दुई दिन सार्वजनिक विदा भए पनि लगातार ३ दिन विदा नपाइने

  २०७९ वैशाख २७ गते १५:५२     विकासन्युज

काठमाडौं । सरकारले दिएको शनिबार र आइतबारको सार्वजनिक बिदा जेठदेखि लागु हुने भएको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना सार्वजनिक प्रकाशन गरेसँगै उक्त निर्णय जेठ १ गतेदेखि लागु हुने भएको हो ।

तर लगातार दुई दिनभन्दा बढी सार्वजनिक बिदा भएमा सो निर्णय लागु हुनेछैन् । गृहले प्रकाशन गरेको सूचना अनुसार दसैँतिहारका सार्वजनिक बिदाबाहेक लगातार दुई दिनभन्दा बढी बिदा भएमा गृह मन्त्रालयले निर्धारण गरेबमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउनु पर्नेछ ।

सूचना अनुसार सो निर्णय सार्वजनिक सेवा प्रवाह गर्ने निकायमा अस्पताल, स्वास्थ्य चोकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत्, खानेपानी, अध्यागमन, वारुणयन्त्र, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, कन्सुलर सेवा, राहदानी सेवा, हुलाक, जिल्ला प्रशासन कार्यालय, इलाका हुलाक प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय, बैंकिङ सेवा, आन्तरिक राजस्व, भूमिसुधार, मालपोत, नापी, भन्सार, स्थानीय तहले तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरेबमोजिम सेवा प्रवाह मिलाउनुपर्नेछ ।

यसरी सार्वजनिक बिदाका दिनमा सेवा प्रदान गर्ने कर्मचारीले सट्टा बिदा पाउनेछन् ।

शनिबार र आइतबार सार्वजनिक बिदा दिइने भएपछि कार्यालय समय बिहान ९ः३० देखि अपराह्न ५ः३० बजेसम्म तोकिएको छ । सरकारले परीक्षणका रूपमा जेठ १ देखि लागू हुने गरी दुई दिन सार्वजनिक बिदा दिन लागेको छ ।

कात्तिक १६ देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९ः३० देखि अपराह्न ४ः३० सम्म हुनेछ ।

वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकले परीक्षणका रूपमा २०७९ जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने एवम् शनिबार आइतबार सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।

2 comments on "दुई दिन सार्वजनिक विदा भए पनि लगातार ३ दिन विदा नपाइने"

  • दीपेंद्र गिरी says:

    Private sector मा काम गर्ने व्यक्तिहरूको लागि शनिबार र आइतबारमा छूटीको व्यवस्था किन नगरेको होला ? Private sector लाई पनि परीक्षण काल मा राख्नु बेश हुन्थ्यो होला।

  • लाल बहादुर शाही says:

    यो निर्णयले शिक्षण संस्थाहरुमा पाठ्यक्रम अनुसार पठनपाठनमा समस्या हुने संभावना भएको हुनाले शिक्षण संस्था बाहेक अन्यमा मात्र लागु हुनु पर्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.