यूनाइटेड इन्स्योरेन्सले ९ महिनामा कमायो ९४ प्रतिशत बढी नाफा, अधिकांश सूचकमा सुधार

  २०७९ जेठ ४ गते १०:४७     विकासन्युज

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) ले चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा राम्रो प्रगति हासिल गरेको छ । कम्पनीले ९ महिनामा १० करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९४.१२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको तेश्रो त्रैमास अर्थात चैत मसान्तमा इन्स्योरेन्सले ५ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

चालु आवको ९ महिनामा अधिकांश निर्जीवन बीमा कम्पनीको नाफा घट्दा यूनाइटेड इन्स्योरेन्स भने नाफा बढाउन सफल भएको छ । जुन हालसम्म कम्पनीहरुले सार्वजनिक गरेका ९ महिनाको वित्तीय विवरणले देखाएको छ ।

हाल १ अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको बीमाकोषको आकार पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको बीमाकोष ३३ करोड ३७ लाख रुपैयाँबाट बढेर ४० करोड १५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, जगेडा कोषमा १७ करोड ७० लाख रुपैयाँ र महाविपत्ती जगेडामा ५१ लाख रुपैयाँ रहेको छ ।

इन्स्योरेन्सले ९ महिनाको अवधिमा ३ हजार ३७० वटा बीमितहरुलाई ४७ करोड ९५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । यससँगै, इन्स्योरेन्ससँग ७ हजार ४४ वटा बीमितका १ अर्ब ६ करोड रुपैंया बराबरका दाबी विचाराधीन अवस्थामा छन् ।

इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १३.२७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४४.७६, प्रतिशेयर नेटवर्थ १५६.७८ रुपैंया र प्रतिसेयर कुल सम्पत्ति मूल्य २८९.२६ रुपैयाँ छ ।

हालसम्म इन्स्योरेन्सले १ अर्ब २५ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा ४२.८५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सोही अवधिमा ८७ करोड ८६ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको थियो ।

कूल बीमाशुल्क बढ्दोक्रममा रहेको कम्पनीले आगामी दिनहरुमा व्यवसायिक विविधिकरण गरी गुणस्तरीय ग्राहकमुखी नयाँ सेवा सुविधा शुरु गरी कम्पनीलाई थप वित्तीय रुपमा सबल बनाउने योजना बनाएको छ । त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कार्य सञ्चालन सुचारु रुपले भैरहेको र वित्तीय स्थिति सन्तोषजनक रेको व्यवस्थापकीय विश्लेषण छ । साथै, कम्पनीले आगामी दिनहरुमा प्रयाप्त तालिम दिई जनशक्तिलाई दुरुस्त पार्ने र ग्राहकमुखी सेवाहरु विस्तार गर्ने योजना गरेको छ ।

यद्यपि कोभिड १९ महामारी र सोको बीमा दावीले गर्दा कम्पनीलाई आगामी दिनहरुमा बीमा व्यवसायको लागि चुनौतिपूर्ण रहेको छ । बजारमा बीमा कम्पनीहरुको बीचको प्रतिस्पर्धा, सीमित बजार तथा पूर्नबीमा कम्पनीहरुबाट पाइने कमिशन र अन्य सुविधामा कटौतीले गर्दा कम्पनीलाई उक्त चुनौति सामाना गर्नुपर्ने छ ।

निर्जीवन बीमा क्षेत्रमा महत्वपूर्ण योगदान दिन सफल

यूनाइटेड इन्स्योरेन्स ‘बेष्ट जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयर’ बाट सम्मानित भएको छ । इन्डियन चेम्बर अफ कमर्शले नेपालको इन्स्योरेन्स कम्पनीमध्ये यूनाइटेडलाई उक्त अवार्डबाट सम्मानित गरेको हो । विश्व विख्यात प्राप्त चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पीडब्लुसीले स्वतन्त्र रुपमा मूल्यांकन गरेको अनुसार निर्जीवन बीमा क्षेत्रमा यूनाइटेडले महत्वपूर्ण योगदान दिएकोले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । साथै, कम्पनीले विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्य सम्पादन गरेको पीडब्लुसीले मूल्यांकन गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.