एनबी गाभ्ने अन्तिम तयारीमा नबिल, असारभित्रै सक्न बोलायो विशेष साधारणसभा

  २०७९ वैशाख २२ गते ११:११     विकासन्युज

काठमाडौं । नबिल बैंकले  नेपाल बंगलादेश बैंक (एनबी) लाई गाभ्नका लागि अन्तिम तयारीमा जुटेको छ । नबिल र एनबी बैंकबीच एक्विजिसनका लागि सम्झौता भएपछि चालु आर्थिक वर्षभित्रै प्रकृया सक्ने रणनीतिका साथ दुवै बैंकले काम गरिरहेका छन् ।

बैंक एक्विजिसन प्रक्रियालाई छिटोभन्दा छिटो सक्ने रणनीतिका साथ अहिले दुवै बैंकले समिति नै बनाएर काम गरिरहेका छन् । एक्विजिसनको विषयको अख्तियारी पाउनका लागि नबिल बैंकले विशेष साधारणसभा पनि बोलाएको छ ।  बैंकले जेठ ७ गते शनिबार बिहान ११ बजे विशेष साधारण सभा डाकेको हो ।

बैशाख २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सो दिन विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । सो प्रयोजनको लागि बैंकले आगामी बैशाख ३० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको बैंकका कम्पनी सचिव विनयकुमार रेग्मीले जानकारी गराए ।

आगामी असार भित्रै एक्विजिसनको प्रकृया सक्ने योजनाका साथ काम भइरहेको नबिल बैंक श्रोतले बताएको छ ।

नबिल बैंकले उदयकृष्ण उपाध्याय र एनबि बैंकले इन्द्रबहादुर थापाको नेतृत्वमा मर्जर समिति बनाएको छ । समितिमा दुबै बैंकका २/२जना सञ्चालकहरु पनि छन् ।

नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई एनबी गाभ्न गत फागुनमा सैद्धान्तिक सहमति प्रदान गरेको थियो । नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।

एनबी बैंकको एक्विजिसन पश्चात् नबिल बैंक चुक्ता पुँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरुमा अग्रणी बैंकको रुपमा स्थापित हुने देखिन्छ । एक्विजिसन पश्चात् हाल सहमत गरिएको स्वाप रेसियो अनुरुप बैंकको चुक्ता पुँजी २३ अर्बको हुने देखिन्छ । बैंकिङ बजारमा ठूलो बैंकका रुपमा चिनिएको नबिल बैंकले एनबि बैंकलाई गाभेपछि हरेक परिसूचकमा ठूलो बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.