एलसी बन्द गर्दा पेन्ट्स उद्योग बन्द हुने अवस्थामा, व्यवसायी भन्छन्- कच्चा पदार्थको छुट्टै एचएस कोड चाहियो

  २०७९ वैशाख २२ गते १६:५५     विकासन्युज

काठमाडौं । नेपाल पेन्ट्स उद्योग संघले पेन्ट्सको कच्चा पदार्थ र तयारी पेन्टको एचएसएन कोड एउटै भएको भन्दै सच्याउन सरकारसँग माग गरेको छ ।

तयारी उत्पादन र कच्चा पदार्थको एचएसएन कोड एउटै हुँदा पटक–पटक समस्या झेल्नु परेको नेपाल पेन्ट्स उद्योग संघका अध्यक्ष विश्वप्रकाश सा:खले बताए । उनका अनुसार पछिल्लो समय मुद्रास्फितिका लागि भन्दै सरकारले विलासिताको सामानको एलसी बन्द गर्दा नेपाली उत्पादन बन्द गर्नुपर्ने अवस्था आएको बताए ।

संघले आज काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

‘पेन्ट विलासिताको सामान हो र ? कुनै पुल/भवन वा अन्य निर्माणका सामग्री कलर लगाउँदा ५० वर्ष टिक्छ तर कलर नलाउँदा ३० वर्षमात्र टिक्छ, त्यसैले सरकारले पेन्टलाई विलासिताका सामग्री भनेर बुझ्नु नै गलत छ,’ उनले भने ।

नेपाल पेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको संघले जनाएको छ । नेपालमा करिब ६० उद्योगसँग वार्षिक दुई हजार करोड बराबरको पेन्ट उत्पादन क्षमता छ । त्यसबाट २८०० नेपालीले प्रत्यक्ष रोजगारी पाएका संघले जनाएको छ ।

नेपाल पेन्ट्स उद्योग संघका अनुसार पेन्ट विलासिताको सामग्री होइन भने तरलताको अभावमा सरकारले एलसी बन्द गराउँदा उद्योगमा कच्चा पदार्थको अभाव भएको संघका कार्यकारिणी सदस्य आनन्दकुमार रौनियारले बताए ।

‘पेन्टका तयारी सामग्रीको एचएसएन कोड ३९.०६ हो भने कच्चा पदार्थको छुट्टै कोड नहुँदा त्यसै कोडमा आयात गर्नु परेको छ, त्यसैले हाम्रो माग भनेको छुट्टै एचएसएन कोड हो,’ रौनियारले भने ।

उनका अनुसार नेपालमा पेन्टबाहेकका अरु उद्योगहरूले कच्चा पदार्थ आयात गर्न पाइरहँदा त्यही कोडका कारण कच्चा पदर्थ आयात गर्न नपाउँदा उद्योगमा कच्चा पदार्थको अभाव छ । त्यसैले तयारी सामग्रीको एलसी बन्द भए पनि कच्चा पदार्थ आयात गरी उद्योग सञ्चालन गर्नुपर्ने उनको माग छ ।

संघका अनुसार नेपालमा उत्पादित पेन्टले नेपालको ९० प्रतिशत बजार हिस्सा ओगटेको छ भने १० प्रतिशत मात्र विदेशी उत्पादन नेपालमा आयात हुन्छ ।

नेपालमा पेन्ट उद्योग आयातित कच्चा पदार्थको भर पर्नु परेको संघले जनाएको छ । यस्तो अवस्थामा पेन्टको लागि कच्चा पदार्थको आयात रोकिनु दुखद भएको संघले जनाएको छ । एलसी रोकिनुको एउटै कारण एचएसएन कोड रहेकोले तयारी र कच्चा पदार्थको फरक–फरक कोड हुनुपर्ने र जसका लागि पटक पटक माग गर्दा सुनुवाइ नभएको संघले जनाएको छ ।

एचएसएन कोड नभएकै कारण साफ्टा सुविधाबाट समेत बञ्चित हुनुपरेको संघकी कार्यालय सचिव शुष्मा बजागाइँले बताइन् । उनका अनुसार रहेक उद्योगका लागि कच्चा पदार्थ आयात गर्दा साफ्टा सुविधा पाइने व्यवस्था हुँदा त्यो सुविधा पेन्ट उद्योगीले नपाएको उनको गुनासो छ ।

अहिले एउटै एचएसएनमा पेन्ट र त्यसका लागि आवश्यक कच्चा पदार्थ आयात भइरहँदा उद्योगीले भन्सार शुल्क ३० प्रतिशत, अन्त शुल्क ७ प्रतिशत र भ्याट तिर्दै आएको छ । कच्चा पदार्थमा पेन्टबाहेकका उद्योगीले साफ्टा सुविधावापत ५ प्रतिशत छुट पाउँदा पेन्ट बञ्चित भएको हो ।

नेपालका पेन्ट उद्योग गुणस्तर र उत्पादनमा आत्मानिर्भर हुनुका साथै राजश्वमा उल्लेखनीय योगदान दिए पनि राज्यबाट त्यसको मूल्यांकन नभएको भन्दै उद्योगीको समस्या सम्बोधन गर्न उनीहरूले सरकारसँग आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.