अनलाइन ठगीको रकम हुन्डी कारोबारमा, दुई अपराधको फ्युजनले प्रहरी तनावमा

  २०७९ वैशाख २२ गते ११:२७     विवश कुलङ

काठमाडौं । गाडी ग्यारेजमा काम गर्ने एक नेपाली आफ्नै बुलबुतामा काम गरिरहेको हुन्छ । उसको तलबले सामान्य खान लाउन पुगेकै छ । एकदिन ह्वाट्स एपमा अपरिचितसँग कुरा हुन्छ । केहीदिनको बोलचालपछि आफू भारतीय नागरिक भएको बताउँछन् । आफूले नेपालमा व्यापार गर्न लागेको जसको लागि चार वटा बैंक खाता भएको मान्छे चाहियो कुरा उसलाई सुनाउँछ ।

गाडी ग्यारेजमा सामान्य काम गरेर बसिरहेको व्यक्तिलाई काम खासै गर्नु नपर्ने र मासिक २० हजार रुपैयाँ तलब आउने प्रस्तावले सहजै लोभ्याउँछ । फेरि उसैले खोलेको बैंक खातामा धेरै रकम आउने त्यसमा २० हजार तलब वापत आफैले कटाएर बाँकी रकम त्यो व्यक्तिको खातामा जम्मा गरिदिनुपर्ने प्रस्तावले उसलाई शंका गर्ने ठाउँ पनि त्यति दिँदैन ।

तलबबारे र कामबारे सोध्दा आफ्नो खातामा पैसा आउँछ । मासिक २० हजार खर्च कटाएर मैले भनेको खातामा पैसा जम्मा गर्नु केही गर्नुपर्दैन भनेर उसलाई प्रस्ताव गर्ने व्यक्तिले सुनाउँछ । त्यसपछि सजिलो जागिर भन्ने थाहा पाएपछि ग्यारेजमा काम गर्ने व्यक्तिले सहमति जनाउछ । उसले बैंक खाता खोल्छ, पैसा जम्मा हुन्छ, जागिर सुरु हुन्छ ।

तर, केही समयपछि अर्कै परिस्थिति सिर्जना हुन्छ । यहीबीचमा केही नेपाली आफूहरु अनलाइन ठगीमा परेको उजुरी लिएर प्रहरीकोमा जान्छन् । यसरी उजुरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ठगको खोजीमा जुट्छ । र, अनुसन्धान गर्दै जाँदा पैसा ठगी गर्ने व्यक्ति सोही ग्यारेजवाला भएको भेटिन्छ ।

अनुसन्धानको क्रममा त्यही ग्यारेजमा काम गर्ने व्यक्तिको नाममा अनलाइन ठगी गरेको ३० लाख रुपैयाँ जम्मा भएको देखिन्छ र प्रहरीले उनलाई पक्राउ गर्छ ।

तर, ठगीको मुख्य योजनाकार भने पक्राउ पर्दैन । विदेशमा बसेर योजना बनाउने, सामान्य नेपाली नागरिकको कागजात प्रयोग गरेर ठगी गर्ने जस्ता कार्य भएकोले मुख्य योजनाकारसम्म पुग्न सहज नभएको प्रहरीले बताउँदै आएको छ ।

सुचना प्रविधिको दुरुपयोग गरी भइरहेको अनलाइन ठगीको रकम हुन्डी कारोबारमा प्रयोग हुन थालेको छ । हुन्डी कारोबारमा नेपालमा भुक्तानी गर्नुपर्ने रकम यतै अनलाइन ठगीबाट जुटाउने गरिएको प्रहरी अनुसन्धानले देखाएको हो ।

महानगरी अपराध महाशाखाका अनुसार हुन्डीको रकम सिधै नेपाल आउन नपाएपछि नेपालमै ठगी गरेर हुन्डीको भुक्तानी हुने गरेको हो ।

प्रहरीले अनलाइन ठगीको रकम हुन्डी कारोबारमा प्रयोग भएको फेला पारिसकेको छ ।

प्रहरीका अनुसार ओमानबाट एक व्यक्तिले हुन्डी मार्फत रकम नेपालमा आफन्तलाई पठाएका थिए । हुन्डी मार्फत आएको रकम पैसा पठाउने व्यक्तिका परिवारले बैंकबाट नै पाए । हुन्डीबाट पठाएको रकम यता बैंक मार्फत भुक्तानी गर्ने प्रयोजनमा अनलाइन ठगीको रकम प्रयोग भएको यस्ता घटनाले पुष्टि गरेको प्रहरीको दाबी छ ।

प्रहरी अनुसन्धानबाट के खुल्छ भने नेपालीहरूलाई चिठ्ठा पर्‍यो, पार्सल पठाइदिन्छु, फेसबुक ह्याक,ओपीडी कोडजस्ता कार्यमा ज्ञान नभएका वा फसेकाहरूको रकम पनि सिधै विदेशीको खातामा जम्मा हुँदैन । ती रकम नेपालकै दलालीको खातामा रहन्छ । जब विदेशका काम गर्ने नेपालीले हुन्डीबाट रकम पठाउछन् । तब यही नेपालीलाई नै भाइबर, ह्वाट एप, इमो, म्यासेन्जर जस्ता अनलाइन ठगीबाट ठगिएकाहरूको रकम नै बैंक मार्फत पाउने गरेको नेपाल प्रहरीको अपराध महाशाखाको अनुसन्धानले देखाउँछ ।

यस कार्यमा अनलाइन ठगीका अन्तराष्ट्रिय गिरोह संलग्न हुने भएकोले प्रहरीको टाउको दुखाइ भएको नेपाल प्रहरीको अपराध महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाको भनाइ छ ।

पछिल्लो समय हुन्डी कारोबार मौलाउनुको कारण नै डिजिटल ठगी हो । डिजिटल ठगी यति धेरै मौलाएको छ कि प्रहरी र सरकारले नियन्त्रण गर्न सकेको छैन । नियन्त्रणका लागि नीतिगत व्यवस्था र कानुनको आवश्यकता छ । तर नेपालमा यसबारे कानुन नै नबनेकोले समस्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीले यस्ता केसको अध्ययन गर्न नीतिगत रुपमै समस्या भएकोले पटक–पटक विभिन्न देशमा सहचारी राख्न नेपाल सरकारसँग माग गरिसकेको छ । प्रहरी स्रोतका अनुसार चार वर्षअघि विभिन्न ६ देशमा र तीन महिनाअघि मात्र खाडी मुलुकहरूमा सहचारी राख्न नेपाल सरकारसँग माग गरेको थियो । तर उक्त माग पूरा हुन नसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता कोइरालाका अनुसार समयसापेक्ष अपराध नियन्त्रणका लागि प्रहरी संगठनभित्र दक्ष जनशक्तिसँगै काम गर्ने अधिकारका लागि नीतिगत सुधार ल्याउन आवश्यक छ ।

प्रहरीले नेपालभित्र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा टेकेर अनुसन्धान र कारबाही गरिरहेको छ भने देशबाहिर रहेका अभियुक्तलाई सोही देशसँगको सहकार्यमा काम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.