भयो भने लगानी गर्न थाल्छन् र लगानी गर्दै जादा बजार पनि बढ्दै जान्छ । अहिले नै अर्थतन्त्रमा पनि सुधार आउँछ र बजार पनि बढी हाल्छ भन्ने अवस्था चाहिँ देखिँदैन ।

गाउँपालिकामा देख्नुभएको प्रमुख समस्या के हो ?

काठमाडौं बसेर गाउँका समस्या यस्ता छन् भन्नु र गाउँमा आएर गाउँका समस्याहरू बुझ्नुमा धेरै भिन्नता छ । काठमाडौंमा बसेर राजनीति गर्छु र गाउँ यस्तो बनाउँछु भनेर मैले बनाएको योजनाहरूमा रि-मोडलिङ गरिरहेको छु । पालिकाको आवश्यकता, जनचेतनाको स्तरदेखि यहाँ धेरै कुराहरू फरक छन् । यी कुराहरूको पूर्णरूपमा अध्ययन गरी समेटेर जाँदा राम्रो हुन्छ भन्ने हो ।

हामी काठमाडौंमा पानीको हाहाकार छ भन्ने बुझ्छौं । गाउँमा खोलानाला छन् । मेरो नै कार्यकक्षको नजिकै खोला छ । तर, त्यो खोलाभन्दा २० मिटर परका घरको मान्छेले पानी खान पाएको छैन । पाइपमा पानी लगेर खाने अवस्था छ । तर, पहिरो आएर पानीका पाइप बगाइदियो भने पानी खान कहाँ जाने भन्ने अवस्था छ ।

योजना नबनाई अन्दाधुन्द डोजर चलाएर यहाँ सडकको निर्माण धेरै भएका छन् । २/३ किलोमिटर सडक खनेर २/३ वटा घरमा पुर्याएका छौं । त्यस्ता सडकहरूलाई पिच गर्न सक्ने अवस्था रहँदैन । अव्यवस्थित रूपमा पालिकामा बाटोहरू खनिएका छन् । बस्तीलाई एकीकृत गर्नतर्फ लागेका नै छैनौं ।

गाउँपालिकाको मूल समस्याको रुपमा बसाइसराई रहेको छ । अहिले विकास हामीले गर्दै गर्याें भने पनि गाउँगाउँमा विकास पुग्ला । तर गाउँगाउँमा मान्छे हुने अवस्था छैन । पढेका लेखेका मान्छेहरू काठमाडौं, पोखरा लगायतका अन्य ठाउँ जान्छन् । त्यहाँबाट पनि विदेश जान्छन् । युवा जनशक्ति सबै खाडी मुलुकमा छन् । गाउँमा गयो भने राम्रो राम्रो घरहरू सबै खाली छन् । गाउँमा वृद्धा, बालबालिका र महिलाबाहेक खासै देखिँदैन । यहाँको मूल समस्या नै यही हो ।

गाउँमा शिक्षाको स्तर एकदमै कमजोर छ । मादक पदार्थ सेवन गरी स्कुलमा पढाउने शिक्षक गाउँमा अझै छन् । विद्यालयमा पढाउने शिक्षकले पुरै समय राजनीति गर्छन्, पढाउँदैनन् । कर्मचारीहरु नै राजनीति गर्छन् । पालिकामा समस्या धेरै छन् । समस्याको समाधान गर्दै अगाडि बढ्ने छौं । यहाँ नागरिकहरुका इच्छा आकाङ्क्षाहरु धेरै छन् ।

अहिले गाउँ, गाउँ जस्तो रहेन । पहिला पहिला गाउँमा विकास गर्ने मान्छे आउँदा हामी आफैले लागिपरेर भए पनि काम गर्थ्यौं । अहिले गाउँमा कुनै केही कार्यक्रम लिएर गयो भने सबैभन्दा पहिला कति पैसा आउँछ भन्छन् गाउँका मान्छेहरू । घर अगाडिको नाली एउटा ढुङ्गा खसेको छ, त्यो चाहिँ गाउँपालिका वा सरकारले फलिदिए हुन्थ्यो भन्छन् । पानीको पाइप बगायो भने पहिला गाउँका मान्छे नै जान्थे, अहिले गाउँका मान्छे जान छोडिसके । हामी आफैले गर्ने हो भन्ने खालको सोच चाहिँ हराउँदै गएको र गाउँमा गाउँले प्रवृत्ति हराउँदै गएको आयतिक बजारे प्रवृत्ति हाबी हुँदै गएको देखिन्छ यहाँ ।

सार्वजनिक सेवा प्रवाहलाई कसरी प्रभावकारी बनाउनु हुन्छ ?

‘हामी शासक हैन, सेवक बन्ने छौं’ भन्ने मेरो मूल नारा हो । धेरै निर्वाचित जनप्रतिनिधिको मनोविज्ञान के छ भने अब म भयंकर ठूलो मान्छे भएँ, मलाई जनताहरूले मान्नुपर्छ भन्ने खालको छ । जनताको सेवाको लागि हामी जनप्रतिनिधिहरू सधै खटिने छौं ।

जनतालाई अनावश्यक र शैक्षिक योग्यता छैन भनेर दुख दिने नियतले कुनै कर्मचारीले नियतवश काम गर्छ भन्ने त्यस्ता कर्मचारीलाई म आफै गएर प्रतिवाद पनि गर्छु । र, जागिरको हस्तक्षेप पनि गर्छु । पर्यटन प्रवर्द्धन, खानेपानी तथा सरसफाइको उचित व्यवस्थापन तथा समतामूलक समाजको निर्माण गर्ने प्रतिबद्धता जनता सामु गरेर अगाडि बढेको छु ।

अघिल्ला निर्वाचित अध्यक्षले पालिकामा कस्तो काम गरेको पाउनुभयो ?

उहाँहरुले कति पनि काम गर्नुभएन भन्दिनँ । विकास भन्ने बित्तिकै सडक हो भन्ने मात्र भयो । तर, नागरिकले चाहेको सडक मात्रै हैन । स्थानीयको समस्यालाई बुझेर उहाँहरूले काम गर्न सक्नु भएको छैन । बजेट पास नै नगरी बजेट बाढेको देखिन्छ । पैसा गएको देखिन्छ तर त्यसको उपलब्धी भने छैन । करोडौं लगानी गरेर बनेका परियोजनाहरू अलपत्र अवस्थामा छन् । भ्यूटावरमा हाम्रो पनि पालिकाको लगानी छ । खर्चको आवश्यकता नभएको ठाउँमा पनि खर्च भएको देखिन्छ ।

One comment on "सबैलाई सेयर बजारबारे जानकारी दिन्छु, पालिकालाई नै ब्लूचिप बनाउँछु : अध्यक्ष तिवारी"

  • Janata says:

    श्री पालिका अध्यक्ष ज्यू,
    पालिकाका जनता सबैलाई सेयर बजारमा सहभागी गराउनुस । अब, अर्जुनचौपारीका जनताले कुनै पनि व्यवसाय, उद्यम र जागीर गर्नु पर्दैन, फुलटाईमर सेयर कारोबारी बनाई सबैलाई करोडपति बनाउनुुस । बरु, सकिन्छ भने, अर्जुनचौपारी स्टकएक्सचेन्ज खोल्ने तयारी गरौं । पालिका त्यसै समृद्ध भै हाल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.