कोरोनाले थला परेको पर्यटन उद्योगमा थपियो २२ अर्ब लगानी, सूर्य नेपालले ६ अर्बमा होटल बनाउँदै

  २०७९ जेठ ३ गते १५:१९     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको दश महिनाको अवधिमा पर्यटन उद्योगमा २२ अर्ब रूपैयाँ बढी लगानी थपिएको छ । उद्योग विभागले सार्वजनिक गरेको गत साउनदेखि बैशाख १५ गतेसम्मको तथ्यांक अनुसार स्वदेशी लगानीका ४१ उद्योगमा २२ अर्ब १६ करोड ३९ लाख रुपैयाँ बराबरको लगानी थपिएको हो ।

नयाँ लगानी थप्नेमा सूर्य नेपाल पनि रहेको छ । सूर्य नेपाल प्रालिले उद्योग विभागबाट करिब ६ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत लिएको छ । कम्पनीले सूर्य नेपाल होटल एण्ड रेष्टुरेन्ट बनाउनका लागि ५ अर्ब ९९ करोड ६० लाख रुपैयाँ बराबरको लगानी स्वीकृत पाएको हो ।
विभागमा दर्ता भएअनुसार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ३ र ६ वडामा १९० बेडको होटल र ४६५ सिट क्षमताको रेष्टुरेन्ट निर्माण गर्ने जनाएको छ । स्वदेशी लगानीमा निर्माण हुन लागेकोे उक्त होटलले ३०६ जनालाई रोजगारी दिनेछ ।

यस्तै, काठमाडौं महानगरपालिका ७ मा रहेको गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्स प्रालिले पनि २ अर्ब ५० करोड लगानी स्वीकृति पाएको छ । स्वदेशी लगानीमा सो कम्प्लेक्सले २५० बेड र ४०० सिट क्षमताको रेष्टुरेन्ट सञ्चालन गर्न भन्दै थप लगानी स्वीकृत गरेको हो ।

उद्योग विभागबाट २०७८ को मंसिर १४ गते उक्र लगानी स्वीकृत भएको हो । २ अर्ब ४१ करोड ५५ लाख स्थीर पुँजी र ८ करोड ४५ लाख चालु पुँजी रहेको छ भने १९८ जनालाई रोजगारी दिनेछ ।

यस्तै, विभागको तथ्यांक अनुसार नेपाल इन्टरनेशनल हस्पिटालिटी प्रालिले मोरङमा होेटल बनाउन १ अर्ब ३० करोड रुपैयाँ बराबरको लगानी स्वीकृती पाएको छ । विराटनगर ५ मा स्वदेशी लगानीमा निर्माण हुने उक्त होटलमा ९९ बेड र ४०० सिट क्षमताको रेष्टुरेन्ट निर्माण हुनेछ भने ५० जनालाई रोजगारी दिनेछ ।

ग्रिन भ्यू प्रालिले काठमाडौंमा १ अर्बको लगानीमा ६० बेड क्षमताको होटल बनाउने, दि मेट्रोपोलीटन होटल प्रालिले काठमाडौं ४ मा १ अर्ब ६५ करोड ९६ लाख रुपैयाँ बराबरको लगानीमा १९० बेड क्षमताको होटल र रुपन्देहीको बुटबल ८ मा होटल सेफ्रन सिके प्रालिले होटल बनाउन लगानी स्वीकृति पाएको छ ।

उक्त कम्पनीले १ अर्ब ५० करोड लगानीमा १३० बेड क्षमताको होटल बनाउनेछ ।

होटलमा ११ अर्ब लगानी प्रस्ताव

उद्योग विभागले चालु आर्थिक वर्षको १० महिनामा होटल क्षेत्रमा करिब ११ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रस्ताव आएको बताएको छ । दश महिनाकोे अवधिमा ६६ वटा उद्योगमा १० अर्ब ७७ करोड ८० लाख रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको छ ।

उक्त लगानीमध्ये सबैभन्दा धेरै चीनबाट आएको छ । दश महिनाको अवधिमा चीनबाट ५३ उद्योगमा ९ अर्ब ६० करोड ८० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो ।

२७४ उद्योगमा ३ खर्ब लगानी

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा करिब ती खर्ब बराबरको स्वदेशी लगानीका उद्योग दर्ता भएको छ । उक्त अवधिमा २७४ स्वदेशी उद्योगमा २ खर्ब ८८ अर्ब २० करोड ९१ लाख ५८ हजार रुपैयाँ लगानी स्वीकृत भएको हो ।

यस्तैगरी दश महिनाको अवधिमा विदेशी लगानीका १६३ वटा विदेशी लगानीका उद्योग दर्ता भएका छन् । उक्त उद्योगका लागि विभागले ३८ अर्ब ५५ लाख ३० करोड रुपैयाँ बढी लगानी स्वीकृत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.