बुद्धले आइतबारदेखि यी विमानस्थलमा गर्दैछ रात्रिकालीन उडान

  २०७९ वैशाख २९ गते १२:२०     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले आइतबारदेखि विभिन्न विमानस्थलमा रात्रिकालिन उडान सुरु गर्ने भएको छ ।
नागरिक उड्डयन प्राधिकरणले रात्रिकालिन उडान अवतरण सुविधा भएका विमानस्थलहरु १८ घण्टा खुला राख्ने निर्णय स्वागतयोग्य भएको भन्दै बुद्धले आईतबारदेखि नियमित उडान भर्ने जनाएको हो ।

बुद्धले आइतबारदेखि तत्कालका लागि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरा गरी ६ विमानस्थलमा उडान गर्ने जनाएको छ । बुद्धले उक्त विमानस्थलमा राती ८ बजेदेखि मात्र उडान गर्नेछ ।

दैनिक कामकाजमा व्यस्त यात्रुहरुका लागि रात्रिकालिन उडान निकै आकर्षक हुने बुद्धले जनाएको छ । रात्रिकालिन उडान बिहान दिउँसोको तुलनामा सहज, सरल र सस्तो हुने कम्पनीले दाबी गरेको छ ।

बुद्धले रात्रिकालिन उडानका लागि काठमाडौंमा टुटलसँग समन्वय गरि रात्रिकालिन उडानका लागि ट्याक्सीमा छुटको समेत अफर ल्याउन लागेको जनाएको छ ।

दोस्रो हब भैरहवा

पोखरा विमानस्थललाई बुद्ध एयरले सबै प्रदेशबाट सिधा उडानले जोडिसकेको छ । यसको प्रत्यक्ष फाईदा व्यापारिक र पर्यटकहरुलाई पुगेकोछ । पोखरापछि बुद्धले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई दोस्रो हबका रुपमा सबै प्रदेशबाट जोड्ने जनाएको छ । कम्पनीले हाल भैरहवाबाट पोखरा र भरतपुरको उडान गर्दै आएको छ ।

भैरहवाबाट विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा क्रमशः उडान भर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.