मतपत्र छाप्दा पाठ्यपुस्तक छपाईमा ढिलाइ, विद्यार्थीलाई पढाउन समस्या

  २०७९ जेठ ५ गते ११:२८     विकासन्युज

काठमाडौं । सरकारले पाठ्यपुस्तक छपाईमा गरेको ढिलासुस्ती र हेलचेक्राँइले देशभरका माध्यामिक तहसम्म अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ ।

जेठ ५ गतेबाट नै शैक्षिक सत्र शुरु हुने भएपनि पाठ्यपुस्तक छपाई र वितरण हुन नसक्दा विद्यार्थी कसरी पढ्ने भन्ने अन्योल सिर्जना भएको हो । विशेष गरी कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यपुस्तक सरकारले लागू गरेको छ । तर अहिलेसम्म पनि छपाई कार्य पूरा नहुँदा विद्यार्थी र शिक्षकहरुमा अध्ययन, अध्यापन कसरी गर्ने भन्ने अन्यौलता छाएको छ । स्थानीय निर्वाचनको तयारीमा सरकार लिप्त रहनु र शैक्षिक क्षेत्रमा आवश्यक चासो नराख्नुले जेठ पहिलो सातासम्म पनि विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक उपलब्ध हुन नसकेको अध्यापकहरु बताउँछन् ।

अबका ३ महिनासम्म पनि विद्यार्थीहरुले पाठ्यपुस्तक पाउने सम्भावना नरहेको अध्यापकहरुको बुझाइ छ । विश्व निकेतन माध्यामिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेलले सरकारले शैक्षिक क्षेत्रमा हेलचेक्राँइ गरेर लाखौँ बालबालिकाहरुको भविष्यमा अन्योल पैदा गरेको बताए । प्रधानाध्यापक कडेलले कक्षा १ देखि १० सम्मकै पाठ्यपुस्तकहरु नछापिएकोले विद्यार्थीहरुले पढ्न पाउने अधिकारबाट वञ्चित हुनुपर्ने स्थिति आएको बताए ।

पाठ्यपुस्तक नभएपछि पाठ्यक्रमको आधारमा पठनपाठन गर्ने र अग्रज विद्यार्थीहरुका पुस्तक मागेर नयाँ विद्यार्थीहरुलाई दिने योजना विद्यालयको योजना छ । तर नयाँ पाठ्यपुस्तक लागू हुने कक्षाका लागि भने विद्यालयले पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइटमा जुन सफ्ट कपि डाउनलोड गरी विद्यार्थीहरुलाई तत्कालका लागि पठनपाठनको व्यवस्था मिलाउने बताए ।

शहरी क्षेत्रमा क्षणिक समाधानका लागि यो उपायले काम गरेपनि दूरदराजका क्षेत्रहरुमा यो उपाय सही साबित हुन सक्दैन । जसकारण पनि शिक्षविद्हरुले आगामी दशैँसम्म दुर्गमका विद्यार्थीहरुले पाठ्यपुस्तक बिना नै अध्ययन गर्नुपर्ने बाध्यता रहेकोप्रति सरकार गम्भीर बन्न सुझाएका छन् । प्रधानाध्यापक कडेलले कक्षा ४, ७ र ९ को नयाँ किसिमको पाठ्यपुस्तकहरु लागू भएकोले यी कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुलाई अध्यापन गराउन समस्या भएको बताए ।

‘नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्ष जेठ ५ गतेबाट पठनपाठन शुरु गर्ने, वैशाख महिनाभर परीक्षा, नतिजा प्रकाशन, भर्ना प्रक्रियाहरु गर्ने भनेको थियो । हामीले जेठ ५ गतेदेखि नियमित पठनपाठन गर्ने योजना बनाएका थियौँ । यसबेला पाठ्यपुस्तक छैन । जसकारण हामी सबै अन्योलमा छौँ । कक्षा १ देखि १० सम्मकै पाठ्यपुस्तक छैन । स्थानीय तहको जुन निर्वाचन भयो, त्यो निर्वाचनको लागि मतपत्र छपाइका कारणले हामीले पाठ्यपुस्तक छपाउन सकेनौँ, डेढ, दुई महिना ढिलो हुन्छ भनेर जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले भनेको छ भनेर पुस्तक पसलेहरु भन्नुहुन्छ, उनले भने ।

प्रधानाध्यापक कडेलले सरकारले यो वर्ष निर्वाचन हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि पाठ्यपुस्तक छपाईमा हेलचेक्राँइ गरेको बताए ।  निर्वाचनलाई केन्द्रमा राखेर काम गरेको सरकार विद्यार्थीहरुको भविष्य र शिक्षाप्रतिको दायित्वबाट पन्छिएको आरोप उनले लगाए ।

कोरोनाका कारण गत दुई वर्ष पनि शैक्षिक क्षेत्रमा अपूरणीय क्षति पुगेको र अहिले अवस्था सामान्य बन्दै गएको बेलामा सरकारले समयमै विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक पु¥याउन नसक्नु शैक्षिक क्षेत्रका लागि नै दुःखको कुरा भएको उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.