बजेट बहसमा अर्थविद् : आयात प्रतिस्थापनमुखी बजेट ल्याऔं, पर्यटनलाई प्रवर्द्धन गरौं

  २०७९ जेठ ३ गते १९:२८     विकासन्युज

काठमाडौं । अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणको तयारीमा छ । संसदमा बजेटको विषयमा छलफल पनि सुरू भइसकेको छ । मंगलबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा संसदमा आगामी बजेटेको सिद्धान्त र प्राथमिकता पनि प्रस्तत गरिसकेका छन् । अहिले मुलुकको अर्थतन्त्रका सूचकहरू पनि सकारात्मक देखिँदैनन् । उच्च व्यापार घाटा, विदेशी मुद्रा सञ्चितिको गिरावट र मुद्रास्फिति झन–झन बढ्नुले सरोकारवालाहरूबाट अर्थतन्त्रको विषयमा चिन्ता व्यक्त हुन थालेको छ ।

आगामी बजेट र चालु आवको बजेट कार्यान्वयनको विषयमा विकासन्युजले बजेट बहस श्रृंखलाको प्रारम्भ गरेको छ । प्रस्तुत छ विकासन्युजका सम्वाददाता नारायण अर्यालले अर्थविदहरूसँग गरेको कुराकानी ।

चालु आर्थिक वर्षको बजेट कार्यान्वयन प्रकृयालाई कसरी हेर्नुभएको छ, आगामी बजेट कस्तो हुनुपर्ला ?

डा. डिल्लीराज खनाल, अर्थशास्त्री

समयमै खर्च नहुने समस्या विगतदेखिकै हो । तर, यो वर्ष थप समस्या देखियो । आर्थिक वर्षको अन्तिममा १ डेढ महिनाको समयमा जसरी पनि पैसा खर्च गर्ने, पैसा सिध्याउने, त्यसको गुणस्तरको मतलब नगर्ने, वित्तीय अनुशासनको पनि मतलब नहुने र अर्कोतिर कैंयौं रकमान्तर गर्ने जस्ता काम भइरहेको छ । बजेटको राम्रोसँग व्यवस्थापन गर्ने, राम्रोसँग प्रतिफल लिने, जुन योजनामा केन्द्रित गरेको हो त्यो समयमा नै पुरा गर्ने, भन्नेजस्ता सुधारका पक्षहरुमा विगतमा भन्दापनि झन बढी समस्या रहेको देखिन्छ ।

हामीकहाँ अहिलेसम्म जुन किसिमको एउटा रिक्वायर बजेटरी सिस्टम हो, त्यो नै छैन् । बजेटको परिचालन त आफ्नो ठाउँमा छँदैछ, परिचालन गर्ने स्रोतलाई कहाँ कसरी विनास गर्ने, कुन दक्षतापुर्वक खर्च गरेर थोरै खर्चबाट बढि प्रतिफल लिने भन्ने हो । यतिधेरै अनुत्पादक र फजुल खर्च भएका छन् । पुँजीगत खर्चभित्र सयौं काम नलाग्ने परियोजनाहरू (रोगी आयोजनाहरु) निर्माण गर्ने काम भएका छन् । सबै सिस्टम नै बिसंगतिपुर्ण रहेका छन् कि बालुवामा पानी खन्याउने किसिमको समस्या भएको छ । जनताबाट पैसा लिने, बेथितिपूर्ण ढंगले खर्च गर्ने, यो भन्दा वित्तीय अराजकता के हुन्छ ? क्यु सेन्समा बजेट, त्यसको प्रभावकारिता, विश्वासनियता, जुन किसिमको हुन पर्ने हो त्यो छैन् । विगतदेखि झाँगिदै आएको समस्यामा चालु आवमा थप आगोमा घ्यु थप्ने काम यो वर्षको बजेटले गरेको छ ।

कुनै क्षेत्रबाट दबाब आयो । त्यसमा अलिकति थप्ने, कुनै अन्य शिर्षकमा अलिकति घटाउने वा बढाउने, २/४ वटा पपुलिस्ट कार्यक्रम ल्याउने, अझै आगामी वर्षमा चुनाव हुने हुँदा चुनाव केन्द्रीत गरेर ल्याउने होला । समस्याहरुमा सुधार हुने र ठिक ढंगले बजेट आउने कुरामा त मेरो कुनै अपेक्षा नै छैन । पहिलो विषय त अर्थतन्त्रमा जुन संकट आएको छ, त्यो संकटलाई उन्मुक्ति दिने हिसाबले वा अर्थतन्त्रलाई पुनरुत्थान हुने रणनीतिमा प्राथमिकता दिनु पर्यो ।

व्यापक रुपमा अनुत्पादक खर्च कटौति गर्नेदेखि बजेटरी म्यानेजमेन्ट सिस्टमलाई कसरी प्रभावकारी बनाउने, मुलतः जवाफदेही परिपाटीभित्र कसरी आवद्ध गर्ने र काम सम्पन्न नगर्नेलाई दण्डित कसरी गर्ने भन्ने विधि सहित आउन जरूरी छ ।

अर्को, मुलुक परनिर्भर बन्दै गएको छ । यो पनि संकटको एउटा अंग हो । त्यसकारण ठोस रुपमा हाम्रो आयात प्रतिस्थापन कसरी गर्न सकिन्छ, भन्ने तर्फ कृषि र उद्योगको विषयलाई अगाडि बढाउनुपर्दछ । कृषि र उद्योग भन्ने वित्तिकै त्यसले पुर्वाधार, मार्केटिङ, जनशक्ति, प्रविधि जस्ता विषयहरूको माग गर्दछ । सोहीसँग सम्बन्धित रहेर उर्जाको उत्पादन र त्यसको आन्तरिक प्रयोगलाई कसरी बढाउने भन्ने आउनु पर्छ ।

वैदेशिक मुद्राको सञ्चितिमा जुन समस्या छ, त्यसलाई तत्काल सम्बोधन गर्ने भनेको टुरिजम सेक्टरले हो । टुरिजम सेक्टरलाई बढीभन्दा बढी चलायमान हिसाबले अगाडि बढ्नु पर्छ । उपेक्षित वर्ग र पछाडि परेका समुदायलाई समेट्दै नयाँ ढंगले आर्थिक रुपान्तरण गर्ने कार्यक्रम समेटेर आउनुपर्छ । स्थानीय तहमा नयाँ चुनाव पनि भएको छ, उनिहरुलाई सुदृढ बनाउने गरी स्रोत र साधनलाई संवैधानिक रुपमा दिएका अधिकार अनुरुप उनीहरूले उपयोग गर्न पाउन भन्ने हेतुले हस्तान्तरणको ठोस नीति पनि आउन जरूरी छ । कार्यान्वयनको पाटोलाई जोड दिँदै जवाफदेहीको पाटोलाई अंग बनाएर जानुपर्दछ ।

हरि रोका, अर्थविद्

अहिले हामी निकै संकटपूर्ण अवस्थामा छौं । कोभिड–१९ महामारीपछि मुलुकको अर्थतन्त्र निकै अप्ठ्यारोमा छ । यसलाई व्यवस्थित गर्नको लागि सबै दलहरूको बीचमा एकदमै ठूलो सहमति हुन जरूरी छ । रोजगारीका लागि बाहिर जान सक्ने अवस्था अझै बनिसकेको छैन् । भएका कामहरुमा कटौति हुँदै गएको छ । आन्तरिक रूपबाट रोजगारी सिर्जना गर्नको लागि खास काम हुन सकिरहेको छैन । उत्पादन एकदमै कम भएको छ । औद्योगिक मात्रै नभएर कृषि उत्पादन पनि अत्यन्तै कमि हुन पुगेको छ । त्यसैले भुक्तानी सन्तुलनको पनि ठूलो समस्या आएको छ ।

वैदेशिक रोजगारीमा जानेहरूले पठाउने रेमिट्यान्स कम हुँदै जानु र उत्पादन कम हुँदै जानुको अवस्थाले मुलुक संकटग्रस्त अवस्थामा रहेको छ । यस्तो अवस्थामा राजनीतिक दलहरुले अलिकति गम्भीर भएर साझा सहमतिमा केही नयाँ विषयहरू गर्न जरुरी छ । जस्तो, कृषिलाई कसरी व्यवस्थित गर्ने र उत्पादन कसरी बढाउने, आयात प्रतिस्थापनको लागि नयाँ व्यवस्थापन कसरी गर्न सकिन्छ र औद्योगिक उत्पादन बढाउनको लागि पनि पुराना उद्योगहरूलाई पनि कसरी रिभाइभ गर्न सकिन्छ भन्नेतर्फ अब जान जरूरी छ । यसको लागि संरचनागत परिवर्तन गर्न आवश्यक छ भन्ने देखिन्छ ।

अहिले मुलुक स्थानीय तहको निर्वाचनमा छ । अर्को ६ महिनापछि पनि अर्को निर्वाचन हुन्छ । निर्वाचनपछि अर्को सरकार आएर नयाँ कुरा गर्छ भन्ने भन्दापनि अहिले नै समस्या आइसकेको छ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । हामीले सबै वस्तुहरू बाहिरबाट आयात गरिराखेका छौं, मुद्रास्फिति बढेको बढ्यै छ । त्यसैले हामीले नयाँ सरकार पर्खेर पोलिसी लेवलमा अहिले नयाँ कुरा केही नगरौं, यो चुनावी सरकार हो भनेर कुरा गर्नुभन्दापनि अलिकती नयाँ फड्को मार्न कसरी सकिन्छ ? उत्पादन कसरी बढाउन सकिन्छ भन्ने कुरामा सबै पार्टीहरु सहमतिमा पुग्न जरूरी हुन्छ । अहिले जो सहमतिमा छन् वा जो सरकारमा छन् उनीहरूको बीचमा सहमति हुन जरूरी हुन्छ ।

पहिलो, अहिले तत्काल हामीले गर्नसक्ने भनेको खाद्यान्न उत्पादन नै हो । खाद्यान्न उत्पादनमा बढी जोड दिनु पर्छ । किनकी ३ महिना, ६ महिना र १ वर्षमा उत्पादन हुने भनेको त कृषि उत्पादन नै हो । त्यसका लागि सरकारले संरचनात्मक र संस्थागत काम गर्नु पर्यो । अहिले वार्षिक रूपमा हामीले लगभग ४ खर्ब रुपैयाँ बराबरको खाद्यान्न सामग्री आयात गर्ने गरेका छौं । यो भनेको धेरैै ठूलो परिमाण हो । सन् १९९० सम्म हामी खाद्यान्न आयात र निर्यात लगभग बराबरी गर्ने गरेका थियौं । त्यसपछि हामी प्रत्येक वर्ष हामीले खेतिपातिलाई वर्षेनी छोड्दै गयौं । उत्पादन घ्ट्दै गयो । त्यसलाई वेवास्ता गर्दै गयौं । लामो समयसम्म कृषि प्रणालीलाई व्यवस्थित बनाउन सकेनौं । अहिले तराई तथा पहाडमा ४० प्रतिशत भन्दा धेरै जमिन बाँझो भएको छ । अहिले धान, चामल, दाल, तेल जस्ता सबै वस्तु बाहिरबाट किनेर ल्याउने गरेका छौं । यी बाहिरबाट आयात गर्ने खाद्यवस्तुहरु स्वेदशमै कसरी उत्पादन गर्न सकिन्छ भन्ने कोणबाट सरकारले अहिले बजेटमार्फत् कामलाई अगाडि बढाउनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.