बालेनको चर्चित चस्मा : बजारमा उच्च माग, कति पर्छ मूल्य ? (भिडियोसहित)

  २०७९ जेठ २ गते १८:४७     राजिव न्यौपाने

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) अहिले चर्चित पात्रका रूपमा देखिएका छन् । स्ट्रकचरल इन्जिनियर तथा चर्चित र्‍यापरको रूपमा परिचित बालेन काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएपछि थप चर्चित बने ।

निर्वाचन हुनु अगावै उनलाई चर्चित हुनुमा उनको चस्माको भूमिका महत्वपूर्ण रह्यो । धेरैले उनको चस्माको तारिफ गरे भने अधिकांशले चस्माको आलोचना समेत गरे । तर, उनले ती सबै कुराहरूलाई सहर्ष स्वीकार गर्दै स्वतन्त्र उम्मेदारीको मैदानमा होमिए । अहिले उनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापित र गठबन्धनकी उम्मेदवार नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंहलाई पछि पार्दै अगाडि बढिरहेका छन् ।

आज हामीले उनलाई चर्चित बनाउन भूमिका खेल्ने उनको चस्माको विषयमा चासो राखेका छौं । चस्मा व्यापारीहरूका अनुसार बालेनले लगाएको चस्माको बजारमा अहिले उच्च माग छ । अहिले बजारमा बालेनको जस्तै चस्मा खोज्ने ग्राहकको भीड लागेको व्यापारीहरू बताउँछन् ।

काठमाडौं न्यूरोडमा रहेको सुरज आर्केड होलसेल बजारमा कार्यरत व्यापारी सुरेश खड्गी बालेनको जस्तै चस्मा चाहियो भनेर आउने ग्राहकको संख्या पछिल्लो समय ह्वात्तै बढेको बताउँछन् । चस्माको माग बढेकै कारण स्टक पनि अभाव भएको उनको भनाइ छ ।

उनका अनुसार यो चस्मा बजारमा पहिला नै आइसकेको भएपनि बालेनको उम्मेदवारीपछि यसको चर्चा बढेकोले माग अत्याधिक बढेको हो ।

‘यो चस्मालाई मेटल ग्लास भनिन्छ, तर, उहाँ (बोलन)ले लगाएको चस्मा चर्चित भएपछि सबैले बालेन ग्लास नै भन्छन्, अहिले नाम नै ‘बालेन चस्मा’ भएको छ,’ उनले भने ।

ती व्यापारीका अनुसार यो चस्माको मूल्य भने धेरै महँगो छैन । उनले सो चस्माको मूल्य ७ सय देखि ३ हजार २ सय रूपैयाँसम्म पर्ने बताए । जुन रातो, सेतो, कालो तथा गोल्डेन रङ्गमा पनि पाइने उनले बताए ।

भिडियाे :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.