महँगी बढेको भन्दै भारतले लगायो गहुँ निर्यातमा रोक, नेपाललाई कस्तो पर्ला प्रभाव ?

  २०७९ वैशाख ३१ गते ११:५६     विकासन्युज

काठमाडौं । मूल्यवृद्धि उच्च भएपछि भारत सरकारले गहुँ निर्यातमा रोक लगाएको छ । भारतमा उपभोक्ता मुद्रास्फिती बढेर ७.७९ प्रतिशत पुगेपछि सरकारले गहुँ निर्यातमा अल्पकालीन रोक लगाएको हो ।

भारत सरकारले मुलुकभित्र बढ्दो खाद्य सुरक्षा र महँगीलाई ध्यानमा राख्दै निर्यातमा रोक लगाउने निर्णय गरेको विज्ञप्तिमार्फत् प्रष्ट पारेको छ । पछिल्लो समय विभिन्न देशमा रुस र युक्रेनबीचको युद्धका कारण विभिन्न वस्तुको मूल्य बढेको छ ।

हालसालै सार्वजनिक तथ्यांकका अनुसार भारतमा इन्धन र खाद्यान्नको उच्च मूल्यका कारण अप्रिलमा उपभोक्ता मुद्रास्फीति ८ वर्षकै उच्चमा पुगेको देखाएको छ । विश्वव्यापी रुपमा उच्च मागका कारण, २०२१–२२ मा भारतको गहुँको निर्यात बढेर ७० लाख टन वा २.०५ बिलियन अमेरिकी डलर पुगेको छ ।

तथ्यांक अनुसार गत आर्थिक वर्षमा कुल गहुँ निकासीमध्ये करिब ५० प्रतिशत बंगलादेश पठाइएको थियो । गत वर्षको सोही अवधिमा १ लाख ३० हजार टन गहुँ निकासी गरेकोमा यो वर्ष करिब ९ लाख ६३ हजार टन गहुँ निर्यात भएको देखिएको छ ।

भारतले गहुँमा रोक लगाएपछि नेपाललाई केही असर पर्ने देखिएको छ । उसो त अहिले नेपाल पनि उच्च व्यापार घाटा, विदेशी मुद्रा सञ्चितिको कमि र मूल्यवृद्धिको कारण अर्थतन्त्र समस्यामा छ । तर, नेपालमा भारतबाट खाद्यान्न वस्तु उच्च आयात हुन्छ ।

नेपाल कृषि प्रधान देश भने पनि नेपाल भारतको भरमा छ । भारतले गहुँमा रोक लगाएसँगै नेपालको विदेशी मुद्रा सञ्चितिमा केही सुधार आएपनि खाद्यान्नको अभाव भने देखिन सक्छ ।

आर्थिक वर्ष ०७८/७९ मा जिडिपीमा कृषिको योगदान २३ दशमलव ९५ प्रतिशत रहेको छ । यस वर्ष हिउँदे बालीमा गहुँ, धान, मकै जस्ता प्रमुख खाद्यान्न बालीको उत्पादनमा गिरावट आएकाे सरकारी तथ्यांकहरूले देखाएकाे छ । यस कारण पनि भारतकाे याे निर्णय नेपालका लागि समस्या हु्न सक्छ ।

भन्सार विभागका अनुसार नेपालले वर्षेनी ५० अर्ब बराबरको खाद्यान्न आयात गर्छ । यसमा गहुँ मात्रै करिब १० अर्ब रूपैयाँको आयात हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.