नियामकको कार्यशैलीप्रति लगानीकर्ता असन्तुष्ट, ‘इन्साइडर ट्रेडिङ्गदेखि बजारलाई प्रभावित पार्नेसम्मको काम गरियो’

  २०७९ वैशाख २३ गते २०:१९     विकासन्युज

काठमाडौं । सेयर लगानीकर्ता दवाव समूहका अध्यक्ष हरि ढकालले पुँजीबजारको नियामक निकायले वर्षौंअघि देखिको काम अहिलेसम्म पनि पुरा नगरेकोमा चिन्ता व्यक्त गरेका छन् । उनले नियामकको कार्यशैलीमाथि प्रश्न उठाउँदै नियामकबाट आस गर्ने ठाउँ नरहेको अभिव्यक्ति व्यक्त गरेका हुन् ।

‘नियामक निकायले के गर्दो रहेछ ? के हेरेर बस्दो रहेछ ? ३ वर्ष अगाडि तत्काल गर्नु भनेर डा. युवराज खतिवडाले बनाएको सुझाव समितिमा आएको काम आज तीन वर्ष लाग्यो, अहिलेसम्म केही भएको छैन भने नियामकबाट के आस गर्नु ?,’ नियामक निकायको कार्यशैलीमाथि प्रश्न गर्दै उनले भने ।

शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको परिपक्व पुँजीबजार सम्मेलनमा बोल्दै उनले ४/१२ को पोलिसीले बजारलाई असर गरेको बताएका छन् । जुन पोलिसी राष्ट्र बैंकले केही २/४ जना मान्छेलाई ठीक गर्नलाई मात्र ल्याएको उनको दावी छ ।

‘सेयर बजारमा अनइथिकल र इथिकल दुबै किसिमका प्लेयर हुन्छ, अनइथिकल प्लेयरहरुलाई नियामकले कानुनी दायरामा ल्याएर कारवाही गर्ने हो की सबैलाई एउटै बाकसमा हाल्ने खालको पोलिसी ल्याउने हो ? राष्ट्र बैंकका तत् प्रतिनिधि तथा कर्मचारीहरु मार्फत मैले भेटाएको छु, २/४ जना मान्छेलाई ठीक गर्न ल्याएको पोलिसी हो । यसलाई के भन्ने ?,’ ढकालले राष्ट्र बैंकका प्रतिनिधिलाई प्रश्न गर्दै भने ।

त्यस्तै, लगानीकर्ता बजार हरियो मात्र रमाउछन् भन्ने आम भनाईलाई चिर्दै उनले भने रातो हुँदा पनि रमाउने लगानीकर्ता हुने तर उनीहरु हिडन (अर्थात लुक्ने गरेको) हुने बताए । लगानीकर्ताले परिपक्व बजार खोजेको हो, जुन रातो हुँदा पनि रमाउने र हरियो हुँदा पनि रमाउने खालको हुनु पर्ने लगानीकर्ता ढकालको भनाई छ ।

पोलिसी लेभलमा बस्नेहरुले इन्डेक्स यति पुगेपछि म नियन्त्रण गर्छु भनेर बस्ने गरेको बताउँदै उनले राष्ट्र बैंकले पनि इन्साइडर ट्रेडिङ् गरिरहेको आरोप लगाएका छन् । साथै, सोही बैंकका केही मान्छेले सेयर खरिद गर्ने गरेको समेत अध्यक्ष ढकालको दावी छ ।

यता नेपाल इन्भेष्टर्स फोरमकी महासचिव दुर्गा तिवारीले नियामक निकाय पनि बजार नियमन गर्न भन्दा पनि नियन्त्रण गर्न मात्रै लक्षित भएको र उनीहरुले सार्वजनिक रुपमा बोल्दिँदा बजारमा कस्तो असर पर्छ भन्ने ज्ञानको कमी रहेको बताएकी छिन् ।

‘हालै मात्रै राष्ट्र बैंकका गर्भनरले व्याज बढ्छ है भन्दिनु भयो, जबकी व्याज बढ्छ बढ्दैन भविष्यको कुरा, तर उहाँले भन्दासाथ दुई दिन सेयर बजार नराम्रोसँग झर्यो, यसको कति असर पर्यो उहाँले बुझ्नु भएको छैन’ उनले भनिन् ।

सेयर बजारको समस्या सबैले बुझेको तर त्यसको समाधान गर्ने उपाय कोहि कसैले नल्याएकोमा उनले चिन्ता व्यक्त गरेकी छिन् । साथै, हाल बैंकले लोन रिन्यु गर्न नमानेको र बजार घटेको अवस्थामा पनि लोन तिर्न प्रेसर दिएकोले समस्या भइरहेको बताएकी छिन् ।

कार्यक्रममा बोल्दै लगानीकर्ता तिवारीले हालको डीपी चार्ज २५ रुपैयाँबाट ५ रुपैयाँमा झार्न तथा बैंकहरुलाई पनि ब्रोकर लाइसेन्स दिनु पर्ने माग गरेकी छिन् । साथै, सेयर बजार घट्छ भन्ने थाहा नहुनेले पनि सेयरमा लगानी गरिरहेको बताउँदै उनले आममानिसमा सेयर शिक्षाको कमी रहेको बताएकी छिन् । जसको लागि नियामक निकायले प्राक्टिकल बेसमा रहेर सेयर शिक्षा दिनुपर्ने उनको सुझाव छ ।

त्यस्तै, स्वतन्त्र पूँजीबजार सुधार संघका संयोजक रोहन कार्कीले सरकारले सेयर बजारलाई अनुत्पादक क्षेत्र भन्दा दुःख लाग्ने बताएका छन् । सबैभन्दा बढी लगानीकर्ता भएको र त्यसमाथि पनि महिला बढी भएको क्षेत्रलाई सरकारले व्यवस्था गरेकोमा उनले आपत्ति जनाएका छन् । साथै, सरकारले घरजग्गा कारोबारमा हुने गरेको ठूलो राजश्व छलीलाई वेवास्ता गर्दै पुँजीबजारलाई मात्र नियन्त्रण गरेको उनको भनाई छ ।

कार्यक्रममा सिडिएस एण्ड क्लियरिङ (सिडिएससी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद आचार्यले ज्ञान नभएका तर पनि लगानी गर्न खोज्ने लगानीकर्तालाई सुसूचित गर्नुपर्ने बताएका छन् ।

‘हामीलाई लगानीकर्ताको संख्या कम भएको छैन, ४८ लाख लगानीकर्ता दोश्रो बजारमा प्रवेश गर्दा उनीहरुलाई ट्रयाकमा ल्याउने, लगानीलाई प्रोत्साहित गर्ने, तपाईं हामी सबैको जिम्मेवारी हो,’ उनले भने ।

हाल डिम्याट खाता खोल्नेको संख्या ५१ लाख ५० हजार पुगेको छ । जसमा २ लाख ९६ हजार खाता दोहोरिएको सीईओ आचार्यले जानकारी गराएका छन् । र बाँकी रहेकामध्ये ४२ लाख मेरो शेयरमा आवद्ध रहेका छन् जुन सेयर बजारमा सक्रिय रहेका छन् ।

त्यस्तै, कार्यक्रममा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) का प्रवक्ता मुराहरि पराजुलीले बजारका सबैको बुझाई र उद्देश्य एउटै नहुने भएकाले रेगुलेटर, सञ्चालक र लगानीकर्ताको हेर्ने दृष्टिकोण फरक हुने बताएका छन् ।

‘नियामक (धितोपत्र बोर्ड) नियन्त्रणमूखी हुन खोज्छन्, बजार सञ्चालक (नेप्से) लचकता अपनाउन खोज्छन्, लगानीकर्ताहरु लाभ सूनिश्चित गर्न चाहान्छन्, त्यसैले ठाउँ अनुसारको उद्देश्य फरक हुन्छ, एउटै हुन्छ भन्ने हुँदैन,’ उनले भने ।

त्यस्तै, कार्यक्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले महासंघले बजारको विकासलाई उच्च प्राथमिकता दिएको बताउँदै पुँजीबजार फोरमको स्थापना गरेको बताएका छन् । महासंघले बजारको दिगो विकासको लागि विदेशी नागरिकले पनि धितोपत्र पुँजीबजारमा सेयर खरिद बिक्री गर्न पाउने व्यवस्था गर्नुपर्ने, नेप्सेमा इन्ट्रा ट्रेड, सर्ट सेल लगायतका उपकरणको व्यवस्था गर्नुपर्ने, प्रमोटर सेयर पनि साधारण सेयर सरह हुनुपर्ने, कमोडिटी मार्केटमा थप विकास हुनुपर्ने जस्ता विषयमा जोड दिइरहेको उनले बताए ।

सम्बन्धित सामाग्री

पुँजी बजार देशको अर्थतन्त्रको ऐना बन्न सक्नुपर्छ : डेपुटी गभर्नर

‘२ महिनाभित्रै विदेशमा रहेका नेपाली श्रमिकलाई आईपीओमा कोटा दिन्छाैं’

One comment on "नियामकको कार्यशैलीप्रति लगानीकर्ता असन्तुष्ट, ‘इन्साइडर ट्रेडिङ्गदेखि बजारलाई प्रभावित पार्नेसम्मको काम गरियो’"

  • Share says:

    लगानीकर्ता त सधैं सेयर बजार बढे मात्रै खुसी हुन्छन्, मानौं उनीहरु यस्ता लगानीकर्ता हुन् जस्ले कहिल्यै घाटा खान हुँदैन । सेयर बजार ओरालो लाग्यो कि नानाथरीको व्यक्तिहरुको कारणले घट्यो भनेर आरोप लगाईन्छ । नेपालको सेयर बजार सिद्धान्त अनुसार अनुमान गर्न नसकिने बजार हो । भित्र भित्र के के हुन्छ ??? भगवान जानुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.