३७ लाख नेपालीलाई आफूलाई लागेको रोग नै थाहा छैन !

  २०७९ जेठ ३ गते १६:०५     विकासन्युज

काठमाडौं । कति वर्षपछि उच्च रक्तचापको समस्याले सताउन थाल्छ ? धे रैलाई लाग्नसक्छ ४०/५० कटेपछि । होइन, १५ वर्षदेखि नै लाग्छ तर हामीलाई थाहानै हुँदैन । त्यसैले कम्तीमा हप्तामा एक पटक रक्तचाप परीक्षण अनिवार्य गर्नुपर्ने चिकित्सकहरू सुझाव दिन्छन् ।

आज विश्व रक्तचाप दिवश हो । आज स्वाथ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको अन्तरक्रियमा सहभागी विशेषज्ञदेखि डब्लुएचओका प्रतिनिधिसम्मको सुझाव पनि यही थियो ।

वरिष्ठ हृदयरोग विशेषज्ञ डा ओममूर्ति अनिलका अनुसार १५ वर्षदेखि २४ वर्ष उमेरका १० प्रतिशत मानिससँग रक्तचापको समस्या छ । उनका अनुसार तनाव, असन्तुलित खाना र प्रदूषण गरी तीन कारणले उच्च रक्तचावको समस्या सानैदेखि सुरु हुन्छ ।

अझ डरलाग्दो तथ्यांक त नेपालमा ३७ लाख नेपालीलाई आफूसँग उच्च रक्तचाप छ भन्ने नै थाहा नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांकअनुसार नेपालमा ४७ लाख नागरिकमा रक्तचापको समस्या छ तर १० लाखलाई मात्र आफ्नो स्वास्थ्यमा उच्च रक्तचापको समस्या छ भन्ने थाहा छ ।

आफूसँग उच्च रक्तचाप छ भनेर थाहा पाउने १० लाखमध्ये चार लाखले मात्र औषधि सेवन गर्ने गरेका छन् । औषधि सेवन गर्नेमध्ये दुई लाखको मात्र उच्च रक्तचाप नियन्त्रणमा रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलका अनुसार उच्च रक्तचापबाट बच्नका लागि तनाव, प्रदूषण, अस्वस्थ्यकर खाना, मध्यपान, धुमपान र निस्क्रिय जीवनशैलीबाट टाढा रहनुपर्छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादवले रक्तचापबाट बच्नका लागि नुन र चिनीको मात्रा कम गर्नुपर्नेमा जोड दिए । विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले उच्च रक्तचापको रोकथामका लागि स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालबाट नै विशेष सेवा प्रवाह गरिरहेको जानकारी दिए ।

वरिष्ठ हृदयरोग विशेषज्ञ डा ओममूर्ति अनिलले १५ देखि २४ वर्ष उमेरसमूहमा उच्च रक्तचाप १० प्रतिशत र ४० वर्षभन्दा माथिका मानिसमा ५० प्रतिशत उच्च रक्तचाप देखिएको जानकारी दिए ।

डा अनिलले उच्च रक्तचाप रोकथामका लागि विद्यालय तहदेखि नै पाठ्यक्रममा रक्तचाप र मुटुको रोगसम्बन्धी पठनपाठनको व्यवस्था गर्नुपर्नेमा जोड दिए । उच्च रक्तचापका कारण मस्तिष्कघात, हृदयाघात, मुटु तथा रक्तनलीसम्बन्धी रोग, दीर्घ मिर्गौलाको समस्याजस्ता रोग लागेर अकालमै मानिसको मृत्यु हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.