निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

  २०७९ जेठ ५ गते १०:००     विकासन्युज

काठमाडौं । नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ । गत बैशाख महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिकाे आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको छ ।

गत बैशाख महिनासम्ममा नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३१.९८ प्रतिशतले वृद्धि भएको देखिन्छ । २७ वाणिज्य बैंकहरुमध्य १९ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्घि भएको छ भने ८ वटा वाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ । वाणिज्य बैंकहरुको औसत निक्षेप वृद्धि ६.२३ प्रतिशत रहेको छ ।

त्यसैगरि २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्धि भएको छ । औसतमा वाणिज्य बैंकहरुको कर्जा विस्तारमा १७.४३ प्रतिशतले वृद्धि भएको देखिन्छ । बैशाख मसान्तसम्मा बाणिज्य बैंकहरुसंग कुल निक्षेप ४३ खर्ब ६९ अर्ब रुपैयां पुगेको छ भने कुल कर्जा प्रवाह ४१ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्क अनुसार यस अवधिमा १८ वटा वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सिमा ९० प्रतिशत भन्दा बढि रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) भने राष्ट्र बैंकले तोकेको सिमाभित्र नै (८९.६५ प्रतिशत) रहेको छ । औसतमा वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.८८ प्रतिशत रहेको छ ।

नेपाल अधिराज्यभर २१३ शाखाहरु, १७० एटिएम मेसिन साथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.