डिजिटल भुक्तानीको कारोबार बढ्यो

  २०७९ वैशाख २८ गते १६:२५     विकासन्युज

काठमाडौं । पछिल्लो समय डिजिटल भुक्तानी प्रणालीमार्फत् हुने कारोबार रकममा बृद्धि हुन थालेको छ । केही समयअघिसम्म न्यून मात्रामा हुने डिजिटल कारोबार पछिल्लो समय आक्रामक रुपमा बढ्न थालेको हो ।

केही समय अघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘क्यास लेस इकोनोमी’ को अवधारणमा अनुसार डिजिटल कारोबारलाई प्रश्रय दिएका थिए । अधिकारीको पहलमा विभिन्न तरकारी बजारदेखि सार्वजनिक स्थानमा क्यूआर कोडबाट भुक्तानीको व्यवस्था लागुभएसँगै डिजिटल कारोबारमा बृृद्धि हुन थालेको हो ।

प्रविधिको प्रयोग अन्तर्गत पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा सञ्चालन भएका तरकारी बजार, मन्दिर तथा अटोरिक्सा लगायत धेरै स्थानमा क्विक रेपोन्स (क्यूआर) कोड जडान भइसकेका छन् ।

तरकारी बजारबाट सुरु भएको डिजिलट भुक्तानी अवधारण अनुसार अधिकाशं सार्वजनिक स्थानमा विभिन्न सेवा प्रदायक कम्पनीले क्यूआर कोड जडानलाई तिव्रता दिदैँ आएका छन् ।

चैतमा कति भयो कारोबार ?

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको (गत साउनदेखि चैतसम्म) वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०७८ अनुसार डिजिटल भुक्तानी प्रणाली मार्फत हुने कारोबार रकममा बृद्धि भएको छ ।

गत फागुन महिनाको तुलनामा चैत महिनामा आईपिएस, कनेट आईपिएस, मोबाइल बैंकिङ तथा वालेट तथा क्युआरमा आधारित भुक्तानी कारोबारमा रकममा बृद्धि भएको हो ।

बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चैतमा क्युआरमा आधारित भुक्तानी मार्फत ८ अर्ब ९४ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत फागुन महिनामा यस्तो भुक्तानी ७ अर्ब ७६ करोड २० लाख रुपैयाँ बराबरको भएको थियो ।

आईपिएम मार्फत गत फागुन महिनामा १ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा चैत महिनामा १ खर्ब ८५ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ ।

गत महिनाको तुलनामा चैत महिनामा मात्रै १९ अर्ब ७३ करोड रुपैयाा बढीको कारोबार भएको हो ।

यस्तै, गत फागुन महिनामा कनेक्ट आईपिएस मार्फत २ खर्ब ७३ अर्ब ८५ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा चैत महिनामा २ खर्ब ९१ अर्ब २९ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।

गत फागुन महिनामा मोबाइल बैंकिङ मार्फत १० खर्ब ७१ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा चैत महिनामा ११ खर्ब ५३ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

गत फागुन महिनाको तुलनामा इन्टरनेट बैंकिङ, वालेट र अनलाइन (इ–कमर्श) हुने कारोबार रकममा कमी आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.