‘गभर्नर इज नट वेलकम इन फाइनान्स मिनिस्ट्री’ भन्ने सुनेको छु – सांसद सिलवाल

  २०७९ जेठ ५ गते १७:४२     विकासन्युज

काठमाडौं । एमाले नेता तथा सांसद नवराज सिलवालले आफुले ‘गभर्नर इज नट वेलकम इन फाइनान्स मिनिस्ट्री’ भन्ने सुनेको बताए । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिलवालले सो कुरा बताएका हुन् ।

संसदमा बोल्दै उनले भने, ‘मेरो विचारमा अर्थमन्त्रीको सबैभन्दा नजिकको सल्लाहकार भनेको राष्ट्र बैंककै गभर्नर हो । तर अहिले के छ भने ‘गभर्नर इज नट वेलकम इन फाइनान्स मिनिस्ट्री’ भन्ने कुरा मैले सुनेको छु । गभर्नरको अनुहार उहाँलाई मन नपर्ने, गभर्नरसँग नभेट्ने जस्तो स्थितिले यो अर्थतन्त्रलाई अगाडि बढाउने सवालमा अर्थमन्त्रीलाई कुन खालको परिस्थितिको सामना गर्न पर्ने हो ? यो सवालमा चाहिँ उहाँले गभर्नरसँग मिलेर राष्ट्रको हितमा अर्थतन्त्रलाई अगाडि बढाउने सवालमा हाम्रो समृद्धिका आकांक्षाहरुलाई अगाडि बढाउँदा टिम वर्कका साथ अगाडि बढ्नु पर्दछ भन्ने एउटा सुझाव चाहिँ म राख्न चाहन्छु ।’

साथै, सांसद सिलवालले नेपालको अर्थतन्त्र इतिहासकै संकटग्रस्त मोडमा भएको बताउँदै अर्थमन्त्रीले यस्तो चुनौतीपुर्ण अवस्थामा अर्थतन्त्रलाई अगाडि बढाउने सन्दर्भमा कस्ता खालका सल्लाहकार र टिम निर्माण गर्नुभएको छ भनेर चाहिँ प्रश्न गर्न मन लागेको बताए । सिलवालले भने, ‘संकटग्रस्त अफगानिस्तानपछिको दोस्रो गरिब मुलुक नेपाल हो, हामी चारैतिरबाट अर्थतन्त्रलाई अगाडि बढाउने सवालमा अहिलेको गठबन्धन सरकारले जुन ढंगले लाइट्ली सिचुयसनलाई लिएको छ, यसले त फेरि जहाज डुब्ने त होइन भन्ने अवस्था मैले देखिरहेको छु ।’

अहिले श्रीलंकाको सन्दर्भमा जोडेर संसारका विज्ञहरुले भनेको प्रसंग जोड्दै सिलवालले संसारका ७५ वटा मुलुकहरु श्रीलंकाको बाटोमा जाँदै गरेको बताए । साथै, नेपाल पनि त्यसमा पर्छ भनेर विश्व बैंक र अन्तर्राष्ट्रिय विज्ञहरुले भनिरहेको अवस्था छ । त्यसको लागि हामीले अब श्रीलंकाबाट पाठ सिक्नुपर्यो । त्यसको लागि अर्थमन्त्रीले छलफल गर्नुभएको छ कि छैन भनेर प्रश्न गरे । श्रीलंकाको विदेशी मुद्राको सबैभन्दा ठुलो स्रोत रेमिट्यान्स, दोस्रो पर्यटन र तेस्रो चाहिँ निर्यात भएको बताउँदै सिलवालले अहिले त्यहाँ ती सबै कुराहरुको अवस्था अहिले नकरात्मक रहेको बताए ।

सिलवालका अनुसार अहिले रुस र युक्रेन युद्धको कारणले विश्वव्यापी रुपमा नै मुद्रस्फिति बढेको छ । तेलमा मूल्य बढेको छ । सरकारले विकसित परिस्थितिलाई कसरी लिएको छ भन्ने उनको प्रश्न थियो । साथै, उनले अर्थमन्त्रीले पेश गरेको प्राथमिकता र सिद्धान्तहरु हेर्दा राम्रै देखिएको बताए । तर, आज अर्थतन्त्रको चारवटै पिलरहरु सार्वजनिक वित्त, पुँजीबजार, बाह्य व्यापार र भुक्तानी सन्तुलन धर्मराइरहेको अवस्थामा सरकारले प्रस्तुत गरेको दृष्टिकोण गत वर्षहरुकै रिपिटेसनका रुपमा आएको र समाधानमुखी नभएको सिलवालको धारणा थियो ।

One comment on "‘गभर्नर इज नट वेलकम इन फाइनान्स मिनिस्ट्री’ भन्ने सुनेको छु – सांसद सिलवाल"

  • Janata says:

    नेपालको संघिय संसदमा पनि अब बालेन साहहरुको आवश्यकता देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X