निर्वाचनले जसको गाँस खोस्यो

  २०७९ वैशाख ३० गते १२:५६     विकासन्युज

काठमाडौं । रामेछाप जिल्ला घर भई हाल काठमाडौंमा बस्दै आएका टिकाराम खड्काले रत्नपार्कको सडक छेउमा बसेर कपडा बेच्न थालेको ७ वर्ष भन्दा बढी भयो । उनले कपडा बेचेर महिनाको १० हजार रुपैयाँसम्म आम्दानी गर्छन् । सो रकमबाट उनको घर खर्च चल्छ ।

रत्नपार्कमा नै व्यापार गरी आम्दानी स्रोत जुटाउँदै आएका खड्काको व्यापार अहिले ठप्प छ । स्थानीय तहको निर्वाचन सुरु भएसँगै रत्नपार्कमा मानिसहरूको भिडभाड कम भएसँगै व्यापार नै नभएको उनको भनाइ छ ।

पछिल्लो समय महानगरपालिकाका नगर प्रहरी र ट्राफिक प्रहरीले सडक छेउमा बसेर काम गर्न रोक्न थालेपछि बिहान देखि बेलुकासम्म रत्नपार्क र न्यूरोड एरियामा खड्का पत्रपत्रिका बेच्छन् ।

‘एउटा पत्रिका बेचेबापत २ रुपैयाँ नाफा हुन्छ, दिनभर पत्रिका डुलाउँदा २ सय रुपैयाँको आम्दानी हुन्छ, नयाँ प्रविधिसँगै पत्रपत्रिकाको कुरा मोबाइलमा नै हेर्न मिल्ने भएकाले अहिले पत्रिका व्यापार हुन छाडेको छ,’ उनले भने ।

साँझको समयमा नगर प्रहरी र ट्राफिक प्रहरी घर फर्किए पछि बेलुका ६ बजेदेखि ८ बजेसम्म उनको कपडाको व्यापार सुरु हुन्छ । ‘पहिले यहाँ बसेर काम गर्दा कसैको रोकटोक थिएन, अहिले नगर प्रहरी र ट्राफिक प्रहरीले सडकमा नबस् भन्छन्, पेट पाल्नै पर्यो,’ उनले दुखेसो पोखे।

त्यति मात्रै होइन, खुला आकाशमुनि बसेर काम गर्नुपर्दा हावाहुरी वा पानीले पनि अवरोध गरेको उनले सुनाए । ‘कहिले नगर प्रहरीले धपाउँछ त कहिले हावाहुरी र पानीले,’ उनले भने ।

उनी दैनिक करिब दुई सयदेखि एक हजार रुपैयाँसम्म कमाउँछन् । छोरा छोरी पढाउने र श्रीमतीसँगै बस्दै आएका उनको यहीको कमाइबाट घरखर्च चलेको छ ।

उनी मात्र होइनन्, यस्तो सास्ती खेप्ने काठमाडौंका सडक छेउमा बसेर व्यापार गरेर आएका अन्य धेरै छन् ।

कोरोना भाइरस संक्रमण पछि व्यापारबाट हुने उनको कमाइ घटेको छ । यो अवस्थामा पनि काम गर्न रोकटोक गरिन थालेपछि उनीहरूले नेताप्रति आक्रोश पोखेका छन् ।

‘हामी जस्तो गरिबले सटर भाडामा लिए बस्न सक्दैनौं, काठमाडौंको महँगी हामी सबैलाई थाहा भएको नै कुरा हो, सडकको छेउमा बसेर काम गर्नु हाम्रो रहर हैन बाध्यता हो,’ उनले भने ।

यस्तै, आज भन्दा ७ वर्षअघि उच्च शिक्षाको अभिलाषाका साथ सिन्धुलीबाट काठमाडौं छिरेका थिए नारायण श्रेष्ठ । १० कक्षासम्म गाउँमा नै पढेका श्रेष्ठले उच्च शिक्षा हासिका लागि काठमाडौं आए ।

कलेजको महङ्गो शुल्क र घरको कमजोर आर्थिक अवस्थाको कारण उनी पढ्न सकेनन् । काठमाडौं आएपछि उनलाई दैनिकी चलाउन गाह्रो भयो । यस्तै समस्याको बीचमा कसैले सुनाइदियो–फुटपाथमा व्यापार गर्ने विकल्प ।
त्यसपछि उनी काठमाडौंको रत्नपार्कमा रेडियो, इयरफोन, चार्जर बेच्न लागे ।

‘त्यो समयमा ठुलो व्यापार गर्नको लागि मसँग पैसा थिएन, इलेक्ट्रिक सामान किन्न महङ्गो पर्दथ्यो, मैले ७ हजारबाट रत्नपार्कमा व्यापार सुरु गरँको हुँ,’ उनले सुनाए ।

‘काठमाडौं त आइयो, खान बस्नको लागि पैसाको आवश्यकता पूरा गर्न सक्ने आर्थिक अवस्था घरपरिवारको थिएन, अनि जागिर खोज्न थालेँ, जागिर पाइएन, अनि फुटपाथमा पेटी बेच्न लागेको हुँ,’ नारायणले भने ।

नभन्दै उनको कमाई राम्रो हुन थालेको उनी बताउँछन् । व्यापारबाट आएको पैसाले कोठा भाडा तिर्न र खानलाउन ठीक्क हुने उनी बताउँछन् । तर, कहिले काहीँ पैसा बच्यो भने घर पनि पठाउन थालेको उनले बताए ।

‘दिनको ३ सय त कमाई भइहाल्छ नि, महिनामा ४० हजार रुपैयाँ बचाउँछु, महानगर आएर बेलाबेलामा हामीलाई लखेट्छ, त्यसरी लखेटेपछि अर्को ठाउँमा गएर फेरि व्यापार गर्छु’ उनले भने ।

निर्वाचनसँगै उनको व्यापार पनि घटेको छ । ७ हजारबाट सुरु गरेका काम अहिले एक लाख रुपैयाँको बनाएका छन् ।

टिकाराम र नारायण जस्ता अधिकांश फुटपाथ व्यवसायीहरू निर्वाचनले समस्या परेको बताउँछन् । उनीहरू यसअघि दैनिक रूपमा कमाइ हुने भएपनि अहिले निर्वाचनको कारण कमाइ ठप्प भएको र गुजारा गर्न पनि समस्या भएको गुनासो गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.