मेगा र एसबीआई बैंकको आधार दर कति विश्वसनीय ?

  २०७९ वैशाख २५ गते १५:०५     विकासन्युज

काठमाडौं । मेगा बैंक र नेपाल एसबीआई बैंकको कोषको लागत (कष्ट अफ फण्ड) र आधार दर (बेस रेट) बीच धेरै भिन्नता देखिएको छ । वाणिज्य बैंकहरुको आधारदर कोषको लागतभन्दा औसतमा करिब ३३ प्रतिशत बढी देखिए पनि यी दुई बैंकको भने निकै बढी देखिएको हो ।

गत चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार मेगा बैंकको कोषको लागत ५.८९ प्रतिशत छ । र, आधार दर भने १०.१० प्रतिशत छ । यस्तै, नेपाल एसबीआई बैंकको कोषको लागत ५.८२ प्रतिशत र आधारदर ९.२६ प्रतिशत छ ।

यी दुई बैंकले प्रकाशित गरेको वित्तीय विवरणका अनुसार मेगा बैंकको आधार दर कोषको लागतभन्दा ७१.५ प्रतिशतले बढी छ । यस्तै, एसबीआई बैंकको आधार दर कोषको लागतभन्दा ५९.१ प्रतिशतले बढी छ ।

एनएमबी बैंकको कोषको लागत र आधार दरको भिन्नता ४६.६ प्रतिशत देखिन्छ । एनएमबीको कोषको लागत ६.११ र आधारदर ८.९६ प्रतिशत छ ।

कोषको लागत र आधारदरको अन्तर सबैभन्दा कम नेपाल इन्भेष्टमेन्ट बैंकको छ । सो बैंकको कोषको लागत ६.६४ र आधार दर ८.०६ प्रतिशत छ । इन्भेष्टमेन्ट बैंकको आधार दर कोषको लागतभन्दा २१.४ प्रतिशतले बढी हो । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको आधार दर कोषको लागतभन्दा ३४.३ प्रतिशतले बढी छ । सो बैंकको आधार दर ७.५५ र कोषको लागत ५.६२ प्रतिशत छ ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको आधार दर कोषको लागतभन्दा ४३.१ प्रतिशतले बढी छ । सो बैंकको कोषको लागत ५.११ प्रतिशत छ भने आधार दर ७.३१ प्रतिशत छ ।

बैंकहरुले निक्षेपमा लिएको रकमको लागत नै कोषको लागत हो । यस्तो लागतमा बैंकको संचालन खर्च (कर्मचारीको तलब भत्तालगायत तथा घरभाडा, पानी विजुलीको महसुल लगायत) खर्च जोडेपछि आउने लागत नै आधार दर हो ।

कोषको लागतको तुलनामा ३० देखि ४० प्रतिशत बढी आधारदर देखिनु स्वभाविक नै हुने एक पूर्व बैंकरले बताए ।

‘निक्षेपको व्याज लगायत खर्च कष्ट अफ फण्ड (कोषको लागत) मा आइसकेको हुन्छ, बेसरेट (आधार दर) मा आउने थप खर्च भनेको जनशक्ति, भाडा, सफ्टवयर जस्ता खर्च हुन्, यस्ता खर्चहरु कष्ट अफ फण्डको ३० देखि ४० प्रतिशतसम्म हुन्छ भनिन्छ,’ एक पूर्व बैंकले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.