एकैपटक चलाउन सकिँदैन दुइटा रेल, दुवै चलाउने भए तेस्रो किन्नुपर्ने

  २०७९ वैशाख २३ गते १५:४०     विकासन्युज

काठमाडौं । जनकपुर–जयनगर रेल्वे खण्डमा यात्रुसहितको रेल सेवा सुरु गर्न दुईवटा रेल किनिएको थियो । सो रेल नेपाल सरकारले एक अर्ब तीन करोड रुपैयाँमा किनेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेपछि व्यवसायिक रूपमा नेपालमा रेल सञ्चालनमा आएको छ ।

उद्घाटन भएर रेल संचालन हुन थालेको एक महिना पुगि सक्दा पनि अझै एउटा रेल सञ्चालनमा आउन सकेको छैन ।

एकैपटक दुइटै रेल सञ्चालन गर्नको लागि अर्को रेलको आवश्यकता पर्ने कम्पनीका प्रबन्ध सञ्चालक निरंजन कुमार झाले बताएका छन् । सो कारणले गर्दा दुई वटै रेल सञ्चालनमा आउन नसकेको हो । दुईवटा रेल मध्ये हाल एउटा मात्र सञ्चालनमा छ  ।

प्रबन्धक झाका अनुसार आइतबार र मंगलबार यात्रुको संख्या बढी हुन्छ । त्यो दिन र चाड पर्वको भिडभाड बढी भएको दिन कम्पनीले दुई वटै रेललाई जोडेर सञ्चालन गर्दै आएको छ । अरू बेला भने एउटामात्र रेल सञ्चालन हुन्छ ।

एउटा रेल अझै नकिनेसम्म दुई वटै रेल सञ्चालन गर्न नसक्ने पनि झाले बताए ।

‘प्रत्येक १४ दिनमा रेललाई मर्मत गर्न पठाउनु पर्ने हुन्छ, सामान्य मर्मत गर्दा दिनभर लाग्छ, ठूलो मर्मत भयो भने एक सातसम्म पनि लाग्छ, दुइवटै रेल सञ्चालन गर्न थाल्यौं भने मर्मतमा गएको बेला रेलको समय तालिका अनुसार सञ्चालन गर्न सक्दैनौं, त्यसैले पनि अर्को रेलको आवश्यक पर्छ,’ उनले भने ।

सञ्चालनमा नआएको रेल सशस्त्र प्रहरी बलको सुरक्षामा धनुषाको इनरुवा रेल्वे स्टेसनमा पार्किङ गरी राखिएका झाले जानकारी दिए । यात्रुको संख्या बढेसँगै २ वटै रेल जोडेर चलाए पनि कम्पनीले यात्रु सबैलाई चढाउन सकेको छैन ।

अब दिनको ३ पटक रेल कुद्ने

हाल सो रेल दिनमा २ पटक ओहोर दोहोर गर्दैछ । तर, अब दिनको ३ पटक रेल कुदाउने तयारी रहेको झाले जानकारी दिए । उनका अनुसार दिनमा ३ चोटी रेल सञ्चालन भएपछि यात्रुको भिडभाड पनि कम हुनेछ ।

‘अहिले हामी दिनमा २ पटक रेल चलाइरहेका छौं, दिनको ३ पटक रेल सञ्चालन गर्नको लागि गृहकार्य गरिरहेका छौं, दिनको ३ पटक रेल सञ्चालन गर्याें यात्रुको भिडभाड पनि कम हुन्छ,’ उनले भने ।

सो रेल सञ्चालनमा आएको एक महिना बितिसक्दा पनि ‘सर्भिसिङ’ वा मर्मत सम्भारका लागि भारतीय वर्कशप जयनगरमा लैजानुपर्ने बाध्यता छ  । नेपालमा रेलसम्बन्धी वर्कशप र प्राविधिक नभएका कारण मर्मत सम्भारका लागि भारतीय वर्कसप र प्राविधिककहाँ लैजानुपर्ने बाध्यता भएको हो । दिनको ३ पटक रेल सञ्चालन भए वर्कशप कुर्थामा बनाउनु पर्ने झाले बताए ।

सम्बन्धित समाचार

रेल कुद्न थालेको एक महिना नाघ्याे, नाफा छ कि नोक्सान ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.