गोकर्णेश्वर–४ मा लौरो चुनाव चिह्नका जयराम महत विजयी

  २०७९ जेठ २ गते ९:१७     विकासन्युज

काठमाडौं ।  गोकर्णेश्वर नगरपालिका–४ को वडाध्यक्ष पदमा लौरो चुनाव चिह्नका जयराम महत विजयी भएका छन् । उनी एक हजार २७ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का श्रीकुमार श्रेष्ठले ९९९ मत प्राप्त गरे । उनी विसं २०७४ मा निर्वाचित वडाध्यक्ष हुन् । नबनिर्वाचित महत भने यसअघिको स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट वडासदस्यमा निर्वाचित भएका थिए । कांग्रेसका ज्ञानकुमार श्रेष्ठले भने ७९४ मत प्राप्त गरेका छन् ।

वडासदस्यमा तीन पदमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । महिला सदस्यमा भने एमाले विजयी भएको छ । कांग्रेसबाट खुला सदस्यमा राजेश श्रेष्ठ, कृष्ण श्रेष्ठ र दलित महिला सदस्यमा सुनिता परियार निर्वाचित भएका छन् । महिला वडासदस्यमा भने एमालेका गोमा श्रेष्ठ विजयी भएका छन् । अहिलेसम्मको परिणाममा यसअघि कांग्रेसले जितेका वडामा अहिले एमाले र यसअघि एमालेले जितेका वडामा अहिले कांग्रेस विजयी भएको छ ।

एमालेको अग्रता कायमै

नगरपालिकामा हालसम्म ११ हजार ०२७ मतगणना सकिएको नगर निर्वाचन अधिकृत रञ्जु गौतमले जानकारी दिए । मत गन्दा एमालेका प्रमुख र उपप्रमुखको अग्रता कायमै छ । एमालेका नगर प्रमुख उम्मेद्वार उद्धव विष्टले चार हजार ५७० र उपप्रमुखमा सान्नानी लामाले चार हजार ४६७ मत पाएका छन् । कांग्रेसका दीपक रिसालले चार हजार ३८४ र उपप्रमुखमा शान्ति नेपालले चार हजार ०१७ मत पाएका छन् । वडा नं ४ को मतगणना सकिँदा कांग्रेस उम्मेदवारले मतान्तर घटाएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का नगरप्रमुख उम्मेदवार गोपाल बरालले ४४३ र नेकपा माओवादी केन्द्रका उपप्रमुख उम्मेदवार पेमाछिरी शेर्पाले एक हजार ०४० मत पाएका छन् । नगरपालिकामा समाजवादी र माओवादीले गठबन्धन गरेका छन् । अहिले वडा नंं ५ को मतगणना सुरु भएको नगर निर्वाचन कार्यालयले जनाएको छ । स्थान अभावका कारण एक स्थानमा मात्र मतगणना भइरहेको छ ।

नगरपालिकामा कूल ३३ हजार ९८९ मतदाता सङ्ख्या रहेको छ । जसमध्ये २४ हजार २४२ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ७१.३२ प्रतिशत हो । नगरपालिकामा यसअघि नेपाली कांग्रेसले नगर प्रमुख, उपप्रमुखसहित छ वटा वडामा विजयी हासिल गरेको थियो । यसपटक भने कांग्रेसले विगतमा जितेको नगरपालिकाको वडा नं १ र ३ मा हारेको छ । दुवै वडामा एमाले प्यानलसहित विजयी भएको छ । नगरपालिकाका नौ वडामध्ये चार वटा वडाको परिणाम सार्वजनिक भइसकेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.