वैशाखदेखि हुने भनिएको नागढुङ्गा-मुग्लिन सडकखण्ड विस्तार तत्काल नहुने

  २०७९ जेठ ६ गते १०:३९     राजिव न्यौपाने

काठमाडौं । नागढुङ्गा–मुग्लिङ सडक खण्ड विस्तारको काम तत्कालै सुरु नहुने भएको छ । वैशाखबाट सुरु हुने भनिएको सो काम तत्कालै सुरु नहुने भएको हो ।

वर्षाको समय नजिकिएको कारण अहिले नै सडक विस्तारको काम गर्न नसक्ने सडक विभाग अन्तरगतको विकास सहायता कार्यान्वयन महाशाखाका वरिष्ठ डिभिजनल इन्जिनियर त्रिलोक घिमिरेले जानकारी दिए ।

सडक विस्तार गर्ने काम नागढुङ्गादेखि नौबिसेसम्म जियाङसु–सगुनले र नौबिसेदेखि मलेखुसम्म शर्मा–लामा–जेडआइसीजी जेभी कम्पनीले ठेक्का पाएको छ ।

इन्जिनियर घिमिरेका अनुसार सडकको सर्भे गरेर वर्षाको समयपछि सडक विस्तारको काम अगाडि बढ्ने छ । वर्षाको समय अगाडि सडक विस्तार नगर्नु पर्ने ठाउँमा नाली नगाउने काम हुने उनले जानकारी दिए ।

प्रोजेक्टको प्रक्रिया सुरु भई फिल्ड मोभिलाइज्ड गर्ने काममा समय लागेको पनि घिमिरेले बताए ।

‘हाल नाली, साइड कटिङ, सर्भे काम हुन्छ, सर्वेको काम नभईकन अरू काम हुँदैन, फिल्डमा मानिसहरुले काम देख्दैनन्, सर्भेको काम मात्र देख्छन्,’ उनले भने ।

तीन खण्डमा विभाजन गरी सडक विस्तारको काम सुरु हुनेछ । विकास सहायता कार्यान्वयन महाशाखाले पहिला नागढुङ्गा–नौबिसे र नौबिसे–मलेखु गरी दुई प्याकेजमा ठेक्का लगाएको हो ।

‘दुई प्याकेजको काम अर्को महिनाबाट सुरु हुन्छ, तेस्रो मलेखु–मुग्लिङ प्याकेजको आर्थिक प्रस्ताव नै माग्न बाँकी नै छ, आर्थिक प्रस्ताव माग्नको लागि प्राविधिक प्रस्ताव स्वीकृत गरेर विश्व बैंकमा पठाएका छौं, उक्त बैंकले कुनै आपत्ति छैन भन्ने बित्तिकै आर्थिक प्रस्ताव माग्छौं, यसको सम्झौता पनि छिटै हुन्छ,’ उनले भने ।

सडक विस्तारको लागि पहिलो खण्ड नागढुङ्गा–नौबिसेमा १ अर्ब ३१ करोड रुपैयाँ र नौबिसे–मलेखु खण्डको लागि ५ अर्ब ३३ करोड रुपैयाँ बजेट छ । निर्माण सुरु भएको पहिलो प्याकेजलाई २ वर्ष र दोस्रो प्याकेजलाई ३ वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य छ ।

‘सुरुमा ठेकेदार र परामर्शदाता आइसकेपछि पुन संयुक्त सर्भे गर्नुपर्छ, त्यो सर्भेमा हालको अवस्था, स्टक्चरहरु नोट गर्नको लागि लाइन लेबल फेरि नयाँ फिक्सड गर्नुपर्छ, त्यो काम गर्नको लागि अझै १÷२ महिना लाग्छ,’ उनले भने ।

अहिले सडक विस्तार गर्ने काम सुरु भयो भने यातायात सेवा अवरुद्ध र बाढि पहिरोका कारण बढी खर्च हुने भएकाले तत्काल काम सुरु गर्न नसकिएको घिमिरेले जानकारी दिए । सो काम भदौबाट सुरु हुने विकास महाशाखाको भनाइ छ ।

१६ करोड मुआब्जामा खर्च

सो सडक विस्तार गर्दा १६ करोड ३८ लाख ५२ हजार रुपैयाँको मुआब्जा वितरण गर्नुपर्ने भएको छ । सडक विस्तारको लागि १२.६३ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ । सो जग्गाको अधिग्रहण गर्नको लागि मात्रै ५० लाख ५३ हजार रुपैयाँ खर्च हुने घिमिरेले बताए ।

त्यस्तै, सो सडकमार्गमा ७६ वाट निजी संरचना र ९ वाट सार्वजनिक संरचना पर्छन् । निजी संरचनाको जम्मा १५ करोड ६१ लाख र सार्वजनिक संरचना मा २७ लाख गरिजम्मा १५ करोड ८८ लाख रुपैयाँ घर टहराको मुआब्जा तिर्नु पर्ने हुन्छ ।

सम्बन्धित समाचार

नागढुङ्गा–मुग्लिङ विस्तारको काम वैशाखदेखि, ठाउँ अनुसार फरक लेन 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.