बजेटमार्फत प्याडको निःशुल्क व्यवस्था गर्ने सरकारको तयारी

  २०७९ जेठ ४ गते १५:३३     विकासन्युज

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले महिनावारीमा लगाइने प्याडको निःशुल्क व्यवस्था गर्ने सरकारले लक्ष्य लिएको बताएका छन् ।

बुधबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले महिनावारी महिलाहरुको समस्याको रुपमा देखा परेको उल्लेख गर्दै ती समस्या हल गर्नका लागि सरकारले विद्यालयहरुमा महिनावारीमा लगाइने प्याड निःशुल्क वितरण गरिरहेको र अब सबै महिलाहरुलाई निःशुल्क वितरण गर्ने गरी बजेट, नीति तथा कार्यक्रम ल्याउने बताए ।

उनले पहाडका विद्यालयहरुमा महिला छात्राबासको संख्या बढाउने विषयलाई पनि आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने योजना प्रस्तुत गरे । विद्यालय तहका छात्राहरुलाई अध्ययनका लागि सहज बनाउन पनि सरकारले पहाडका विद्यालयहरुमा छात्रावासको आवश्यक व्यवस्था मिलाउनुको विकल्प नरहेको उपाध्यक्ष पौडेलले बताए ।

‘महिनावारीमा लगाइने प्याडहरु देशभर निःशुल्क वितरण गर्ने सरकारको लक्ष्य छ । अहिले स्कुलहरुमा निशुल्क वितरण भईरहेको छ । महिला सशक्तिकरणका लागि राष्ट्रिय महिला आयोगको भूमिकालाई प्रभावकारी बनाउने गरी बजेटको व्यवस्था हुन्छ,’ उनले भने ।

उपाध्यक्ष पौडेलले महिला सशक्तिकरणका लागि राष्ट्रिय महिला आयोगको कामलाई प्रभावकारी बनाउने विषयमा पनि आगामी आर्थिक वर्षको बजेटले प्राथमिकता दिने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.