बोन्ड जारी गरेर कोरोना बीमाको दाबी भुक्तानी दिन सुझाव

  २०७९ वैशाख २५ गते १७:१३     विकासन्युज

काठमाडौं । लेखा व्यवसायीहरूको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले विभिन्न बीमा कम्पनीले बाँकी राखेको कोरोना बीमाको ११ अर्ब दाबी भुक्तानीका लागि कोरोना बोन्ड जारी गर्न सुझाएको छ ।

संघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिने क्रममा कोरोना बीमाको दायित्व तत्काल भुक्तानी गर्न सरकार आफैंले वा बीमा कम्पनीहरूलाई स्वीकृति दिएर १०० करोड बराबरको १० वर्षे ४ प्रतिशत कोरोना बोन्ड जारी गर्नु उपयुक्त हुने जनाएको छ । उक्त बोन्ड वाणिज्य बैंकहरूले किन्ने र त्यो लगानीलाई बैंकहरूले कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) मा समावेश गर्न सक्ने नीति ल्याए ४० करोडको बीमा भुक्तानी दायित्व तत्काल पूरा हुने संघको भनाइ छ ।

बाँकी ६० करोड १० वर्षे मुद्दती खातामा राखी ५ प्रतिशतसम्मको स्प्रेडले पुग/नपुग बीमा कम्पनीले दसौं वर्षमा तिर्नुपर्ने गरी व्यवस्था गर्न सकिने संघको भनाइ छ । यसरी कोरोना बीमा भुक्तानीको हालको ११ अर्ब दायित्व कुल मिलाएर २५ अर्बको बोन्ड जारी गरी पूरा गर्न सकिने संघको भनाइ छ ।

संघले कोरोना बीमाको भुक्तानी गर्ने उपायसहितको सुझाव अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राजस्व परामर्श समितिमा पेस गरेको हो ।

संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले नेतृत्व गरेको संघको प्रतिनिधिमण्डलले सम्बन्धित निकायमा गएर सुझाव बुझाएको हो । प्रतिनिधिमण्डलमा अध्यक्ष वाग्लेका बाहेक महासचिव तेजप्रसाद सुवेदी, कोषाध्यक्ष सुशील घिमिरे तथा कार्यसमिति सदस्यद्वय र शेषमणि दाहाल र टिका कार्की सहभागी थिए ।

संघले विभिन्न सरकारी निकाय, संघ–संस्था, लेखापरीक्षण पेसामा संलग्न सदस्य चार्टर्ड एकाउन्टेन्टहरूको राय, सल्लाहका आधारमा अन्तिम नीतिगत सुझाव तयार पारेको जनाएको छ । प्राप्त सुझावमाथि संघको कार्यसमितिले छलफल गरी अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने र राजस्व सिद्धान्तका आधारमा आवश्यक संशोधनलाई मात्र अन्तिम सुझावमा समावेश गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.