दुई खर्ब बढीको अटो क्षेत्र समस्यामा, बैंकले ऋण नदिँदा स्टक गाडी समेत बिक्री भएनन्

  २०७९ जेठ ४ गते १३:२५     विकासन्युज

काठमाडौं । आयात गर्न नपाएका व्यवसायीले आफूसँग स्टक रहेका गाडी पनि विक्री गर्न नपाएको गुनासो गर्न थालेका छन् । गाडी खरिद गर्न चाहनेलाई बैंक तथा वित्तीय संस्थाले कर्जा उपलब्ध नगराउँदा स्टक गाडीको पनि विक्री रोकिएको व्यवसायीले बताएका हुन् ।

अटो बजारमा मन्दी आउनुमा सवारीसाधन कर्जा (अटो लोन) नपाउनु मुख्य समस्या रहेको व्यवसायी बताउँछन् । हाल नेपाली सवारी खरिदकर्तामध्ये ९० प्रतिशत अटो लोन लिएर मात्रै गाडी खरिद गर्ने रहेका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का महासचिव सुरेन्द्रकुमार उप्रती बैंकले अटोमा लोन नदिदा स्टक भएका सवारी साधन समेत बिक्री गर्न नसकिएको बताउँछन् ।

नेपालमा बैंक तथा वित्तीय संस्थाको सहयोग अर्थात् हायर पर्चेज कर्जाबाटै गाडी खरिद गरेका हुन्छन् । राष्ट्र बैंकले ६० प्रतिशत रकम तिरेर बाँकी ऋणमा गाडी खरिद गर्नसक्ने व्यवस्था गरेको छ ।

‘आयातमा रोक लगाउँदाको असर अहिले नै देखिएको छैन, सोरुममा गाडी भएपनि बैंकले फाइनान्स नगर्दा बिक्री वितरण ठप्प जस्तै बनेको छ, बैंकले लोन नदिदा गाडी तथा पार्टस् बिक्री भएनन्,’ उनले भने ।

महासचिव उप्रेतीका अनुसार सवारी साधनसँगै पार्टसको विक्री पनि ठप्प छ । नयाँ सवारी साधन आयातमा रोक लगाएसँगै पार्टसको व्यापारमा मन्दी आउँदा अटो व्यवसाय नै धरासायी बनेको उनको भनाई छ ।

पार्टसको आयातमा सरकारले रोक लगाएको छैन । सवारी साधन बिक्री नै बन्दजस्तो हुँदा पार्टसको समेत बिक्री नभएको उनको भनाई छ ।

‘अहिले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य उच्च रुपमा बढेको छ, सवारी साधन हुनेहरुले पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै अतिआवश्यक बाहेक सवारी साधन चलाउनै बन्द गरेको पाइएको छ, सवारी साधन चले पो पार्टसको बिक्री हुन्छ, फ्युलको पैसा बढेको भन्दै घरमा सवारी थन्काएपछि पार्टसको व्यापारमा समेत मन्दी भयो’, उनले भने ।

उनले गत वर्ष कोरोना महामारीको समयमा धमाधम बिक्री भएका सवारी साधन अहिले लामो समयदेखि ठप्प जस्तै भएको बताए ।

‘कोरोना कालमा गाडीहरु सुचारु हुँदा उल्लेख्य मात्रामा सवारीहरु बिक्री भएका थिए, अहिले लामो समयदेखि ठप्पजस्तै भयो’, उनले भने । उपभोक्तासँग पैसा नहुँदा अटो मोबाइल क्षेत्रको व्यापार ठप्प भएको उनको भनाई छ ।

‘उद्योग मन्त्रालयले राजपत्रमा सूचना नै निकालेर असार मसान्तसम्म गाडी लगायत अन्य वस्तुको आयातमा रोक लगाएको छ, सरकारले लगाएको रोकको असर अहिले नै बजारमा देखिसकेको छैन, अहिले नै आयात खुल्ला जस्तो देखिएको छैन, सरकारले ध्यान उद्योग व्यवसायतर्फ मात्रै रहेको पाइएको छ,’ उनले थपे ।

सरकारले सवारी साधन आयातमा रोक लगाउँदा अटो मोबाइल क्षेत्रको दुई खर्ब बढी लगानी जोखिममा परेको महासचिव उप्रेती बताउँछन् ।

विदेशी मुद्राको सञ्चितिमा कमी आएको भन्दै नेपाल राष्ट्र बैंकको मौखिक निर्देशनमा बैंक तथा वित्तीय संस्थाले सवारी साधन आयातको प्रतितपत्र बन्द गरेका थिए । राष्ट्र बैंकको मौखिक निर्देशनको भरमा अटो व्यवसायलाई मात्र निशानामा राखिएको भन्दै अटोमोबाइल्स व्यवसायीहरुले प्रधानमन्त्री, अर्थमन्त्री तथा डेपुटी गर्भनरलाई भेटेर आयात खुलाउनुपर्ने माग राखेका थिए ।

व्यवसायीहरुको माग पश्चात उद्योग मन्त्रालयले वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गरेर असार मसान्तसम्म गाडी लगायत विभिन्न वस्तुको आयातमा रोक लगाएको हो । सरकारले असार मसान्तसम्म आयातमा रोक लगाए पनि व्यवसायीहरुले प्रतिवन्ध अझै लामो समयसम्म जानेसक्ने बताउँदै आएका छन् ।

2 comments on "दुई खर्ब बढीको अटो क्षेत्र समस्यामा, बैंकले ऋण नदिँदा स्टक गाडी समेत बिक्री भएनन्"

  • Janata says:

    नेपालमा निजी गाडि किन्ने, घर बनाउने, जग्गा खरिद गर्ने र रु. १ लाख भन्दा बढीको सुन तथा गहना खरिद गर्ने व्यक्तिको आय श्रोत पुष्टी हुने कागजात अनिवार्य पेश गर्ने व्यवस्था तत्काल लागु गर्नु पर्दछ ।

  • c.k.shahi says:

    WHY CAR USE BICYCLE N WALKING GOOD FOR HEALTH.
    SAVE OR SCRAPE USD ACCOUNT.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.