पुँजी थप्दा बीमा कम्पनीको प्रतिफल ४/५ प्रतिशतमा झर्छ

  २०७९ जेठ ५ गते १३:०३     मनोहर दास मूल

अहिले बीमा समितिले बीमा कम्पनीहरूलाई पुँजी बढाउनका लागि ताकेता गरिरहेको छ । जब बीमा समितिबाट पुँजी वृद्धिको निर्देशन आयो, कम्पनीहरूबीच पनि छलफलमा भयाे । पुँजी वृद्धि के हो ? हामीले बुझेनौं भनेर हामी समितिमा पनि गयाैं । उहाँहरुले पनि त्यतिबेला तपाईंहरूले हामीलाई पुँजी वृद्धि योजना दिनुस्, त्यसपछि पुँजी वृद्धि योजना हेरेर हामी कसरी अगाडि बढ्ने भनेर सही निर्णय गर्छौं भन्नुभयो । त्यही अनुरुप हामीले क्यापिटल प्लान पनि बुझाऔं। पुँजी वृद्धिको औचित्य के हो  ? भनेर कम्पनीहरूको सल्लाह  भएको थियो । पुँजी वृद्धि आवश्यक छ की छैन ? पुँजी वृद्धि गरेर त्यसको फाइदा नोक्सान के हुन्छ ? भन्ने कुरामा हाम्रो धेरै सल्लाह गरेका छौं । पुँजी थपेर वा हकप्रद सेयर जारी गरेर कुनै प्रतिफल हुने देखिएन । नगद थप गरेर थप रिटर्न हुने देखिँदैन भनेर समितिले नै भनेकाे छ । हामी कम्पनीहरूले पनि अहिलेको समयमा पैसा थप गरेर बिजनेस जस्टिफाई हुँदैन भन्नेमा छौं ।

जति बिजनेस हुन्छ, त्यो अनुसार लगानी हुनुपर्छ । कुल प्रिमियम संकलनभन्दा पनि २० वटा कम्पनीको ५० अर्बको क्यापिटल हुने भयो । जुन बढी पुँजीकरण हुन जाने भयो । जुन बीमाकोष छ, जहाँ हरेक वर्ष नाफाको ५० प्रतिशत जम्मा हुन्छ, त्यो सेयरधनीको पुँजी नै हो । त्यसलाई नै चुक्ता पुँजी मान्नु पर्यो भनेर हामीले समितिसँग प्रस्ताव गरेका छाैं । यसाे गर्दा पुरानो कम्पनीहरुले धेरै पैसा थप्नु पर्दैन । नपुग पैसा हामी एक वर्षभित्रमा थप्छौं भनेका थियौं । अधिकांश कम्पनीले पहिलो विकल्पमा यहि राखेका छन् ।

दोश्रो विकल्पमा हामीले ४ वर्षको बोनस वा हकप्रद सेयर दिने भनेका थियौं । त्यसपछि समितिले पुनः अन्तक्रियामा बोलायाे । जसमा समितिले मुख्य उद्देश्य मर्जरमा नै जाउ भन्ने छ । समितिले कम्पनी संख्या घटाउनको लागि नै पुँजी वृद्धि गर भनेकाे छ । हकप्रद शतप्रतिशत जारी गर्न नदिने । प्रत्यक्ष रुपमा मर्जर नै गर भन्ने उद्देश्य छ । तर, कुरा के आयो भने अहिले २० वटा निर्जीवन बीमा कम्पनीको छ । जसमा कसैको पुँजी पुगिसकेको छ । २० वटा कम्पनी धेरै भयाे भन्ने उहाँहरूकाे धारणा छ। यहि ४ वर्ष अगाडि बीमा समितिबाटै तीन वटा नयाँ लाइसेन्स दिएको थियो । त्यतिबेला तपाईंहरुको पहुँच पुगेको छैन, अझ कम्पनी थप्नुपर्छ भनेर समितिले भनेकाे थियाे । अहिले ४ वर्षपछि आएर उहाँहरुले (समिति) फेरि कम्पनी थोरै भयो, संख्या घटाउनु पर्‍याे ।

पुँजी वृद्धिको औचित्य

पुँजी वृद्धि हुने/नहुने भन्ने भएन । तर, पुँजी वृद्धिको औचित्य के हो भन्ने हो । बीमा समितिले जोखिममा आधारित पुँजी (रिक्स बेस क्यापिटल) मा जाने भनेकाे छ । यसमा जान तपाईं जति काम गर्नुहुन्छ । त्यति बढी जोखिम लिनुहुन्छ । त्यसमा पुँजी हुनुपर्यो । त्यो थाम्नुपर्यो । भोलि मैले ठूलो काम गर्नु पर्‍याे भने ठूलो लगानी गर्नुपर्‍याे । जोखिम धेरै लिनु पर्‍याे । होइन मलाई यति नै ठीक छ भने त्यसैमा सीमित रहनु पर्‍याे । रिक्स बेस क्यापिटलमा जान हामी तयार छौं । जो व्यक्तिले व्यापार बढाएर जान्छ उसले पुँजी बढाउँछ । बढ्छ बढ्दैन भन्दा पनि पुँजी बढाउने औचित्य के हो ? व्यापार बढेपछि स्वचालित रुपमा पुँजी बढाउँदै जाऔंला । समितिले रिक्स बेस क्यापिटलमा जाने भनेकाे छ, र फेरि न्यूनतम पुँजी पनि राख्ने भनेकाे छ ।

पहिले त कति कम्पनीहरू हुँदा ठीक हो भन्नेको अध्ययन हुनु पर्‍याे । अहिले २० वटा छ, १० वटा ठीक हो की ५ वटा हो की । बजारमा कति वटा ठीक हुन्छ भन्ने कुराको अध्ययन हुनु पर्‍याे । १० वटा कम्पनी नै भएपनि त्यहाँ अस्वस्थ प्रतिस्पर्धा नहुने भन्ने छैन । मर्जरमा जाने कुरामा नियामक निकायले बाध्य पारेपछि जानै पर्‍याे । तर, मर्जरमा जाने भन्ने कुरा त्यति सजिलो छैन । एउटा कम्पनीमा दुईवटा मिल्नलाई बीमामा धेरै विषयहरू छ । बैंक तथा वित्तीय संस्था जस्तो पनि होइन । यहाँ हरेक कम्पनीको आउटस्ट्याडिङ् क्लेम (तिर्न बाँकी दावी) छ । त्यो दावी आज पर्‍याे भने आजै निर्णय हुँदैन । समय लाग्छ । जस्तै, आज बाढी गएर हाइड्रोपावर डुब्यो । उसले मेरो ५० करोडको नोक्सानी भयो भन्यो । तर, कम्पनीले ४० करोडको अनुमान गरेको हुन्छ । भोलि त्यो घटेर २० करोड या बढेर ६०/७० करोड पनि हुन सक्छ । त्यसैले कुनै पनि कम्पनीको तिर्न बाँकी दाबी यति नै हो भनेर एकिन गर्न गाह्रो हुन्छ ।

मर्जरमा जान आवश्यक छैन

व्यक्तिगत रुपमा भन्नु पर्दा कम्पनीहरुलाई मर्जर आवश्यक छैन । आज २० वटा कम्पनी छ भोलि १० वटा भएपनि प्रतिस्पर्धा एउटै हुन्छ ।  धेरै कम्पनी भएपछि धेरै अन्योल भयो भने समितिकाे बुझाइ छ। कम भयो भने बजार नियन्त्रण गर्न सकिन्छ भन्ने हो । यो पनि उहाँहरू (समिति)को तर्फबाट ठिकै होला । तर, अहिलेको कम्पनीलाई मर्जरमा जाउ भन्नलाई सजिलो छैन । कर्मचारीहरु कसरी मिलाउने । तिर्न बाँकी दावीहरु कसरी मिलाउने । भन्दैमा गर्न सकिने छैन । धेरै लफडा आउन सक्छ ।

मर्जरमा गएर २ वटा कम्पनी जोडेपछि झन राम्रो हुन्छ भने हामी जान तयार छौं । तर, २ कम्पनी जोडेर झन् खराब हुने भो भने त्यो नराम्रो हुन्छ । बैंक अफ काठमाण्डू (बीओके) को केसमा उहाँहरु बीओके र लुम्बिनी बैंकको मर्जर गर्नुभयो । पहिले बीओके टप ५ मा थियो । पछि आएर मर्ज गरेपछि लोवेस्ट बटम ५ मा उहाँहरु हुनुहुन्छ । मर्ज गर्दैमा राम्रो हुन्छ भन्ने होइन ।

हकप्रद सेयर जारी गर्न नदिने नै भनेकाे छ । दिए पनि औचित्य नै छैन । क्यापिटल प्लानको प्रस्तावमा हामीले पुँजी बढाउनुको औचित्य नै छैन भनेका थियौं । दोश्रो विकल्पमा, नियामक निकायले भनेपछि गरौं । तर, बीमाकोषलाई पुँजी मानौं भनेका थियौं । त्यो गर्दा २० प्रतिशत फरक आउँथ्यो । त्यसको हकप्रद सेयर जारी गरौं भनेका थियौं । त्यो पनि मान्य भएन भने ३/४ वर्ष समय दिनु बोनस र हकप्रद गरेर पुँजी पुर्याउँछौं भन्ने प्रस्ताव थियो ।

लगानी प्रतिफल राम्रो छैन

अहिले बीमामा भएको लगानीको प्रतिफल नै राम्रो छैन । जति प्रतिफल कम्पनीले दिन सक्नुपर्ने हो त्यो दिन सकेका छैनौं । जति पनि कम्पनीहरु हेर्ने हो भने १०/१२ प्रतिशतभन्दा बढी छैन । जबकी बैंकको व्याज नै १०/१२ प्रतिशत नाघिसकेको छ । त्यसको रिटर्न त खासै केही भएन अहिलेको अवस्थामा । तपाईंले पुँजी दोब्बर गर्नुभयो भने त ४/५ प्रतिशतमा आउन सक्छ ।

बीमामा जति व्यवसाय बढ्नु पर्ने थियो त्यो बढ्न नपाएर प्रतिफल पनि बढ्न पाएको छैन । प्रतिफल बढाउनको लागि नन् ट्यारिफवालामा न्यूनतम दर लगाउनु पर्छ भन्नु भएको छ । किनभने यसमा धेरै घाटा भयो । दावी धेरै भयो । प्रिमियम घट्दै गयो । दावी बढ्दै गयो ।

कोभिड इन्स्योरेन्स गर्नै नहुने इन्स्योरेन्स

कोभिड इन्स्योरेन्सले गर्दाै कम्पनीहरुलाई धेरै नोक्सान भइरहेको छ । यो त गर्नै नहुने इन्स्योरेन्स हो । नियामक निकाय र नेपाल सरकारले गर्नुपर्छ भनेर गरायौं । त्यसमा पुरै नोक्सान भयो । त्यसमा हाम्रो कम्पनीहरूको ४/४ करोड दिएको छ । त्यो त कम्पनीको भयो । नेपाल सरकारबाट आउनुपर्ने पैसा बाँकी नै छ । जुन सरकारको दायित्व थियो, त्यो पनि आउनु पर्‍याे । हाम्रो सबै कम्पनीहरुले दिइसक्यो । बीमा समितिले पनि दियो । यो भन्दा बढी दायित्व लिन्छु भन्ने नेपाल सरकारले सारा बीमा क्षेत्रलाई नोक्सान बनाएको छ ।

बीमा क्षेत्रमा लगानी गर्ने सन्तुष्ट छैनन् भन्न पनि भएन । एउटा व्यवसायबाट गरेको आम्दानीबाट । हरेक कम्पनीले हरेक वर्ष न्यूनतम १०/१५ प्रतिशत प्रतिफल दिइरहेको छ । र, अर्को सेयर बजारबाट सन्तुष्ट नै छन् । बजारमा इन्स्योरेन्सको सेयर मूल्य उच्च नै छ । न्यूनतम पनि ८ सय रुपैयाँ नै छ । सेयर मार्केटबाट पनि लगानीकर्ताले फाइदा नै गरेका छन् । त्यसैले लगानी खराबै हो भन्न मिल्दैन । प्रतिफल पाएकै छन् ।

सेयर बजारमा लगानी गर्नेलाई फाइदा

बजारमा इन्स्योरेन्सको सेयर सीमित छ । बजारमा २० वटा निर्जीवन कम्पनी छ । सबैको १ अर्बको पुँजी छ । कूल पुँजीको ५० प्रतिशत दोश्रो बजारमा भएपनि ८/९ अर्बको क्यापिटलको सेयर मार्केटमा भयो । जबकी बैंकको हेर्नुभयो भने एउटै बैंकको १२/१३ अर्बको पुँजी छ । त्यसैले निर्जीवन बीमा बजारमा सेयरको माग छ । जसले गर्दा लगानीकर्तालाई भविष्यमा फाइदा हुन्छ ।

नियामक निकायले बीमा क्षेत्रका विकृति हटाएर थप राम्रो बनाउनु पर्छ । पछिल्लो समय निकायबाट धेरै सकारात्मक परिवर्तन भइरहेको छ । उधारो बीमा भइरहेको थियो । अहिले त्यो पूर्ण रुपमा हटेको छ । अनुगमन पनि भइरहेको छ । तर, क्यापिटल बढाउने कुरामा हामीसँग सर-सल्लाह गरिएन । जसले गर्दा बीमा क्षेत्रलाई नै अफ्ठ्यारो भयो । त्यसैले, त्यस्तो नीति नियम बनाउँदा सरोकारवालाहरुसँग छलफल गर्न आवश्यक देखिन्छ ।

अर्को, सञ्चालकहरुको कार्यकाल २ कार्यकाल बाहेक बस्न नपाउने व्यवस्था छ । मुख्य लगानीकर्ता बस्न नपाउने अर्को ल्याउनु पर्ने । यसमा समिति अधिकारभन्दा बाहिर जानुभएको छ । यस्तो व्यवस्था उहाँहरुले भन्दा पनि ऐनमा परिवर्तन भएर आउँदा राम्रो हुन्थ्यो । कम्पनीहरुलाई प्रत्यक्ष असर पर्दैनथ्यो ।

स्वेच्छिक बीमा गराउन आवश्यक

अहिलेको परिवेशमा निर्जीवन बीमामा थप लगानीको आवश्यक नै छैन । निर्जीवन बीमा क्षेत्रमा कम्पनीहरुमा अस्वस्थ प्रतिस्पर्धा छ भनिरहेका छौं त्यसको न्यूनिकरण गर्नु पर्‍याे । र, नियमन निकायले दिएको नियम कानुन निर्देशनको पालना गर्नुपर्छ । त्यो गर्‍याे भने बीमा क्षेत्र स्वच्छ हुन्छ । त्यसपछि स्वस्थ प्रतिस्पर्धा हुन्छ । र, सम्पूर्ण क्षेत्रमै कुनै समस्या हुँदैन ।

अर्को, बीमा क्षेत्रको साइज बढाउनु पर्‍याे । कम्पनी, बीमा समिति र सरकार मिलेर सबैले इन्स्योरेन्स गरौं र गराऔं । जसलाई बाध्यात्मक पर्या छ उहाँहरुले बीमा गर्नुभएको छ । तर, जो स्वेच्छिक छ उसले आफ्नो अन्तर्आत्माबाट मैले बीमा गर्नुपर्छ । भोलि जोखिम छ, आगलागी हुन सक्छ भन्ने सोचाई आउन सकेको छैन । यसमा हामीले थप गृहकार्य गर्नुपर्यो । र, थप बीमा जागरण ल्याउनु पर्‍याे ।

हामी नियामक निकायले कतिपय राम्रो काम गर्नुभएको छ । सल्लाह सुझाव दिनुभएको छ । कतिपय व्यवस्थाहरु हामीसँगैको सहाकार्यमा ल्याएको भए राम्रो हुन्थ्यो । कतिपय अफ्ठ्यारो कुराहरु छन् । ती कुराहरु छलफलमा समाधान होला जस्तो लाग्छ ।

(लुम्बिनी जनरल इन्स्योरेन्सका अध्यक्ष मूलसँग गरिएको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.