व्यापारीले टिकटकमा विज्ञापन गरेरै कमाउँछन् करोडौं

  २०७९ वैशाख २६ गते १७:०८     विवश कुलुङ

काठमाडौं । अगाडि डाइनिङ कोठामा चारवटा टेबल । त्यहाँ पाहुनाहरू कोही चिसो खाँदैछन्, कोही म:म: । डाइनिङको बीच भागबाट किचन छिर्ने बाटो छ भने बाटोको बायाँपट्टि संगिता राई टिकटकमा आफ्नो होटलमा पाइने खाजाहरूको बारेमा जानकारी दिँदैछिन् भने पाहुनाहरूसँग पनि कुरा गरिरहेकी छन् ।

खोटाङ्गे होटल गाइघाटकी साहुनी संगिता राईले यसरी नै आफ्नो होटलमा पाइने खाजासँगै रुमको बारेमा जानकारी दिइरहेकी छन् भने कसैले नम्बर माग्दा टिकटकको बायोमा हेर्न सुझाव दिन्छिन् । त्यही बायो हेरेर फोन गर्नेहरूले रुम बुकिङ पनि गर्ने गरेको बताउँछिन् । उनका अनुसार फोनबाट रुम बुकिङ हुँदा  मितिसँगै ग्राहकको नम्बर पनि उनले होटल डायरीमा लेख्छिन् । अनि बुकिङ भएको दिन बिहानै रुम बुकिङ फाइनल गर्छिन् । –

यता विप्सन एण्ड जिप्सन मोबाइल पार्ट्सको शोरुम र स्टोर गंगबुमा छ । शोरुम एक ठाउँमा भए पनि विप्सन एण्ड जिप्सनका प्रोपाइटर जनक बस्नेत भने टिकटक लाइभ बसेरै व्यापार प्रवर्द्धन गरिरहेका छन् । आफूसँग नयाँ मोडलका मोबाइल आयो कि टिकटक बनाइहाल्छन् ।  टिकटक लाइभमा मोबाइलको मूल्य सोध्नेदेखि पसलको लोकेशन सोध्नेसम्म आउँछन् । उनले पनि मोबाइलको क्यामेरा, व्याट्री, र्‍यामदेखि मूल्यसम्मको जानकारी टिकटकमै राख्छन् ।

‘नेपालमा टिकटकबाट मार्केटिङ गर्ने म पहिलो व्यवसायी हुँ, नेपालमा धेरैले मेरो सिको गरिरहेका छन्, व्यापार सुरु गरेको दुई दशक भो, पछिल्लो समय टिकटकले धेरै सपोर्ट गरेको छ,’ उनले भने । उनका अनुसार उनले टिकटकबाट ग्राहक तान्न थालेको साढे तीन वर्ष भइसकेको छ ।

टिकटकमार्फत् मात्र दैनिक २०/२५ जना ग्राहक आउने गरेका बस्नेतको दाबी छ । उनका अनुसार टिकटक प्रयोग नगर्ने कोही नभएको र फलोवर्स पनि राम्रो भएकोले सपोर्ट भएको हो । हरेक नयाँ मोडल आउनासाथ यसबारेको जानकारी र मूल्यसहितको टिकटक बनाउने गरेको उनी बताउँछन्  ।

२५ लिटर फ्रिजको मूल्य कति हो ? एउटा आइफोन लिनु थियो किस्तामा लिन मैले के गर्नुपर्छ ? तपाइँको पसल कहानेर छ ? यी प्रश्नहरू ए टु जेड अनलाइन पसलको आधिकारिक टिकटक लाइभमा आइरहेका प्रश्नहरू हुन् । उक्त प्रश्नको उत्तर अनलाइन पसलका विकाश भण्डारीले लहरै दिइरहेका छन् । पुतली सडकमा कार्यालय रहेको पसलमा मोबाइल, ल्यापटप, टिभी,  फ्रिज, वासिङ मेसिनलगायत सामानहरू सजाइएको छ भने अनलाइनबाट अर्डरहरू पनि आइरहेको भण्डारी बताउँछन् । आफ्नो व्यापारको ८० प्रतिशत व्यापार टिकटक र फोनकलबाट हुने गरेको उनको दाबी छ ।

उनीहरू एक प्रतिनिधि पात्रमात्र हुन् । नेपालमा मसाज सेन्टर, व्युटिपार्लर, दोहोरी साँझदेखि अहिलेको स्थानीय तहका उम्मेदवारहरूको भाषण र घरदैलोसम्म टिकटकमै पाउन सकिन्छ । टिकटकमा भिडियो हाल्ने क्रम बढेसँगै व्यवसायीहरूको व्यापार पनि फस्टाउँदै गएको छ ।

पछिल्लो समय टिकटक मनोरञ्जन सँगसँगै व्यवसायीहरूको व्यापार प्रवर्द्धन गर्ने प्लेटफर्म बन्दै गएको छ । टिकटकमा रम्नेहरूको क्रेज बढेसँगै व्यवसायीहरूले यसको सदुपयोग गरी आफ्नो व्यापार प्रवर्द्धनमा लागेका हुन् । यसलाई कसैले आफ्नो दैनिक कार्यहरूको रेकर्ड राख्ने प्लेटफर्म पनि बनाएका छन्  ।

व्यावसायीहरूको भाषामा भन्दा अन्य सामाजिक सञ्जालका प्लेटफर्ममा विज्ञापन गर्दा शुल्क लाग्नुका साथै प्रत्यक्ष प्रश्नोत्तर हुन पाउँदैन भने टिकटकमा प्रत्यक्ष प्रश्नोत्तर कुरा हुनुका साथै नि:शुल्क भएकोले आकर्षण बढेको हो । जसका लागि शेयर गर्न केही सपोर्टर र फलोवर्स भने अलि राम्रो हुनुपर्छ ।

विज्ञापन बनाउन  महँगो पैसा नलाग्ने र आफै लाइभमा बसेर सित्तैमा विज्ञापन गर्न पाइने प्लेटफर्म बन्यो टिकटक ।

आजकल टिकटकबाटै सुनदेखि र नुनसम्मको विज्ञापन हुन थालेको छ । त्यो पनि प्रत्यक्ष ग्राहकहरूसँग लाइभ बसेर  । व्यापारीले आफ्नो नाममा वा पसलको नाममा टिकटक खोलेर विज्ञापन गरिरहेका छन् । आफ्नो पसलमा भएको सामानको  भिडियो बनाएर टिकटक बनाउने क्रम बढ्दो छ । यसले आफ्नो व्यापारमा सहयोग भएको विप्सन एण्ड जिप्सन मोबाइल पार्ट्सका प्रमुख बस्नेत बताउँछन् ।

नेपाली बजारमा टिकटकमा भिडियो हेरेर कमेन्ट वा एसएमएसमार्फत् ग्राहकहरू व्यवसायीसँग जोडिन्छन् । अझ व्युटी पार्लरको लाइभमा मेरो अनुसार फुस्रो छ, मैले यो क्रिम लगाउँदा राम्रो भएन कुन क्रिम लगाउँ ? भन्दै सुझाव लिनेदेखि घरायसी खाद्यान्न वा कृषि उपजबाट बनाइने फेसियल सामग्री सिक्न पाइने प्लेटफर्मसम्म टिकटक बनेको छ ।

टिकटक हेरेरै पसलमा पुग्ने र आफैले छानेर मन परेको सामान किन्नेहरू पनि छन्  । काठमाडौंको जडिबुटी बस्दै आएकी दुर्गा मगरले टिकटकमा हेरेरै नयाँ बानेश्वरबाट सनस्किन र फाउन्डेसन किनेको बताइन् ।

पछिल्लो समय टिकटक हेरेरै घरायसी, फेन्सी, कस्मेटिक र उपहारसम्म किन्ने चलन बढेको छ । साथै केहीको लागि टिकटक सिकाइ लिने र दिनेसमेत हुने गरेको छ ।

यसरी हेर्दा टिकटक कसैको लागि व्यापार प्रवर्द्धन केन्द्र भएको छ भने कसैको लागि एउटा डिमार्टमेन्ट नै भएको छ । टिकटक स्क्रोल गर्दै जाँदा आफूलाई राम्रो लाग्ने र आफूलाई चाहिने सामान भएको पसलहरूको आईडी फलो गर्ने र आवश्यकताअनुसार अर्डर गर्ने वा जानकरी दिने काम यही टिकटकमै हुन थालेको छ ।

जुन प्लेटफर्म पनि सदुपयोग गर्न सक्ने र जान्नेका लागि राम्रो हुन्छ भन्ने राम्रो आधार टिकटक बनेको छ । जुनसुकै प्लेटफर्म पनि आफूले सदुपयोग गरे राम्रो र दुरुपयोग गरे नराम्रो हुन्छ, त्यो टिकटक बनेको छ । किनकि यहाँ टिकटक हेर्दै जाँदा राम्रा र नराम्रा दुवै भेटिन्छ । तर, जसले सदुपयोग गरेका छन् उनीहरूको व्यवसाय फस्टाउँदै गइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.