बैंकर, व्यवसायी र उद्योगीको मतदान : कसले के भने ?

  २०७९ वैशाख ३० गते १६:०८     विकासन्युज

काठमाडौं । स्थानीय तहको निर्वाचनमा बैंकर, व्यवसायी तथा उद्योगीहरूले पनि सक्रियताका साथ भाग लिएका छन् । शुक्रबार देशभर भइरहेको स्थानीय तह निर्वाचनमा उद्योगी व्यवसायीदेखि बैंकरहरुले मतदान गरिरहेको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्दै अरूलाई पनि मतदानमा भाग लिन आग्रह गरिरहेका छन् ।

उद्योगी तथा नेपाली कांग्रेसका सांसद बिनोद चौधरीले नवलपुरको देवचुली नगरपालिका–२ को दिव्य युवा समाज भटक मतदान केन्द्रबाट मतदान गरेका छन् ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पनि काठमाडौंको सितापाइला स्कुलबाट मतदान गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा मतदान गरेको तस्वीर पोष्ट गर्दै लेखेका छन्, ‘मलाई मेरो संविधानले दिएको सबैभन्दा ठूलो शक्ति ।’

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पनि काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रमा पुगेर मत खसालेका हुन् । उनी आईएमई ग्रुपका अध्यक्ष पनि हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघकै पूर्व अध्यक्ष पशुपति मुरारकाले पनि काठमाडौंको थापाथलीको गुहेश्वरी माविबाट मतदान गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भोट हालियो, आशा गरौ हाम्रो एक एक भोटले काठमाडौंको मुहार फेरिने छ ।’

यस्तै, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले पनि काठमाडौं महानगरपालिका वडा नं १ नारायणी हिटी दरबारबाट मतदान गरेका छन् ।

उनले पनि सामाजिक सञ्जालमा मतदान गरेको तस्वीर राख्दै लेखेका छन्, ‘मैले भोट गरेँ, के तपाईंले गर्नु भयो ? यदि छैन भने कृपया आफ्नो मतदान केन्द्रमा जानुहोस् र गरिहालनुस् ।’

यस्तै, पूर्वबैंकर पर्शुराम कुवँर क्षेत्रीले पनि मतदान गरेका छन् । उनले आफुले मतदान गरेको उल्लेख गर्दै सामाजिक सञ्जालमा भनेका छन्, ‘यो प्रविधिको युगमा ढुंगे युगिन मतदान गरियो, मतगणना गर्न कति दिन लगाउने हुन्, आगामी निर्वाचनमा सबैले प्रयोगमा ल्याइसकेको प्रविधि प्रयोग गर्न पाईयोस् ।’

यस्तै, आइएमई ग्रुपका प्रबन्धनिर्देशक हेमराज ढकालले पनि काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । शुक्रबार देशभर स्नाथीय तहको मतदान भइरहेको छ । पछिल्लो अपडेट अनुसार ५० प्रतिशत मतदान सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.