स्थानीय तह निर्वाचन : दैनिक १५ हजारले काठमाडौं छाड्दै

  २०७९ वैशाख २७ गते १८:१४     विकासन्युज

काठमाडौं । विभिन्न कामले उपत्यकामा रहेका नागरिक स्थानीय तह निर्वाचनका लागि जिल्लामा फर्कने क्रम बढेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयअनुसार विगत केही दिनदेखि उपत्यकाबाट जिल्ला फर्कने मानिस बढेका छन् । मतदाता नामावली जिल्लामा रहेकाले यही वैशाख ३० गते हुने मतदानमा मताधिकार प्रयोगका लागि उपत्यका छाडेका उनीहरूले बताएका छन् ।

ट्राफिक प्रहरीका अनुसार अहिले दैनिक काठमाडौ| आउनेभन्दा बाहिरिने बढिरहेका छन् । यो क्रम वैशाख लागेदेखि नै सुरु भएको र हाल झनै बढिरहेको छ ।

कार्यालयका अनुसार सोमबारको तथ्याङ्क हेर्दा उपत्यकाबाट ७ हजार ९११ सवारीमार्फत ५५ हजार ७४६ यात्रु बाहिरिएका छन् । उपत्यका भित्रिने सङ्ख्या भने ४२ हजार ५४४ छन् । अघिपछि दैनिक भित्रिने र बाहिरिने मानिसको सङ्ख्या बराबरजस्तै हुने गरेकामा अहिले आउनेभन्दा जानेको संख्या १० देखि १५ हजार बढी छन् । अबको दुई दिन यो क्रम अझै बढ्ने छ ।

यसमा निजी गाडी र रिजर्भ गाडीमा गएका यात्रुको सङ्ख्या भने जोडिएको छैन । कतिपय नागरिक निजी गाडी तथा सार्वजनिक सवारी साधनमा जिल्ला गइरहेका छन् भने कतिपय नागरिक उम्मेदवार र राजनीतिक दलका झण्डा र चुनाव चिह्नसहित रिजर्व गाडीमा गइरहेका पनि देखिएको छ ।

ती नागरिकले उम्मेदवार तथा दलका प्रतिनिधिले नै गाडी रिजर्व गरेकाले मतदानका लागि जिल्ला गएको प्रतिक्रिया दिएका छन् । यसपालि निर्वाचनको समयमा कुनै पनि आपराधिक गिरोहको सक्रियता नभएकाले पनि निर्वाचनको माहोल बढी नै तातेको छ ।

यसपालि निर्वाचनमा एक करोड, ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएका छन् । मुलुकका ७५३ स्थानीय तहको निर्वाचनमा कूल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको छ । सरकारले दुई हजार ९४६ अतिसंवेदनशील, चार हजार ४२३ संवेदनशील र तीन हजार ३८७ मतदानस्थल कम संवेदनशील भनेर वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाएको छ ।

सरकारले दुई हजार ९४६ अतिसंवेदनशील, चार हजार ४२३ संवेदनशील र तीन हजार ३८७ मतदानस्थल कम संवेदनशील भनेर वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाएको छ । यसपटक सबै स्थानीय तहमा एकैचोटी निर्वाचन हुँदैछ । आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । त्यस अवधिमा प्रचारप्रसारका कार्यक्रम बन्द गर्नु पर्नेछ भने त्यसै समयदेखिनै अन्तर्राष्ट्रिय सीमा नाकासमेत बन्द हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.