नेप्सेमा साढे ९ महिनापछि बोटलर्स नेपालको सेयर कारोबार, कतिमा भयो किनबेच ?

  २०७९ जेठ ३ गते १७:३२     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा लामो समयपछि बोटलर्स नेपाल (बालाजु) को सेयर कारोबार भएको छ । दोश्रो बजारमा कम्पनीको सेयर जेठ ३ गते (आज) करिब साढे ९ महिनापछि किनबेच भएको हो ।

नेप्सेका अनुसार कम्पनीको सेयर २०७८ साउनयता किनबेच भएको थिएन । २०७८ साउन १७ गते कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९०३ रुपैयाँमा कारोबार भएको थियो । जुन अघिल्लो कारोबारको तुलनामा प्रतिकित्ता ७३ रुपैयाँले बढी हो । त्यसअघि (२०७८ साउन १३ गते) कम्पनीको सेयर हालसम्मकै न्यूनतम मूल्य प्रतिकित्ता १८३० रुपैयाँमा किनबेच भएको थियो ।

करिब साढे ९ महिनापछि भएको आजको कारोबारमा कम्पनीको सेयर मूल्य बढेको छ । ८४ अंकले घटेको बजारमा पनि कम्पनीको सेयर मूल्य भने बढेको छ । कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता १९४१.९० रुपैयाँ पुगेको छ । जुन गत साउनको तुलनामा प्रतिकित्ता ३८ रुपैयाँ अर्थात २ प्रतिशतले बढी हो ।

मंगलबारको दिनभरको कारोबारमा २१ कित्ता सेयर किनबेच भएको छ । नेप्सेको फ्लोरसिट अनुसार ४५ नम्बरको ब्रोकर (खरिद) र ५४ नम्बरको ब्रोकर (बिक्री) मार्फत सो मात्राको सेयर अर्थात ४० हजार ७७९ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । त्यस्तै, दिनभरको कारोबारमा कम्पनीको ७ हजारभन्दा बढी कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक थिए भने बेच्ने कोहि पनि देखिएका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.