नमूना मतदानमा बदर मत शून्य

  २०७९ वैशाख २१ गते १९:५०     विकासन्युज

मनाङ । निर्वाचन कार्यालय मनाङको आयोजनामा चामेमा गरिएको नमूना मतदानमा मत बदर शून्य भएको छ । नमूना मतदानमा मत बदर नहुँदा मनाङका मतदान सम्बन्धमा मतदाता सचेत रहेको देखिएको छ ।

यही वैशाख ३० गते स्थानीय तह निर्वाचनमा बदर मत न्यूनीकरण गर्ने उद्देश्यले निर्वाचन कार्यालयले गरेको नमूना मतदानमा कुनै पनि पदमा मत बदर नभएको मतदान अधिकृतको भूमिकामा रहेका स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार चामे गाउँपालिका–४ स्थित कबर्डहल बाहिर गरिएको नमूना मतदानमा ७८ जना मतदाताले मतदान गरेका थिए । नमूना मतदानमा स्थानीय आमा समूह र स्थानीयवासीको सहभागिता रहेको थियो । निर्वाचन कार्यालका प्रमुख पुष्पराज शर्माले नमूना मतदानले मनाङको सदरमुकाम चामेका मतदाता मतदानका विषयमा सुसूचित भएको देखिएको बताए । तर, अन्य स्थानमा मतदाता शिक्षा प्रभावकारी बनाउन राजनीतिक दल र उम्मेदवार लाग्नुपर्ने उनले बताए ।

मतदानका दिन गरिने सबै प्रक्रियाका बारेमा सर्वसाधारणलाई जानकारी दिन नमूना मतदान गरिएको जानकारी दिँदै उनले यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरिएकाले राजनीतिक दल र उम्मेदवारले घरदैलो अभियानका क्रममै मतदातालाई मत हाल्ने तरिकाबारे सिकाएको देखिएको बताए ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले मत बदर कम गराउन सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए ।

स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन मतदातालाई निर्भिकतापूर्वक मतदानस्थलसम्म पुग्ने वातावरण निर्माण गरिने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.