बजारमा पेट्रोलको अभाव

  २०७९ जेठ ९ गते १२:५९     विकासन्युज

काठमाडौं । सरकारले घोषणा गरेको शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक विदाका असर पेट्रोलियम पदार्थमा देखिएको छ । सरकारको घोषणा अनुसार नेपाल आयल निगमले दुई दिन डिपो बन्द गर्दा त्यसको असर इन्धनमा देखिएको हो ।

शनिबार र आइतबार दुई विदा दिन निगमले देशभरका डिपोहरु बन्द हुँदा सोमबार काठमाडौं उपत्यका सहित देशका अधिकांश स्थानमा इन्धनको अभाव भएको व्यवसायीहरूले बताएका छन् ।

निगमले दुई दिने डिपो गर्दा सोमबार बिहानैदेखि काठमाडौं उपत्यकामा सञ्चालित अधिकांश निजी पम्पहरु बन्द भएका छन् । पम्पमा इन्धन नभएपछि सूचना नै टाँसिएको छ ।

पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले भने निगमले मागेजति पेट्रोलियम पदार्थ नदिँदा पम्पमा तेल नभएको बताएको छ । महासंघका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानले निगमले तेल कम दिँदा र दुई दिने विदाका कारण तेलको अभाव भएको बताए ।

‘सरकारले गरेको घोषणा अनुसार आइतबार निगमका सबै डिपोहरु बन्द भए, शुक्रबार हामीले मागेभन्दा निकै कम मात्रामा इन्धन दिएको कारण धेरै पम्पहरुमा तेल सकिएको हो’, उनले भने ।

मागभन्दा निकै कम ढुवानी र दुई दिन विदाका कारण काठमाडौं उपत्यकामा सञ्चालित धेरै पम्पमा तेल अभाव भएको उनको भनाइ छ ।

मागेजति ढुवानी भएको छ : निगम

पेट्रोलियम पदार्थ सकिएको पम्पहरू बन्द हुँदा निगमले भने व्यवसायीले मागेजति नै ढुवानी गरिएको दाबी गरेको छ । निगमका प्रवक्ता विनितमणी उपाध्याय दुई दिन सार्वजनिक विदाका कारण केही पम्पहरूमा तेल सकिएको बताउँछन् ।

‘शुक्रबार हामीले व्यवसायीले मागेजति नै पेट्रोलियम पदार्थको ढुवानी गरेका हौँ, शनिबार र आइतबार दुई दिन हाम्रा डिपोहरु बन्द भए, त्यही कारण अहिले विहान केही पम्पहरुमा तेल सकिएको हुनुपर्छ, आज विहानैदेखि इन्धन ढुवानी सुचारु भैसक्यो, अवस्था सहज हुन्छ’, उनले भने ।

उनले मौज्दात क्षमता कम भएका केही पम्पमा तेल सकिएको भएता पनि धेरै पम्पहरु सुचारू नै रहेको जानकारी आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.