खातामा रकम हुँदा पनि निगमले तिरेन सञ्चय कोष र सीआईटीको ऋण, किस्ता तिर्न पनि अटेर

  २०७९ वैशाख २२ गते १७:५५     विकासन्युज

काठमाडौं । खातामा प्रयाप्त रकम हुँदा पनि नेपाल वायुसेवा निगमले किस्ता नतिरेको बुझिएको छ । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले खातामा रकम राखेर जहाज खरिद गर्दा लिएको ऋणको किस्ता भुक्तानी नगरेको बुझिएको हो ।

कर्मचारीहरुले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बैंक खातामा पर्याप्त रकम राखेर कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई किस्ता रकम भुक्तानी नगरेको बताएका छन् ।

निगममा क्रियाशील ट्रेड युनियनले सञ्चयकोष र नागरिक लगानी कोषको किस्ता रकम तिर्न वर्तमान कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई दबाव दिदा समेत भुक्तानी नगरी अध्यक्षले कानमा तेल हालेर बसेको कर्मचारीले आरोप लगाएका छन् ।

निगमले दुई थान वाईडबडी र दुई थान न्यारोवडी जहाज खरिद गर्दा सरकारको जमानीमा दुई सञ्चयकोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो । तर, लामो समयदेखि निगमले दुई निकायलाई किस्ता भुक्तानी गर्न सकेको छैन् ।

नेपाल वायुसेवा निगम कर्मचारी संघका अध्यक्ष मान बहादुर कुवँरले निगमसँग प्रयाप्त पैसा हुँदा हुँदै पनि ऋण तथा किस्ता भुक्तान गर्नु पर्ने संस्थालाई नतिरेको बताए । उनका अनुसार कार्यकारी अध्यक्षको कारणले नै किस्ता भुक्तान नभएको हो ।

नेपाल वायुसेवा निगमले वैशाख २०७९ सम्म सवा एक अर्ब बढी रकम बचत रहेको जनाएको छ । वर्तमान नेतृत्वले कार्यभार सम्हालेको ६ महिनाको उपलब्धी र भावी योजना सार्वजनिक गर्दै एक अर्ब २७ करोड दुई लाख ५१ हजार ६३७ वित्तीय आम्दानी बचत गरेको जनाएको छ ।

पछिल्लो सयम निगमले ओभर ड्राफ्ट सीमाबाट गरिएको खर्च पूरै भुक्तानी गरिसकिएको छ र आवश्यक परेको बेला सो सीमाभित्र रहेर वित्तीय सुविधा लिनसक्ने बताएको छ । ओभर ड्राफ्ट रकम भुक्तानीपछि पाँच महिनाको अवधिमा निगमलाई यसको ब्याज भुक्तानी गर्ने दायित्वबापतको रकमसमेत बचत भएको छ ।

यो ब्याज भुक्तानीको दायित्व नरहँदा पनि आर्थिक रुपमा निगमलाई ठूलो राहत भएको छ । निगमले चालु आर्थिक वर्ष २०७८÷७९ को प्रथम ८ महिना (साउनदेखि फागुन) सम्म ८ अर्ब ३९ करोड आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्ष सोही अवधिको आम्दानी पाँच अर्ब ७० करोड थियो ।

सरकारले दुवै निकायलाई ऋण असुलीको प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको छ ।

४७ अर्ब ऋण

निगमले जारी गरेको ६ महिनाको उपलब्धी र भावी योजनामा निगमसँग ४७ अर्ब रुपैयाँ ऋण रहेको बताएको छ । निगमले दुई थान न्यारोबडी र दुई थान वाइडबडी जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा सहुलियत प्राप्त कर्जामा चिनियाँ जहाज खरिद गर्दाको साँवा ब्याज भुक्तानीको कूल दायित्व ४७ अर्ब ४४ करोड रुपैयाँ पुगेको जनाएको छ ।

निगमले अत्यन्त प्रतिकूल अवस्थामा ओभर ड्राफ्टबाट लिएको पूरै रकम भुक्तानी गरी एक अर्ब ३३ करोड ९९ लाख ७६ हजार ६६७ रुपैयाँ नगद मौज्दात कायम हुनाले निगमले यस अवधिमा एक अर्ब २७ करोड दुई लाख ५१ हजार ६३७ रुपैयाँ वित्तीय आम्दानी बचत गरेको देखिन्छ ।

ओभर ड्राफ्ट रकम भुक्तानीपछि पाँच महिनाको अवधिमा निगमलाई यसको ब्याज भुक्तानी गर्ने दायित्वबापतको रकमसमेत बचत भएको छ । यो ब्याज भुक्तानीको दायित्व नरहँदा पनि आर्थिक रुपमा निगमलाई ठूलो राहत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.