१० महिना बितिसक्दा पनि पुँजीगत खर्च ३१ प्रतिशत मात्रै, साढे ८ खर्ब उठ्यो राजश्व

  २०७९ वैशाख ३० गते १०:४३     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो चौमाससम्ममा सरकारले ३१ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ ।

वैशाख मसान्तसम्ममा ३१.२५ प्रतिशत बराबर मात्रै विकास खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षका लागि सरकारले पुँजीगत शीर्षकमा ३ खर्ब ७८ अर्ब रुपैयाँ बराबर छुट्टयाएकामा हालसम्म १ खर्ब १८ अर्ब १७ करोड २४ लाख रुपैयाँ बराबर मात्रै खर्च भएको हो ।

यस अवधिमा सरकारले गरेको कुल बजेट खर्च भने ५५.६२ प्रतिशत बराबर छ । कुल १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बराबरको वार्षिक बजेट रहेकामा बैशाख २८ गतेसम्ममा ९ खर्ब ८ अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबर खर्च भएको देखिएको हो ।

यसमध्ये चालु शीर्षकमा विनियोजित बजेटको ६७.२४ प्रतिशत बजेट खर्च भएको छ । चालु शीर्षकमा १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख रुपैयाँ बराबर विनियोजन भएकामा हालसम्म ७ खर्ब १६ अर्ब ३४ करोड ६३ लाख रुपैयाँ बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

वित्तीय व्यवस्थातर्फ कुल विनियोजित बजेटको ३८.९१ प्रतिशत बजेट खर्च भएको छ । यस शीर्षकमा १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ बराबर विनियोजन भएकामा ७३ अर्ब ७१ करोड ३७ लाख रुपैयाँ बराबर खर्च भएको देखिएको हो ।

साढे ८ खर्ब उठ्यो राजश्व

सरकारले चालु आर्थिक वर्ष २०७८÷०८९ को दश महिनाको अवधिमा लक्ष्य अनुसार राजश्व संकलन गर्न सफल भएको छ ।

महालेखा नियन्त्रक कार्यालयको बुधबारसम्मको तथ्यांक अनुसार सरकारले चालु आवको दश महिनामा लक्ष्यको ७३ दशमलव १७ प्रतिशत राजश्व संकलन गर्न सफल भएको हो ।

सरकारले चालु आवमा ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ बराबरको राजश्व संकलनको लक्ष्य राखेकोमा हालसम्म ८ खर्ब ६३ अर्ब ८३ करोड १५ लाख रुपैयाँ बराबरको राजश्व संकलन भएकोे छ ।

दश महिनाको अवधिमा सरकारले संकलन गरेको राजश्वमध्ये कर राजश्वतर्फ ७ खर्ब ९८ अर्ब १८ करोड २५ लाख रुपैयाँ बराबर उठाएको छ । जुन लक्ष्यको ७४.७४ प्रतिशत बराबर हो । सरकारले चालु आवमा १० खर्ब ६७ अर्ब ९६ करोड २५ लाख रुपैयाँ बराबर कर संकलन गर्ने लक्ष्य राखेको छ ।

यस्तै, गैर कर राजश्वतर्फ ६५ अर्ब ६४ करोड ९० लाख रुपैयाँ संकलन भएको छ । जुन लक्ष्यको ५८.२८ प्रतिशत हो । सरकारले चालु आवमा १ खर्ब १२ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ बराबर लक्ष्य रहेको छ ।

त्यस्तै वैदेशिक अनुदानतर्फ वार्षिक लक्ष्यको २३.१७ प्रतिशत अर्थात् १३ अर्ब ८८ करोड ३३ लाख रुपैयाँ सरकारले उठाएको छ । चालु आवमा सरकारले अनुदानतर्फ ५९ अर्ब ९१ करोड ९९ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.