अर्थतन्त्र थप चिन्ताजनक, विदेशी मुद्रा सञ्चिति झन खस्कियो, यस्ता छन् मुख्य सूचक

  २०७९ वैशाख २८ गते १७:३५     विकासन्युज

काठमाडौं । पछिल्लो समय नेपाली अर्थतन्त्रको विषयमा सरोकारवालाहरुबाट चिन्ता व्यक्त हुने गरेको छ । विशेष गरेर विदेशी सञ्चितिमा परेकाे चाप र उच्च मूल्यवृद्धिको कारण देशको अर्थतन्त्र संकटको दिशामा गइरहेको भन्ने बहस भइरहेको बेला अर्थतन्त्रका सूचक थप जटिल देखिएका हुन् ।

बुधबार नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गर्दै देशको अर्थतन्त्रका सूचकहरु सन्तोषजनक नभएको देखाएको हो । चालु आर्थिक वर्षको नौ महिनाको तथ्यांक अनुसार अधिकांश सूचकहरु सन्तोषजनक अवस्थामा छैनन् ।

अहिले विदेशी मुद्रा सञ्चिति र मूल्यवृद्धिको विषयमा चिन्ता भइरहेको अवस्थामा पनुः ती दुवै सूचकहरु सकारात्मक देखिँदैनन् । चालु आवको नौ महिनामा मूल्यवृद्धि ७.२८ प्रतिशत पुगेको छ । यसले पनि देशमा विभिन्न वस्तु महँगिएकाे बुझ्न सकिन्छ ।

महँगी बढ्यो

अहिलेको मूख्य समस्या भनेको मूल्यवृद्धि पनि हो । अहिले वाह्य कारणले महँगी बढेको धारणा सरकार स्तरबाट भइरहेको छ । रुस र युक्रेनबीचको युद्धले महँगी बढेको धारणा सरकारको छ ।

आर्थिक वर्षको नौ महिनामा मूल्यवृद्धि ७.२८ प्रतिशत पुगेको छ । २०७८ चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ ।

विदेशी मुद्रा सञ्चिति पनि खस्कियो

अहिले विदेशी मुद्रा सञ्चितिमा पनि सुधार देखिँदैन । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले कमी आई २०७८ चैत्र मसान्तमा ११ खर्ब ६७ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १८.२ प्रतिशतले कमी आई ९ अर्ब ६१ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रुपैयाँ रहेकोमा २०७८ चैत्र मसान्तमा १७.९ प्रतिशतले कमी आई १० खर्ब २१ अर्ब ४५ करोड रुपैयाँ कायम भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

रेमिट्यान्स घट्यो

विदेशी मुद्रा सञ्चिति बढाउने एउटा गतिलो स्रोत रेमिट्यान्स हो । तर, नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार नौ महिनामा रेमिट्यान्स पनि घटेको छ । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा रेमिट्यान्स घटेको छ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले कमी आई ७ खर्ब २४ अर्ब ७४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २,५६,०३१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७४.९ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९९.९ प्रतिशतले वृद्धि भई २,०६,६२९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६०.७ प्रतिशतले घटेको थियो ।

आयातमा वृद्धि, व्यापार घाटा बढ्यो

सरकारले विभिन्न वस्तुको आयातमा कडाइ गर्दा पनि आयातमा भने कमि आउन सकेको छैन । आयात कम गर्नैका लागि नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको आयातमा कडाइ गरेको थियो भने सरकारले १० वस्तुको आयात रोकेको थियो । तर, अझै पनि आयातमा कमि आउन सकेको छैन ।

आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा कुल वस्तु आयात ३२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आयात ३२ प्रतिशतले बढेर १४ खर्ब ६६ अर्ब ६६ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.१ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४.४ प्रतिशत, २८.६ प्रतिशत र ५९.२ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

यस्तै, आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा कुल वस्तु निर्यात ६९.४ प्रतिशतले वृद्धि भई १ खर्ब ६० अर्ब ५७ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २०.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ८६.९ प्रतिशत र २५.५ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २१.८ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा कुल वस्तु व्यापार घाटा २८.५ प्रतिशतले वृद्धि भई १३ खर्ब ६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात १०.९ प्रतिशत पुगेको छ ।

शोधान्तर घाटा साढे २ खर्ब बढी

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ८१ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा चालु खाता ५ खर्ब १२ अर्ब ७१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब १० अर्ब ५१ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४ अर्ब २८ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३९.५ प्रतिशतले कमी आई रु.७ अर्ब ७८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३३.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ५१ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १२ अर्ब ८६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १२ अर्ब ३५ करोड रूपैयाँ रहेको थियो ।

बैंकहरुको ब्याज बढ्यो

बैंकमा लगानीयोग्य रकम नभएकै कारण बैंकहरु अहिले ब्याज बढाउन बाध्य भएका छन् । नौ महिनामा वाणिज्य बैंकहरुले निक्षेको ब्याज ४८ प्रतिशतले बढाएका छन् ।

नौ महिनामा वाणिज्य बैंकहरुको निक्षेपको ब्याज ४८ प्रतिशतले बढेको छ । २०७८ चैतमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.११ प्रतिशत रहेकोमा २०७७ चैतमा र कर्जाको भारित औसत ब्याजदर १०.७८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः ४.७९ प्रतिशत र ८.६१ प्रतिशत रहेका थिए ।

यस्तै, बैंकहरुको कर्जाको ब्याज पनि २५.२० प्रतिशतले बढेको देखिन्छ । चालु आवको चैतसम्म कुल १०.७८ प्रतिशत रहेको बैंकहरुको ब्याज गत आर्थिक वर्षको चैतमा ८.६१ प्रतिशत थियो । बैंकहरुको आधार दर पनि ३२.८९ प्रतिशतले बढेको छ । वाणिज्य बैंकहरुको औसत आधार दर २०७७ चैतमा ६.९० प्रतिशत रहेकोमा २०७८ चैतमा ९.१७ प्रतिशत कायम भएको छ ।

अधिकांश लगानी घरजग्गामा

विभिन्न समयमा बैंकहरूले लगानी गर्ने क्षेत्रको विषयमा पनि बहस हुन्छ । नौ महिनाको तथ्यांक अनुसार बैंकहरुले अधिकांश कर्जा घरजग्गामा प्रवाह गरेका छन् । बैंकहरुले घरजग्गा क्षेत्रमा ६६.९ प्रतिशत लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकहरुको अधिकांश लगानी घरजग्गामा देखिएको हो ।

२०७८ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७७ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाकोअनुपात क्रमशः ६५.९ प्रतिशत र १२.३ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १६.९ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.७ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १६ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.८ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १७.६ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २२.२ प्रतिशतले, डिमान्ड तथा अन्य चालु पुँजी कर्जा १७.३ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ११.९ प्रतिशतले र हायर पर्चेज कर्जा ४.६ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ४९.९ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ११ प्रतिशतले घटेको छ ।

2 comments on "अर्थतन्त्र थप चिन्ताजनक, विदेशी मुद्रा सञ्चिति झन खस्कियो, यस्ता छन् मुख्य सूचक"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.